• १२ साउन २०८१, शनिबार

अरिहन्त उत्कृष्ट रोजगारदाता

blog

सुनसरी समाचारदाता

इटहरी, मङ्सिर १३ गते । नेपालको सबैभन्दा ठुलो जुट उद्योगका रूपमा रहेको सोनापुरस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड सामाजिक सुरक्षा कोषबाट सम्मानित भएको छ । मुलुकमा सबैभन्दा बढी रोजगार दिने रोजगारदाताका रूपमा रहेको अरिहन्त जुट उद्योगलाई सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७९/८० मा उत्पादनमूलक क्षेत्रका रोजगारदातामध्ये मुलुककै उत्कृष्ट रहेको भन्दै सम्मान गरेको हो ।

कोषको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसापत्र प्रदान गर्नुभएको उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंले जानकारी दिनुभयो । कोषद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमूलक उद्योगको तर्फबाट कोषमा सूचीकृत रोजगारदातामध्ये गत आव २०७९/८० मा योगदानकर्ता (श्रमिक) हरूको सङ्ख्याका आधारमा उत्कृष्ट भएको भन्दै सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत बजगाईंले जानकारी दिनुभयो । 

सम्मान कार्यव्रmममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष केवलप्रसाद भण्डारी र कार्यकारी निर्देशक कविराज अधिकारीको उपस्थिति थियो । विगत ३१ वर्षदेखि सुनसरीको सोनापुरमा सञ्चालित अरिहन्त मल्टिफाइबर्समा करिब पाँच हजार श्रमिक कार्यरत छन् । यसमध्ये ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत बजगाईंको भनाइ छ ।

नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने अभियन्ताका रूपमा स्थापित स्वर्गीय रामलाल गोल्छाको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको जुट उद्योगलाई उहाँको नाति उद्योगपति राजकुमार गोल्छाको नेतृत्व समूहले सफलताका साथ सञ्चालन गर्दै आएको छ । जुट उद्योगका कारणले नै आफूले प्रशंसापत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको उद्योगपति गोल्छाको भनाइ छ । 

दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको अरिहन्त जुट उद्योगमा कार्यरत सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध रहेका छन् । सो उद्योगले वार्षिक पाँच अर्बभन्दा बढीको जुटजन्य सामग्रीको निर्यात गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत बजगाईंका अनुसार जुटका बोरा, सुतली, ह्यासियन कपडा उत्पादन गर्दै आएको उद्योगले गत वर्षदेखि जुटको सपिङ झोला र लेनो कपडाको पनि उत्पादन गर्दै आएको छ ।