• २४ वैशाख २०८१, सोमबार

तेक्वान्दोका उत्कृष्ट ‘आयुष’

blog

मार्सल आर्ट्स त्यसमा पनि तेक्वान्दो नेपालमा प्रशिक्षण लिएर सबभन्दा बढी खेलिने खेल हो । देशभरि मार्सल आर्ट्स डोजाङको सङ्ख्या गन्ने हो भने हजारौँ पुग्छ । जसबाट हाम्रो देशमा यो खेलको लोकप्रियता थाहा हुन्छ । सन् २००७ मा जन्मिएका आयुषले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेलिसकेका छन् । अहिले नै आयुषको घरमा रहेको सङ्ग्रहमा थुप्रै ट्रफी, पदक छन् ।

आयुषले ११ वर्षको उमेरमा तेक्वान्दो खेल्न सुरु गरेका हुन् । सो डोजाङमा भर्ना भएपछि आयुष लगातार तेक्वान्दो खेलिरहेका छन् । दुई महिनाअघि मात्र आयुष दक्षिण कोरियामा विशेष प्रशिक्षण लिएर काठमाडौँ फर्केका हुन् । त्यहाँ उनले ग्रान्डमास्टरबाट तेक्वान्दोको विशेष सिप सिकेका छन् । अहिले आयुष दोस्रो डानमा पुगिसकेका छन् । यति उमेरमा दोस्रो डानमा पुग्नु राम्रो उपलब्धि हो ।

आयुषको पहिलो प्रतियोगिता कोटेश्वरमा भएको ओलम्पिक ओपन थियो । इटहरीमा भएको १२ औँ आइओएफटिसी आयुषको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । जसमा आयुषले पुम्सेमा पहिलो र फाइटमा दोस्रो स्थान हािसल गरेर आफ्नो क्षमता देखाए । उनको पहिलो विदेश भ्रमण भुटान हो । १३ वर्षमै विदेश पुगेका आयुषले भुटानमा भएको पाँचौँ अन्तर्राष्ट्रिय ग्योरोगी तथा चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा तेस्रो स्थान हासिल गरे । सोही वर्ष मलेसियामा भएको चौथो जेविन मलेसिया ओपनमा ग्योरोगी विधामा च्याम्पियन बने । पुम्सेमा उपविजेता बने । घरेलु प्रतियोगितामा त उनले दर्जनौँ प्रतियोगिता जितेका छन् । कम उमेरमै आयुष पटक पटक राष्ट्रिय टिमका बन्द प्रशिक्षणमा पनि परिसकेका छन् तर अहिलेसम्म राष्ट्रिय टोलीबाट खेल्ने मौका भने पाएका छैनन् । उमेर नपुगेका कारण उनी राष्ट्रिय टिमबाट खेल्नबाट वञ्चित भइरहेको छ तर आफ्नो सपना चाँडै पूरा हुनेमा आयुष विश्वस्त छन् । 

प्रस्तुति : प्रजित शाक्य