• २७ मंसिर २०८१, बिहिबार

रोमाञ्चक त्यो जन्मदिन

blog

बिहानको सूर्योदयसँगै आँखा खुले तर बिहानीको चिसो मौसमले उठ्न भने पटक्कै मन लागेन । अनि छेउमै रहेको मोबाइलमा ध्यान गयो । सामाजिक सञ्जाल ‘स्कोर्ल’ गर्न थालेँ । अचानक मेरो ध्यान एक्स (ट्विटर) मा गयो । खै किन हो एक्स मलाई सबैभन्दा मनपर्ने एप हो । एक्स हेर्दै थिएँ, त्यहाँ ‘टुडे इज योर बर्थ डे’ लेखिएको रहेछ । आज त मेरो जन्मदिन पो रहेछ । म आफैँसँग एकचोटि झस्किएँ । उमेर गन्न थालेँ । जन्मदिनको थिएन मनमा सानो छँदाको जस्तो उमङ्ग । उमेर बढेसँगै रमाइलो गर्ने चाहनाहरू पनि घट्दै जाने रहेछन् । अनि विगतका जन्मदिन सम्झिन थालेँ । 

सानो छँदा मलाई मनपर्ने सबैभन्दा ठुलो चाड आफ्नै जन्मदिन हो भन्ने लाग्थ्यो । मेरो जन्मदिन कहिले पर्छ भनेर विद्यालयका सबै साथीहरूलाई पनि कण्ठै हुन्थ्यो । जन्मदिन आउनु दुई÷चार दिनअघिदेखि नै चकलेट केक भन्थे साथीहरूले । त्यही साथीहरूमध्ये मुस्किलले एक/दुई जनाले मात्र अहिले मेरो जन्मदिन सम्झिन्छन् । सायद आफूले पनि त्यस्तै व्यवहार गरेर होला । अहिले न जन्मदिन मनाउँ मनाउँ लाग्छ न परिवारले केक ल्याएर जन्मदिन मनाइदिँदा पहिलेको जस्तो उमङ्ग हुन्छ । 

रहरहरू पनि समयसँगै बदलिने रहेछन् । ऋतु जस्तै रहर पनि कहिले हराभरा अनि कहिले खडेरी हुने रहेछन् । बाल्यकालमा साथीहरूलाई मात्र होइन, आफन्तहरूलाई, छिमेकीहरूलाई पनि जन्मदिन थाहा हुन्थ्यो । नहोस् पनि कसरी आफैँले मेरो जन्मदिन यति गते भन्दै हल्ला गर्दै हिँडिन्थ्यो । अहिले सम्झिँदा पनि रमाइलो लाग्छ । बाल्यकालमा चकलेट बोकेर आफन्तको, छिमेकीको घर गइन्थ्यो । आफन्त र छिमेकीले केही पैसा तथा आशीर्वाद दिन्थे । मक्ख परिन्थ्यो । विद्यालयमा पढ्दा चकलेट बोकेर विद्यालय गइन्थ्यो । शिक्षकलाई चकलेट दिइन्थ्यो । शिक्षकले ‘ह्याप्पी बर्थ डे’ भन्दा सबै साथीहरूले मेरो मुखतिर हेर्थे । मेरो मन खुसीले उफ्रिन्थ्यो । 

त्यो बेला जन्मदिनको अघिल्लो दिन राति १२ बजेसम्म निद्रा लाग्दैन थियो । अनि नोकियाको मोबाइलमा साथीहरूको केकवाला ‘पिक्चर मेसेज’ आउने गथ्र्याे । साथीहरूले जन्मदिनको शुभकामना दिएर डायरी भर्ने गर्थे । साँच्चै त्यो समय कति रमाइलो थियो । अनि आमाबुबाले रातोटीका लगाइदिँदा दसैँ जस्तै लाग्थ्यो । जब ११/१२ कक्षा पढ्न थालेँ, त्यो बेला पनि जन्मदिन खास नै लाग्थ्यो । साथीहरूसँग उपहार पनि साटासाट हुन्थ्यो । स्नातक सकिएसँगै जिम्मेवारी थपिए झैँ लाग्न थाल्यो । उमेर बढेसँगै केही सपना अधुरा र पूरा गर्न बाँकी रहेको लाग्न थाल्यो । अहिले ‘आज मेरो जन्मदिन’ भनेर कसैलाई भन्न मन लाग्दैन । उमेर बढेर अलिकति लाज पनि लागेको हो कि वा परिपक्व भएर हो तर फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा जन्मदिन देखाइदिनाले मानिसहरूले ‘डिजिटल विस’ भन्ने गर्छन् । फेसबुकमा कमेन्ट नै नगरी थिचेको भरमा ‘ह्याप्पी बर्थ डे’ लेखिने हुँदा धेरै जनाले जन्मदिनको शुभकामना दिन पनि थालेका छन् । कतिले त त्यो पनि गर्दैनन्, गरेनन् भनेर गुनासो पनि लाग्दैन । केही तिर्सना, केही विगतका सम्झना मात्र झल्झली आउँछन् । यही भुमरीको बिचमा जन्मदिन खास लाग्दैन अचेल मलाई । विगतकै जन्मदिन सम्झिन थाल्छु । बाल्यकालमा जन्मदिनको शुभकामना नदिँदा चित्त दुख्ने यो मनलाई कोही नजिकका प्रिय व्यक्तिले जन्मदिनमा नसम्झिए पनि अहिले दुःख लाग्दैन ।

