• १० कात्तिक २०८२, सोमबार

पहाड र मधेश जोड्दै छठ

blog

छठ पर्व नेपालका पहाड र  मधेशीबिचको धार्मिक, सांस्कृतिक र भावनात्मक सम्बन्धको सेतु हो । सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने यो पर्वमा नदी, पोखरी र जलाशयमा स्नान गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ ।  मधेशमा परम्परागत रूपमा मनाइने यो पर्व अहिले पहाडी समुदायले पनि आत्मसात् गरेका छन् । यसले भाषिक, सांस्कृतिक र भौगोलिक विविधतालाई एकतामा बाँध्दै राष्ट्रिय सहअस्तित्व र सहिष्णुताको प्रतीक बनेको छ । छठ पर्वले “एक देश–एक संस्कार–एक भावना” को सन्देश दिएको छ । राजनीतिले राष्ट्र जोड्नु पर्छ । राष्ट्रियता जोड्नु पर्छ । मन र मन भित्रको आत्मसम्मान जोड्नु पर्छ । के  मधेश, के पहाड, के हिमाल, के तराई सबै पहिचानलाई जोड्नु पर्छ । नेपालमा राजनीति सही दिशामा अघि बढ्न नसकेकाले समाजमा विभेद अन्त्य भएको छैन । पहाडिया र मधेसिया भनेर सीमारेखा कोर्ने दुष्प्रयास नै राजनीति हुन पुग्यो । नेपालमा राष्ट्रका लागि राजनीति भएन झन् उल्टै देश नै राजनीतिक क्रियाकलापको केन्द्र हुन पुग्यो । अति राजनीतिक विकृतिले भ्रष्टाचार मौलायो । देश प्रयोगशाला बन्यो । भ्रष्टाचारको अन्त्यका लागि जेनजी आन्दोलनमा राजनीतिक भ्रष्टचारीकरणको अन्त्यका लागि ७६ जनाले ज्यान गुमाउनु प¥यो । छठ पर्वले राजनीतिक सुझबुझ वृद्धि गर्दै समयमै निर्वाचन हुँदै देश लोकतान्त्रिक मार्गमा अघि बढोस् । 

इतिहास 

विश्वले जानेको प्रथम देवता नै सूर्य हुन् । सूर्यको अस्तित्वबिना कसैको अस्तित्व रहँदैन । सूर्यले दिएको यो जीवनलाई राजनीतिले सबै समाजलाई जोड्नुपर्नेमा सीमारेखा कोरिदियो ।  मधेशकै चर्चा गर्दा मिथिलाको मैथिल सभ्यता र काठमाडौँको नेवा सभ्यतामा पारिवारिक सम्बन्ध छ । १४ औँ शताब्दीमा सिमरौनगढका राजा हरिसिंहदेवकी रानी भक्तपुरका राजा जयसिंह मल्लकी छोरी थिइन् । दिल्लीका सुल्तान गयासुद्दिन तुगलकको आक्रमणबाट पराजित राजा हरिसिंहदेव काठमाडौँ आउँदै गर्दा सिन्धुलीको हरिहरपुरगढीमा उनको देहान्त भयो । रानीले सँगै ल्याएको देवी नै तलेजु भवानी हो भन्ने पनि गरिन्छ । रानीले बनेपा हुँदै भक्तपुर माइती आएर सन् १३३६ देखि १३६६ सम्म नेपालको द्वैध शासन चलाएकी थिइन् । त्यसैले  मधेशी र नेवार मामा भान्जा हुन् । अझै भक्तपुरका नेवा फल्चाहरूमा बुढापाकाहरू नेवारी भजन गाउँदा–गाउँदै त्यसैमा मिसिएको मैथली भजन गाउने गर्छन् ।

 भनिन्छ राजा जनकका भाइहरूले मिथिलामा शासन गर्दा काठमाडौँमा किरातहरूले राज्य गर्थे । तत्कालीन समयमा पहाडमा मैथिल ब्राह्मण प्रभावित वैदिक संस्कृति फैलाउने अर्थात् मैथिल सभ्यताको प्रचारप्रसार भव्य थियो । ब्राह्मणले धोती नै लगाउने गर्दथे । आज पनि पूजापाठ गर्दा धोती लगाएर टोपी खोलेर गर्ने चलन छ । अब भन्नुहोस् को नेवार, को  मधेशी, को ब्राह्मण ? सबैभन्दा पहिले हामी नेपाली हौँ । “अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि ।” देशै नरहे केको प्रदेश ? के को जाति, के को धर्म, के को सभ्यता, के को परिवार ? हाम्रो राजनीतिले यहीँनेर बाटो बिगारेको छ । माता जानकी र राजा जनकको दिव्य जनकपुर नचिन्ने को नेपाली होला र ? तर काठमाडौँले गाली गरेको ‘मनु मखु  मधेशी खः’ को  मधेशी शब्दबाट नै आज  मधेश प्रदेशको नामकरण भएको छ । मिथिला सभ्यता ओझेलमा परेको छ । राजा मिथीको त्याग, तपस्या र बलिदान महाकवि विद्यापतिको योगदान, राजा जनक र देवी जानकीको मर्यादा ओझेलमा परेको छ । वर्तमान राजनीतिले आफ्नो इतिहास सभ्यता र पहिचानलाई न्याय गर्न सकेन उल्टो पहाड र  मधेश भनेर सीमारेखा कोरिदियो । सूर्यले यस्ता सबै चिसो सम्बन्ध सुकाइदिने छन् । छैठी मैयाले आफ्ना सबै सन्तानलाई बराबर माया गर्ने छिन् । जनकपुर पुनः जाग्ने छ । 

