‘दसैँ सोह्रे सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् दसैँको सोह्रौँ दिनमा लक्ष्मी पूजा हुन्छ, लक्ष्मी पूजाको छैटौँ दिनमा छठ पर्व हुन्छ । छठ पर्वको समापनसँगै चाडपर्वको समय सकिएको मानिन्छ, मिथिलामा । दसैँ सकिएसँगै लक्ष्मी पूजाको तयारी सुरु हुन्छ । सँगसँगै छठ पर्वका लागि आवश्यक सामग्रीको जोहो गर्न थाल्छन्– मिथिलावासी । यस समयमा मिथिला छठ गीतले गुञ्जायमान हुन्छ । मिथिलामा महापर्व छठको तयारी चल्दै गरेको अनुभूति सजिलै गर्न पाइन्छ ।
छठ गीतले छठ पर्व नजिकिँदै गएको भाव मिथिलावासीको मनमनमा फैलाउँछ । छठ आउँदै छ, अब छठको तयारीमा जुट्नु पर्छ भन्ने सन्देश सँगसँगै छठ पर्वप्रति सचेत हुनसमेत छठ गीतले भूमिका निर्वाह गर्छ । गीतकै माध्यमबाट छठको सुरुदेखि अन्त्यसम्मका सबै विधिविधान जान्न सकिन्छ । छठ गीतले छठ पर्वलाई आकर्षक र रौनक बनाउनुका साथसाथै श्रद्धालुको मन पनि लोभ्याउँछ । छठ गीतको आफ्नै मौलिकता छ । छठ पर्वको अभिन्न अङ्ग हो– छठ गीत ।
केरवा जे फरेला धवद से, ओह पर सुगा मंडराय
मारबो रे सुगवा धनुष से, सुगा गिरे मुरझाय
यो गीत छठ पर्वका लागि पूजा सामग्रीको तयारी गर्दैगर्दा गाइन्छ । छठको प्रसाद अत्यन्त पवित्र मानिन्छ । यो गीतले व्रतालुको कठोर निष्ठा र शुद्धताप्रतिको सजगतालाई जनाउँछ, जहाँ प्रसाद जुठो पार्न खोज्ने चरालाई पनि दण्ड दिने सङ्कल्प गरिन्छ । गीतले भन्छ– केरा जुन घारीमा फलेका छन्, त्यसको वरिपरि सुँगा घुमिरहेको छ । सुँगालाई धनुषले मार्ने छु, सुगा बेहोस भएर खस्ने छ ।
कांच ही बांस के बहंगिया, बहंगी लचकत जाए
यो गीत व्रतालु महिलाहरू सूर्यदेवलाई अर्घ दिन घाट जाँदैगर्दा गाउने गर्छन् । गीतमा उनी बाँसको डाली (बहंगिया) मा प्रसाद बोकेर घाटतर्फ हिँडिरहेकी हुन्छिन् र त्यो डली उनको निष्ठा, प्रेम र श्रद्धाको प्रतीक हो । बाँसको डालीमा प्रसाद बोकेर छठघाटतिर गई रहँदा, समर्पण र आस्थाको भारले त्यो डाली पनि डोलिरहेको छ ।
उग हे सुरुज देव, भेल अरघ के बेर
दर्शन दहो अपन हे दीनानाथ, भेल अरघ के बेर
यो गीत व्रतालुहरूले उदाउँदो सुर्यलाई अर्घ दिन छठ घाटमा प्रतीक्षा गर्दैगर्दा गाउने गर्छन् । व्रतालुहरू रातभर जाग्राम बसेर, जलाशयमा उभिएर उदाउँदो सूर्यको दर्शनको तीव्र प्रतीक्षा गरिरहेका हुन्छन् । व्रतालुहरूले गीतको माध्यमले सूर्यलाई चाँडो उदाइदिन र अघ्र्य स्वीकार गर्न विन्ती गर्छन्– “हे सूर्यदेव उदाउनुहोस्, अर्घ दिने समय भइसक्यो, हे दीनानाथ आफ्नो दर्शन दिनुहोस्, अघ्र्य दिने समय भइसक्यो ।”
छठ पर्वका गीतहरू सूर्य देव (दीनानाथ) र छठी माताको आराधनाका लागि गाइने भक्तिमय रचना हुन् । यी गीतहरूमा व्रतालुको कठोर व्रत, आस्था, निष्ठा एवं समर्पण र पारिवारिक सुख–समृद्धिको कामना झल्कन्छ । धेरै जसो गीतहरू मैथली, भोजपुरी र अवधी भाषामा छन् । गीतहरूले छठ पर्वको सांस्कृतिक र धार्मिक महत्वलाई जीवन्त रूपमा प्रस्तुत गर्छन् । छठका गीतहरू केवल सङ्गीत होइनन्, ती आस्था र जीवन–दर्शनका प्रतीक हुन् । ती गीतहरूले श्रम र श्रद्धाले फल पाइन्छ,, शुद्धता र प्रेम नै साँचो पूजा हो, प्रकृति र मानवको सम्बन्ध सधैँ पवित्र रहोस् भन्न खोजेको पाइन्छ ।
नेपालको तराईदेखि हिमालसम्म फैलिएको सांस्कृतिक विविधताको सुन्दर पुष्पगुच्छामध्ये छठ पर्व एउटा अनुपम पुष्प हो । छठ पर्व न केवल धार्मिक दृष्टिले महत्वपूर्ण छ, बरु यसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, निष्ठा र पवित्रताको प्रतीकको रूपमा हाम्रो समाजमा गहिरो स्थान ओगटेको छ । हजारौँ वर्षदेखि निरन्तर चल्दै आएको यो पर्व नेपाली, मैथिल, भोजपुरिया, अवधी, थारू र उत्तर भारतका समुदायबिच संस्कृति र आस्थाको साझा धरोहर बनिसकेको छ । सत्य र अहिंसाप्रति मानवताको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा छठ मनाउने गरिन्छ ।