सानो छँदा जन्मदिनमा म जसरी रमाउँथेँ, हिजोआज बालबालिका पनि त्यस्तै भएको देख्छु । रमाइलो त त्यही बेला हुन्छ, जुनबेला न केही काम गर्नु पर्छ भन्ने हुन्छ न केही चिन्ता हुन्छ । अहिले पनि बालबालिकालाई खुसी बनाउन जन्मदिनमा विद्यालय जाँदा केक, चक्लेट पठाइदिने चलन छ । दसैँ, तिहार राम्रोसँग नबुझेका ती कलिला अझ मन्टेश्वरीका बालबालिका जन्मदिनलाई सबैभन्दा ठुलो चाड ठान्छन् । उनीहरूले कसैको जन्मदिन सुन्नु हुन्न ताली बजाएर ‘ह्याप्पी बर्थ डे’ भन्न थाल्छन् ।  कहिलेकाहीँ मलाई लाग्छ, यस्तै चलनले हामीले हाम्रो धर्म, संस्कृति, परम्परा बिर्संदै गएका छौँ । केक काट्ने चलन पनि नराम्रो त होइन तर जन्मदिनलगायत विभिन्न शुभकार्यमा हामी पश्चिमी संस्कृतिलाई अपनाउँदै गएका छौँ, जसले समाजमा नकारात्मक असर परिरहेको छ । 

अनगिन्ती सपनाहरू समयसँगै बदलिँदै जाने रहेछन् । जीवन पनि कहिले औँसीको रातको अन्धकार अनि कहिले पूर्णिमाको रातको उज्यालो जस्तै रहेछ । कहिले सुख अनि कहिले दुःख । कहिले हाँसो अनि कहिले रोदन । जे जस्तो भए पनि स्वीकार गर्नेपर्ने रहेछ । ससाना कुराले चसक्क दुख्ने यो मन उमेर बढेसँगै कठिन परिस्थितिसँग सामना गर्न डराउँदो रहेनछ । 

बाल्यकालमा म आफ्नो जन्मदिन मनाउँदा हिन्दी गीतमा नाच्थेँ तर अहिले नेपाली पुराना गीतमा ध्यान जान थालेको छ । सायद शब्दमा गहिरिएर होला । बाल्यकालमा रमाइलो चुट्किला मनपथ्र्यो । अहिले उपन्यास र प्रेरणादायी भनाइमा ध्यान जान थालेको छ । घरमा भएका केटाकेटीले मेरो जन्मदिन भन्दै ताली बजाउँछन् । मलाई लाग्छ मेरो जन्मदिनमा मभन्दा उनीहरू खुसी छन् । अनि कति बेला म उपस्थित भएर केक काट्छु र ताली बजाउँछु भनेर उनीहरू प्रतीक्षा गरिरहेका हुन्छन् । 

