• १३ असोज २०८१, आइतबार

प्रदर्शन चर्किएपछि बरहथवामा भोलिसम्म कर्फ्यु

blog

जनार्जन खत्री

सर्लाही, पुस २२ गते । सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले आइतबार मध्यान्हबाट कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले प्रदर्शन चर्काएपछि आइतबार मध्यान्ह १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । 

विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने अवस्था देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुनैपनि किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ (२) (३) (४) बमोजिम कर्फ्यु आदेश जारी गर्नुभएको हो । 

आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ । सूचनामा बरहथवास्थित पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटो, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलको क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने विवादलाई लिएर भएको झडपमा गएको शुक्रबार दिउँसो स्थानीय ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएदेखि बरहथवा बजार अशान्त छ । मृतकको शव शुक्रबारदेखि घटनास्थलमै छ ।

सरकारले शनिबार छानबिन समिति बनाएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितका सुरक्षा अधिकारीहरू साँझ घटनास्थलमा र मृतकको घरमा पुगेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि आन्दोलन रोकिएको छैन । आइतबार बिहानबाट गाउँ–गाउँबाट थप प्रदर्शनकारी भेला भएर प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो । 

प्रहरीको गोली लागेर शुक्रबार दिउँसो युवकको मृत्यु भएपछि प्रहरीले त्यसैदिन बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु र शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको थियो । आइतबार बिहान ८ बजेपछि निषेधाज्ञा निष्क्रिय भएकोमा प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय मलङ्गवामा छलफल जारी रहँदा बरहथवा बजार क्षेत्रमा आइतबार बिहानैदेखि ठुलो भीड जम्मा भएर प्रदर्शन चर्काएपछि कर्फ्यु लगाउनुपरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले मृतकको शव व्यवस्थापन तथा प्रदर्शनकारीको माग सम्बोधन गर्न छलफल जारी रहेको बताउनुभयो । 

प्रदर्शनकारीले प्राथमिक स्वास्थ्य केन्द्र तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, बरहथवाका नगरप्रमुखले राजीनामा दिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतककै नामबाट अस्पतालको नामाकरण गर्नुपर्नेसहितका माग उठाएका छन् । तनाव साम्य नभएपछि बरहथवा बजार क्षेत्र, नगरपालिका कार्यालय र नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।  

शुक्रबारको घटनापछि तीन दिनदेखि बरहथवा बजार बन्द छ भने नयाँरोड-बरहथवा सडकमा यातायात सञ्चालन हुन सकेका छैनन् ।