- चाडबाडले बढायो आयात
- आयातनिर्यात दुवैमा भटमासको तेल उच्च
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १० गते । नेपालले एकै महिनामा २५ अर्ब रुपियाँभन्दा बढीको वस्तु निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्याङ्क अनुसार असोजमा मात्रै नेपालले २५ अर्ब ४६ करोड रुपियाँको वस्तु निर्यात गरेको हो ।
नेपालले गर्ने अन्तर्राष्ट्रिय व्यापारमा विगतमा निर्यातको हिस्सा निकै कम भए पनि पछिल्लो समय यसको योगदान भने बढ्दै गएको देखिन्छ । विभागका अनुसार चालु वर्षका तीन महिना अर्थात् असोजसम्म नेपालले ७२ अर्ब ७८ करोड रुपियाँको निर्यात गरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले केवल ३८ अर्ब ३७ करोड रुपियाँको निर्यात गरेको थियो । एक वर्षकै अन्तरमा नेपालको निर्यात करिब ९० प्रतिशतले बढेको विभागको तथ्याङ्कले देखाउँछ ।
निर्यात बढ्दा अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा १३.४६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ८.९४ प्रतिशत मात्र थियो । नेपालको निर्यात बढाउन सबैभन्दा धेरै योगदान भटमास तेलको रहेको छ । तीन महिनामा नेपालले ३० अर्ब ६९ करोड रुपियाँको भटमास तेल भारत निर्यात गरेको छ । त्यसपछि दुई अर्ब ५७ करोड रुपियाँको गलैँचा निर्यात भएको छ । दुई अर्ब १३ करोड रुपियाँको सूर्यमुखी तेल निर्यात हुँदा एक अर्ब ७३ करोड रुपियाँका फेल्टका सामग्री निर्यात भएको देखिन्छ । यस अवधिमा एक अर्ब ६७ करोड रुपियाँको अलैँची निर्यात भएको छ ।
चाडबाडले बढायो आयात
दसैँतिहार जस्ता चाडबाडमा हुने किनमेलले आयात उल्लेख्य बढेको छ । विभागका अनुसार असोजमा मात्रै एक खर्ब ६२ अर्ब ९२ करोड रुपियाँको आयात भएको छ । गत आवको सोही महिनामा एक खर्ब २८ अर्ब २० करोड रुपियाँको वस्तु आयात भएको थियो ।
तीन महिनाको अवधिमा भने आयात तीन खर्ब पाँच अर्ब रुपियाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा आयात करिब २० प्रतिशतले बढेको हो । गत वर्ष असोजसम्म नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोड रुपियाँको वस्तु आयात गरेको थियो । निर्यातमा जस्तै वस्तु आयातको सूचीमा भटमास तेल नै सर्वाधिक भित्रिएको छ । यस अवधिमा नेपालले ३० अर्ब २४ करोड रुपियाँको कच्चा भटमास तेल आयात गरेको छ । त्यसपछि २० अर्ब ६९ करोड रुपियाँको डिजेल आयात भएको छ ।
सर्वाधिक आयात हुने सूचीको तेस्रोमा रासायनिक मल रहेको छ । तीन महिनामा १७ अर्ब ११ करोड रुपियाँको मल निर्यात भएको विभागको तथ्याङ्क छ । यस अवधिमा १६ अर्ब ७६ करोड रुपियाँको पेट्रोल, १३ अर्ब ६२ करोड रुपियाँको एलपी ग्यास र १२ अर्ब ५१ करोड रुपियाँको स्मार्टफोन आयात भएको छ ।