छठ पर्वको व्यापकता बढ्दै स्वदेशमा मात्र होइन, संसारका विभिन्न देशमा पनि मनाउन थालिएको छ । जताततै छठ पर्वको रौनक बढेको पाइन्छ । छठ पर्वको समन्वयकारी भूमिकाका कारण पनि यो सबैतिर स्वीकार्य बन्दै गएको छ । सबै जातजाति, धर्म र सम्प्रदायप्रति समभाव राख्ने हुनाले पनि छठ पर्वप्रति राष्ट्रियस्तरमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत सद्भाव बढ्दो छ ।
छठ पर्व मूलतः सूर्य आराधना र प्रकृति उपासनासँग सम्बन्धित छ । सूर्यलाई ऊर्जा, जीवन, आरोग्य र प्रकाशको प्रतीकका रूपमा मानिन्छ । यो पर्वले मानव र प्रकृतिको अविच्छिन्न सम्बन्धलाई उजागर गर्छ । मानव सभ्यताको प्रारम्भसँगै प्रकाश र ऊर्जा दिने सूर्यको उपासनासँगै छठ पर्वले निरन्तरता पाएको देखिन्छ ।
मानव सभ्यताको सुरुवात नै नदी किनारबाट भएको मानिन्छ । जललाई मानव जीवनको आधार मानिन्छ । छठ पर्वमा नदीनाला, ताल, पोखरी आदिको संरक्षण गर्ने, सरसफाइ गर्ने, हरेक जाति र सम्प्रदायका मानिस एउटै सरोवरमा जम्मा भएर पूजाआजा गर्ने, उखु, गुड, चामल, गहुँ, भन्टा, मुला, अदुवा, बेसार र केरा जस्ता आफ्नै उत्पादन प्रयोग गर्ने आदि कारणले छठ पर्वको विशेष र अलग्गै महìव रहेको छ ।
छठ पर्वको उत्पत्तिसँग अनेकौँ धार्मिक कथा र लोकविश्वास जोडिएको छ । वैदिक ग्रन्थहरूमा सूर्य उपासनाको उल्लेख पाइन्छ, जसले सूर्यलाई जीवन, स्वास्थ्य र समृद्धिको मूल स्रोतका रूपमा चित्रण गर्छ । ऋग्वेदमा पनि सूर्यदेवको आराधनाको विशेष वर्णन पाइन्छ, ‘सूर्य आत्मा जगतस्तस्थुषश्च’ अर्थात् सूर्य सम्पूर्ण चराचर जगत्को आत्मा हो ।
छठ पर्वको धार्मिक आधार रामायण र महाभारत दुवैमा पाइन्छ । रामायण अनुसार, भगवान् राम र सीताले अयोध्या फर्किएपछि कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको पूजा गरी राज्याभिषेकको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । त्यस्तै, महाभारतमा कुन्तीदेवीले पाण्डव पुत्रहरूको दीर्घायुका लागि सूर्यदेवको आराधना गरेकी कथा पनि छ ।
छठ पर्व चार दिनसम्म चल्ने अत्यन्त अनुशासित र पवित्र पर्व हो । यो पर्व शुद्धता, संयम र आस्थाको अद्वितीय उदाहरण हो । यसमा कुनै मूर्तिपूजा हुँदैन, न कुनै भव्य मन्दिरको आवश्यकता पर्छ । प्रकृतिका अङ्गहरू– सूर्य, जल, धरती, हावा र अग्निको प्रत्यक्ष आराधना गरिन्छ ।
छठ पर्वमा श्रद्धालुहरूले सूर्य भगवान्लाई धन्यवाद ज्ञापन गर्छन् कि उनले संसारमा जीवन, ऊर्जा र समृद्धि प्रदान गरे । यो पूजा गर्दा व्रतालुहरू (मुख्यतः नारीहरू) पूर्ण निराहार रहन्छन्, पवित्र जलमा डुबेर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । यो पूजा प्रकृतिप्रतिको कृतज्ञता मात्र होइन, आत्मशुद्धिको अभ्यास पनि हो ।
वर्षको दुई पटक चैत र कात्तिक महिनामा छठ पर्व मनाइन्छ । छैठ, छठी, छठ पूजा, डाला छठ, डाला पूजा, सूर्य षष्ठी आदि वैकल्पिक नामले छठ पर्वलाई चिनिन्छ । धार्मिक अनुष्ठान, भजन, स्नान, व्रत तथा सूर्यको पूजा गरी छठ पर्वको परिपालन गरिन्छ ।
