गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १० गते । देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या छ करोड चार लाखभन्दा बढी पुगेको छ भने कर्जा खाता करिब २० लाखनजिक पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनासम्म समीक्षा अवधिमा निक्षेप खाता छ करोड चार लाख ५३ हजार ५९३ रहेका छन् । सोही अवधिमा कर्जा खाता सङ्ख्या १९ लाख ९३ हजार २३४ रहेको छ ।
यस्तो निक्षेप खाता वाणिज्य बैङ्कमा पाँच करोड १८ लाख ५६ हजार २५२ रहेको छ भने विकास बैङ्कमा ७५ लाख ७८ हजार ६० तथा वित्त कम्पनीमा १० लाख १९ हजार २८१ रहेको छ ।
यस्तै कर्जा खाता सङ्ख्या पनि वाणिज्य बैङ्कमा १६ लाख ६२ हजार ३४२ रहेको छ भने विकास बैङ्कमा दुई लाख ६७ हजार ३०३ तथा वित्त कम्पनीमा ६३ हजार ५८९ रहेको छ । त्यस्तै वाणिज्य बैङ्कमा पाँच करोड १८ लाख ५६ हजार २५२ रहेको छ भने विकास बैङ्कमा ७५ लाख ७८ हजार ६० तथा वित्त कम्पनीमा १० लाख १९ हजार २८१ रहेको छ ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या (लघुवित्त वित्तीय संस्थासमेत) १०७ रहेको छ । जसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् ।
यस्तै बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८२ असार मसान्तमा ११ हजार ५२६ रहेकोमा २०८२ भदौ मसान्तमा ११ हजार ५१२ पुगेको छ ।