वर्तमान 

छठपर्व सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने प्राचीन सनातनी पर्व हो । यो चार दिनसम्म चल्ने पर्वमा महिलाहरू विशेष व्रत बस्छन्, नदीनाला वा पोखरीमा स्नान गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठपर्वमा शुद्धता, संयम र आध्यात्मिक उन्नतिलाई प्राथमिकता दिइन्छ । पर्वको माध्यमबाट परिवारिक, सामाजिक र धार्मिक सम्बन्ध प्रगाढ हुन्छन् । यसले मानव–प्रकृति सम्बन्ध र सहअस्तित्वको महत्व उजागर गर्ने गरेको छ । छठपर्व मुख्य रूपमा सूर्यदेवको पूजा र मातृभूमि, प्रकृति र स्वास्थ्यप्रति कृतज्ञता प्रकट गर्न मनाइन्छ । यस पर्वको मूल उद्देश्य जीवनमा ऊर्जा, समृद्धि र स्वास्थ्य सुनिश्चित गर्नु हो । यस पर्वमार्फत मानव–प्रकृति सम्बन्धको महìव, धार्मिक अनुशासन र नैतिक मूल्यहरूको संरक्षणको शिक्षा पनि दिइन्छ । यो पर्व नेपाल तथा भारतको सीमा क्षेत्रमा धार्मिक–सामाजिक रूपमा ज्यादै लोकप्रिय छ । आजकाल के पहाड, के  मधेश जताततै धुमधामसँग नदी तथा तलाउमा मण्डप नै निर्माण गरेर छठपर्व मनाइन्छ । सूर्यदेवको भूमि, छठीमैयाको आशीर्वाद प्राप्त मधेश गरिब हुनै मिल्दैन । त्यस्तो उत्पादनशील जमिन छ । तराई भनेको नेपालको सुवर्णमयी अन्न भण्डार हो । जताततै बाटोघाटो तथा सिँचाइ पुगेको छ । नभए पनि सजिलै बनाउन सकिन्छ तर पनि कर्णाली पछि सबैभन्दा गरिब छ । अनियन्त्रित भ्रष्टाचार छ । भूगोल सानो छ । जनसङ्ख्या धेरै छ ।  मधेश यो राजनीतिक बन्धनबाट मुक्त हुनै पर्छ । देशको कानुनले काम गर्न नसके पनि समाजको कानुन– धर्मले काम गर्ने छ । प्रकृतिको कानुनले काम गर्ने छ । सबैमा प्रेम र सद्भाव कायम रहने छ । 

भविष्य 

मधेशलगायत नेपालको भविष्य उज्ज्वल छ । विकृति विसङ्गतिको अन्त्य हुँदै गइरहेको छ । भूगोलको नाम जे भए पनि जनतामा आत्मीयता बढ्दै गएको छ । जातीय विभेदको अन्त्य भइसकेको छ । धर्म, संस्कृति, सभ्यता र इतिहासले नेपालको पहिचान विश्वरङ्गमञ्चमा स्थापित गरिसकेको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भन्ने वाक्यांश स्थापित भइसकेको छ । केही अनपढ अशिक्षित नश्लवादी नेताहरूमा विभेद देखिए पनि–धर्म संस्कृति र सभ्यताले सबैलाई जोडेको छ । नेपालका पहाडी क्षेत्रमा छठ पर्व मुख्य रूपमा तराई– मधेशबाट आएका समुदायहरूले मनाउँछन् –यद्यपि आजकाल पहाडी समुदाय पनि उत्तिकै सम्मिलित हुन्छन् । काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलगायतका जिल्लामा यो पर्व आयोजना हुने गर्छ । पोखरी, नदी र तालको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा यहाँ पनि पालन हुन्छ । पर्वमा महिलाहरू व्रत बस्छन् र सामाजिक–सांस्कृतिक एकता बढाउँछन् । पहाडी क्षेत्रमा छठले समुदायबिच सांस्कृतिक आदानप्रदान र धार्मिक चेतनाको सेतुको काम गर्छ । आयोजना जसले गरे पनि अर्घ दिन सबै जान्छन् । सूर्य सबैको हो । सूर्यले भेदभाव गर्दैनन् । हामी पनि सूर्यकै सन्तान हौँ – मानव हौँ कसैले कतै कुनै भेदभाव गर्दैनौँ । 

निष्कर्ष 

कथा अनुसार, एक जना निष्कलङ्क र धर्मपरायण महिलाले सूर्यदेवको पूजा गर्दै आफ्नो परिवार र गाउँमा सुख–समृद्धि ल्याइन् रे । उनको श्रद्धा र तपको कारण सूर्यदेवले उनलाई आशीर्वाद दिए । उनका सबै मनोकामना पूरा भएका थिए रे । उनै माई कालान्तरमा छठी मैया कहलाइन् । आफ्नो परिवार र गाउँघरमा सुख–समृद्धि ल्याउन नै समाजका सबै तह र तप्काका मानिस एकै साथ नदीमा गएर सूर्यदेव तथा छठी मैयाको पूजा आराधना गर्छन् ।