• २३ मंसिर २०८१, आइतबार

हराउँदै तराईको घुुर ताप्ने चलन

blog

सिम्रौनगढ (बारा), माघ ४ गते । केही वर्षअघिसम्म तराईमा साँझ बिहान मानिस घुर ताप्न जम्मा हुन्थे । बिचमा घुर हुन्थ्यो र मानिस घुरको वरिपरि बस्थे । घुर न्यानोका लागि मात्रै नभई गाउँ समाजका महत्त्वपूर्ण सरसल्लाह र निर्णय गर्ने थलोका रूपमा पनि हुने गथ्र्यो ।

तर तराई मधेशमा जाडोयाममा तापिने घुरको चलन अचेल देखिँदैन । जाडोयाम सुरु हुनेबित्तिकै चोक चोकमा र घरआँगनमा बालिने घुर व्रmमशः लोप हुँदै गएको छ । घुर ताप्ने  क्रममा घरपरिवार र समाजको समस्यादेखि राष्ट्रिय राजनीतिका कुरा गरिन्थे । समाजका कतिपय झगडा र विवादको समाधान गरिन्थ्यो । त्यसका लागि गाउँघरमा पहिला समाजका अगुवा, महाजन (साहु), पञ्चमुखियाको घरदैलोमा ठुुलो घुर लाग्थ्यो । साना घर र टोलका घुर आगो ताप्नकै लागि मात्र हुन्थे ।

सिम्रौनगढ–८, कचोर्वाका ७५ वर्षीय सुखारी राउतले खास गरी दीपावलीदेखि फागुन पूर्णिमासम्म घुर तापिने गरेको स्मरण गर्दै कमजोर बन्दै गएको सामाजिक सद्भाव र आधुनिकताको प्रवेशसँगै घुर ताप्ने परम्परा हराउँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “घुर ताप्न बालबालिका, युवादेखि बुढापाकासम्म भेला हुन्थे । एकले अर्कासँग सुखदुःखका कुरा सटासाट गर्थे । गाउँघरका ठुुला ठुुला समस्याको टुङ्गो लाग्थ्यो । कतिपयको त बिहेबारीसमेत तय हुन्थ्यो । हिजोआज समाजमा त्यस्तो मेलमिलाप पनि छैन र एकले अर्कासँग खुलेर बोल्दैन पनि । सँगै बसेर घुर ताप्ने अवस्था कहाँबाट आओस् ?”

मधेश प्रज्ञा–प्रतिष्ठानका  अध्यक्ष तथा संस्कृतिविद् रामभरोस कापडीले बिजुलीबत्तीको प्रवेश र घुरका लागि चाहिने गोबरको गुइँठा, धानको दाइँ हुँदा निस्किने भुुस तथा काठलगायतका सामग्रीको अभाव हुनुका साथै समाजमा पहिले जस्तै मेलमिलापको कमीले समेत घुर संस्कृति हराउँदै गएको बताउनुभयो । बढ्दो आधुनिकतासँगै घरमै बसेर हिटर ताप्ने, मोबाइल चलाएर बस्ने, टिभी हेर्ने, एफएम सुनेर बस्ने कारणले पनि सामूहिक रूपमा भेटघाट गर्ने माध्यमका रूपमा रहेको घुर परम्परा हराउँदै गएको उहाँको भनाइ छ । 

सामाजिक विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झाले भन्नुभयो, “घुर सामूहिक संवाद, सूचनाको केन्द्र र गाउँघरको न्यायालयसमेत थियो, जहाँ विभिन्न पुस्ताका मानिस घुरको तातोको आनन्द लिँदै छलफल गर्थे । गाउँघरका विभिन्न सूचना त्यहाँ पाइन्थ्यो, समाजका कतिपय विवाद मिलाइन्थे ।”

उहाँका अनुसार राति जाग्राम बस्नसमेत घुर लगाइन्थ्यो, जसबाट गाउँघरमा रातमा हुने चोरीडकैतीबाट बचाउन पहरेदारीको समेत काम गर्दथ्यो । घुर ताप्ने  क्रममा गोठबाट गाईगोरुलगायतका पशुधन चोरी हुनबाट समेत जोगिन्थ्यो । 

घुरको सम्बन्ध समाज र संस्कृतिसँग जोडिएको बताउँदै उहाँले घुर ताप्ने परम्परा हराउँदै गएपछि गाउँघरमा गरिने साना साना सामूहिक विकास योजना, छोराछोरीको बिहेलगायतका कामसमेत प्रभावित हुँदै गएको बताउनुभयो । विगतमा तराईमा भएका विभिन्न सशस्त्र द्वन्द्व, युवाको विदेश पलायन र घुरका लागि चाहिने आवश्यक काठ, दाउरा, भुुसलगायत सामग्री अभावमा समेत घुर परम्परा हराउँदै गएको उहाँको भनाइ छ ।

सिम्रौनगढ निवासी तथा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मानव विकासका  क्रममा कतिपय नयाँ कुराको प्राप्ति हुन्छ भने कतिपय लोप हुँदै जाने हुँदा घुर परम्परा पनि लोप हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन बेला घुर तापिन्थ्यो त्यस बेला प्रशस्त मात्रामा काठ, दाउरा पाइन्थ्यो । गाईवस्तु पालिन्थ्यो त्यसको गोबरबाट गुइँठा, चिपरिइ हुन्थ्यो । धानको दाइँ हुँदा भुुस र पोगटा हुन्थ्यो तर हिजोआज घुरका लागि चाहिने वस्तुमा व्यापक कमी आएको छ । जसले गर्दा घुर संस्कृति हराउँदै गएको छ ।”