ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस ८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले पालिकावासीको सेवाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनु भयो ।
काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनु भयो ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुने गरी पालिकाका ८ वटै वडाका नागरिकलाई स्वास्थ्य उपचारमा एम्बुलेन्स सेवा उपलब्ध हुने उहाँले बताउनु भयो । एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले एक जना चालक र एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्थापन गरेको छ ।
एम्बुलेन्स सेवा लिने नागरिकले स्वास्थ्य संस्थामा जाने–आउने एकमुष्ठ शुल्कमा गाउँपालिकाले निर्धारण गरेको यातायात भाडादरमा ३३ प्रतिशत रकम छुट पाउने गाउँपालिकाले जनाएको छ ।