अहिलेका बालबालिकामा म मेरो बाल्यकाल ठ्याक्कै देख्छु । मैले केक काट्दा सबैले एकै साथ ‘ह्याप्पी बर्थ डे’ भनेर ताली बजाउँदा अनि स्प्रेले अनुहारभरि छर्किंदा पनि मलाई अहिले त्यति खुसी लाग्दैन तर बाल्यकालमा चकलेट बोकेर ‘मेरो जन्मदिन’ भन्दै बाँड्दै हिँड्दा त्यति खुसी लाग्थ्यो । त्यो बेला जन्मदिन मनाउने भनेर सबैलाई बोलाउँदा खुब रमाइलो लाग्थ्यो । अहिले कोही नभए पनि हुन्छ जस्तो लाग्छ । चकलेट दिएका ती साथीहरूले अहिले मुस्किलले सम्झिन्छन् तर मेरा बाआमाको शुभकामना अनि आशीर्वादमा भने अहिलेसम्म परिवर्तन भएको छैन । भनिन्छ बाआमा देउता हुन् । हिजोआज उहाँहरूको व्यवहार देख्दा त्यस्तै लाग्छ । न कहिले रिसाउनु हुन्छ न कहिले छोडेर नै टाढा जानुहुन्छ । भनिन्छ नि दुःख पर्दा जसले साथ दिन्छ ऊ नै सबैभन्दा प्रिय हुन्छ । आफ्नो मनको कुरा सबै भगवान्को सामु व्यक्त गरिन्छ । त्यसैले मलाई साथी, आफन्त, अभिभावक सबै भगवान् जस्तो लाग्छ । अचेल जन्मदिनमा सबैसँग आशीर्वाद माग्दै चकलेट चढाउँछु । थाहा छैन भगवान्ले कस्तो आशीर्वाद दिनुहुन्छ तर मनमा सधैँ उहाँहरू नै हुनुहुन्छ । पहिले पहिले जन्मदिनमा के उपहार पाइयो भनेर साथीहरूसँग छलफल हुन्थ्यो । धेरै दिनअघिदेखि जन्मदिन कहिले आउँछ भनेर गन्न थाल्थेँ । जन्मदिन मात्र होइन, त्यो बेला सबै चाडपर्वमा असाध्यै रमाइलो लाग्थ्यो । जिन्दगीको दौडमा यी सबै खुसी बिस्तारै हराउँदै जाने रहेछ । 

बाल्यकालमा साँझ पर्नेबित्तिकै केक काट्न चक्कु लिन भान्सामा पस्थेँ । अचेलको जन्मदिनमा छतमा चन्द्रमाको शीतलतामा रमाउन पुग्छु । यस्तैमा मलाई आनन्द लाग्छ । अङ्ग्रेजीमा चन्द्रमा मनपर्नेलाई ‘सेलेनोफाइल’ भन्छन् । म पनि ‘सेलेनोफाइल’ त होइन भन्ने लाग्छ । प्रकृति, उज्यालो, अन्धकार सबै मन पर्न थालेको छ । अचेल पनि जन्मदिनमा घरमा केक ल्याउँछन् । केक काट्ने क्रममा मैनबत्ती हुन्छन्, वरिपरि बेलुन हुन्छन्, केकमा ‘हयाप्पी बर्थ डे’ लेखिएको हुन्छ तर मेरो ध्यान भने आफ्नो वर्ष लेखिएको ठाउँमा जान्छ । सानो छँदा सबैभन्दा पहिले केकमा ध्यान जान्थ्यो । अनि विगतका जन्मदिन सम्झिँदै झस्कन्छु । यस्ता जन्मदिन धेरै मनाउनु छ भन्दै मन बुझाउँछु् । 

अचेलको जन्मदिनमा केक काटेपछि परिवारका सबै जनाले खुवाउँछन् । सबैले मेरो अनुहारमा केक लाउन खोज्दा पर्दैन भन्छु । सानो छँदा अनुहारभरि केक दलेको फोटो फेसबुकमा राख्न हतार हुन्थ्यो । हिजोआज त किन हो किन जन्मदिन पनि आफूमै सीमित राख्न मन लाग्छ । 

‘ह्याप्पी बर्थ डे’ भन्दै आएका मेसेजको रिप्लाई दिन अल्छी लाग्छ । शुभकामना नदिए पनि खासै दुःखी हुन्न । उमेर बढेसँगै जतिसुकै दुःख पीडा भए पनि मन सन्तोष लिएर बस्ने रहेछ । सन्तोष नै सबभन्दा ठुलो सुख हो भन्ने भनाइ नै छ । जब मनमा सन्तोष हुन्छ तब जिन्दगी सुखमय हुने रहेछ । यही भनाइलाई हिजोआज पछ्याउँदै जीवनको रथ चलाइरहेको छु ।   

Author

तेजस्वी कार्की