काठमाडौँ, पुस ७ गते । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । यसका लागि करिब एक अर्ब रुपियाँ लागेको छ ।
प्रबलीकरण गरिएको बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो ।
उहाँले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै प्रबलीकरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्टिलको प्रयोग गरी भवनको ‘स्ट्रेन्थेनिङ’ गरी सुर्की र चुनले प्लास्टरसँगै प्रबलीकरण गरिएको छ । विकसित देशमा बढी प्रयोग भएको कार्बन फाइबरलगायत परम्परागत सामग्री प्रयोग गरी यो भवनको प्रबलीकरण गरिएको छ ।
उहाँले विशेष गरी सिसा, चुना, काठ र फलामको प्रयोग गरी निर्माण गरिएको बबरमहलको प्रबलीकरण पनि तत्कालीन शैलीमा गरिएको बताउनुभयो । ऐतिहासिक कलाकृतिसमेत रहेको यस भवनको नियो क्लासिकल युरोपियन शैलीमा प्रबलीकरण गरिएको छ । भूकम्पले भवनको बाहिरी, भित्री भाग तथा झ्याल र ढोकासमेत भाँच्चिएका थिए ।
उहाँले भन्नुभयो, “प्रबलीकरणसँगै सो भवन अहिले पुरानै स्वरूपमा फर्काइएको छ । बबरमहल सुरुमा थापाथली दरबारकै एउटा भागका रूपमा रहेको थियो । करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको बबरमहल भवनमा करिब तीन सय कोठा छन् । यसअघि १९९० सालको भूकम्पले पनि बबरमहलमा क्षति पु¥याएको थियो । त्यसबेला पनि सो भवनको पुनर्निर्माण गरिएको थियो ।” भवनको उचाइ तीन तलाको छ ।
आयोजना प्रमुख अधिकारीका अनुसार प्रबलीकरणसँगै भवनको स्वरूपमा कुनै परिवर्तन नभए पनि भवनको भित्री (इन्टेरियर) भागमा सामान्य फेरबदल गरिएको छ । भवनको प्रयोगमा सहजता ल्याउन ‘लाइट पार्टेसन’ गरिएको छ । प्रबलीकरणका क्रममा सन् १९०९ अङ्कित पुरानो इँटा प्रयोग गरिएको छ ।
दुई वर्षभित्र प्रबलीकरण सम्पन्न हुने गरी २०७६ असार २५ गते निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । करिब एक अर्ब रुपियाँको लागतमा प्रबलीकरण गरिएको यस भवनको निर्माण जिम्मा जोसी जेसी–आसिस–समानान्तर (जेभी) ले पाएको थियो । आयोजना प्रमुख अधिकारीले निर्माण कम्पनीको सम्पूर्ण भुक्तानी भइसकेपछि अब छिट्टै नै हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म निर्माण कम्पनीलाई करिब ९४ करोड रुपियाँ भुक्तानी भइसकेको छ ।
७२ सालको भूकम्पअघि यस भवनमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक, निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थिए । हाल यी कार्यालय अन्यत्र सरेका छन् । भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
बबरमहल रहेको स्थानमा जङ्गबहादुर राणाले त्यसअघि नै दरबार बनाउन लगाएका थिए । १९३३ साल फागुनमा जङ्गबहादुरको मृत्युपछि पनि यो दरबारमा उनका रानी, महारानी र छोराछोरी बसिरहेका थिए । १९४२ सालमा शमशेर खलकले विद्रोह गरेपछि जङ्गबहादुरका सन्तान लाखापाखा लागे । त्यसपछि यो दरबार देवशमशेरको स्वामित्वमा पुगेको इतिहासकार पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
१९५८ सालमा देवशमशेर पनि पदमुक्त गरिएपछि तत्कालीन शासक चन्द्रशमशेरले दरबारमाथि आँखा लगाए । जङ्गबहादुरले बनाएको पाँचतले दरबार १९६६/६७ सालतिर तोडफोड गरी तत्कालीन इन्जिनियरहरू कुमारनरसिंह राणा र किशोरनरसिंह राणाबाट महल तयार गराई चन्द्रशमशेरले आफ्नो छोरा बबरशमशेरलाई दिएको इतिहासकार जबराको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ पुस्तकमा लेखिएको छ ।