लोकविश्वास अनुसार छठी माई अर्थात् उषादेवी सूर्यकी बहिनी हुन् । उनी आरोग्य, समृद्धि र सन्तान सुख प्रदान गर्ने देवी मानिन्छिन् । छठ पर्वलाई ‘छठी माईको पूजा’ पनि भनिन्छ । वैदिककालदेखि नै महिलाले सन्तान सुख, पारिवारिक सुखशान्ति र समृद्धिको कामना गर्दै सूर्यको उपासना गर्ने परम्परा चलिआएको छ । छठ पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । शुद्ध भावनाले छठ व्रत गर्नाले तुरुन्त फल पाइने श्रद्धालुको विश्वास छ ।
कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । सूर्यको पूजा, प्रार्थना र आराधना गर्दै चार दिनसम्म छठ पर्व मनाइन्छ । कात्तिक शुक्ल चर्तुदशीका दिनलाई छठको सुरुवात मानिन्छ । यस दिनलाई ‘नहाए खाए’ भनिन्छ । यस दिन व्रत बस्नेहरू बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्छन् ।
कात्तिक शुक्ल पञ्चमीको दिनलाई ‘खर्ना’ भनिन्छ र यस दिन व्रत बस्नेहरू स्नान गरेर आत्मशुद्धि गर्छन् । यस दिन बेलुकीपख दुध, चामल र सक्खरको खिर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको दिन । यस दिन व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । यस दिन साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई पूजासहित अर्घ दिन्छन् । रातभर नदी तथा तलाउ किनारमा भजन कीर्तन गर्दै बस्छन् । भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई छठ पर्वको विसर्जन गरिन्छ । घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत खोल्ने यस दिनलाई पारण भनिन्छ ।
छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई (खजा), चना, ठेकुवा, कसार (भुसुवा), कागती, बेसार, अदुवा आदि राखिन्छ । विशेष गरी गहुँको पिठोबाट बनाइएको ठेकुवा र चामलको पिठोबाट बनाइएको भुसुवाको विशेष प्रसाद बनाइन्छ । केही श्रद्धालु घरबाट साँझ र बिहान घिर्घिंदै नदी तथा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य गर्छन् ।
छठ पर्वमा मुस्लिम समुदायका व्यक्तिको पनि सहभागिता रहन्छ । पर्व विधिवत् मनाउँछन् । छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ । समाजमा उदाउँदो वा धनी तथा प्रतिष्िठत व्यक्तिलाई ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् । छठ पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्न सिकाउँछ । समाजका हरेक तह र तप्काका व्यक्ति जलाशय किनारमा गई सँगै छठ पर्व मनाएर सामाजिक एकताको सन्देश दिन्छ ।
छठ पर्वको सबैभन्दा सुन्दर पक्ष यसको सामाजिक समावेशिता र साझा सहभागिता हो । यसमा न जातको भेद हुन्छ, न वर्गको, न धर्मको । सबै मानिसहरू चाहे धनी होस् वा गरिब, उच्च जात वा निम्न जात एउटै घाटमा उभिएर सूर्यलाई अर्घ दिन्छन् । छठ पर्वले एक अद्भूत सामाजिक एकता ल्याउँछ । युवा समूह बनाएर नदी–पोखरी सफा गर्छन्, महिला मिलेर सामूहिक व्रत गर्छन्, घर–घरमा अतिथिको स्वागत गरिन्छ । छठ पर्वको सबैभन्दा गहिरो पक्ष हो– निष्ठा र पवित्रता । व्रतालुहरू चार दिनसम्म कठोर ब्रत बस्छन्– न कुनै स्वाद, न कुनै आराम । उनीहरू शरीर, मन र आत्मालाई पूर्ण रूपमा शुद्ध राख्छन् ।
छठ पर्वको अर्को गहिरो अर्थ नारीका दृष्टिले छ । यो पर्व प्रायः महिलाले गर्छन्, जसले आस्था, शक्ति र मातृत्वको अद्भुत स्वरूप प्रस्तुत गर्छन् । छठ पर्वको अर्को विशिष्ट पक्ष यसको पर्यावरणीय सन्देश हो । सूर्य, जल, माटो, वायु र प्रकाश यी सबै तìवको पूजा गरिन्छ । मानिसले प्रकृतिलाई देवत्वको रूपमा स्वीकार्छ । छठ केवल बाह्य पूजा होइन, यो आन्तरिक शुद्धीकरणको साधना हो । सूर्यलाई अघ्र्य दिनुको अर्थ छ– “आफ्नो अहंकारलाई अस्ताउँदो सूर्यसँग विदा गर्नु र उदाउँदो सूर्यसँग नयाँ आशा र जीवन सुरु गर्नु ।”