• २९ वैशाख २०८१, शनिबार

परम्परा जोगाउन भेडा जुधाई

blog

मेलामा जुधाउनका लागि तयार पारिएको भेडा । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर १२ गते । बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।

नागा बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष जगतराम कुर्मीका अनुसार परापूर्वकालदेखि चलेको भेडा जुधाउने परम्परालाई अहिलेका पुस्ताले पनि निरन्तरता दिइरहेको छ । यसै संरक्षण समितिकै आयोजनामा गुरुवागाउँ मेला सञ्चालनमा आएको हो ।

“यो मन्दिर २ सय वर्ष अघिको हो, २ सय वर्षअघि यहाँ नागा बाबा हुनुहुन्थ्यो, बाबाकै नामबाट मन्दिरको नाम नागा बाबा मन्दिर नामकरण भएको हो,” अध्यक्ष कुर्मीले भन्नुभयो, “तबदेखि नै हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिनदेखि तीनसम्म लगातार मेला लाग्ने गरेको छ र मेलामा भेडा जुधाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ ।”

भेडा जुधाउन बाँकेका विभिन्न स्थानबाट मानिसहरू मेलामा आउने गरेको उहाँले बताउनुभयो । कुर्मीका अनुसार हरेक वर्ष सय बढी भेडाहरू एकआपसमा जुधाउने गरिन्छ । व्यावसायिक हिसाबले पाल्ने भेडा र जुधाउनकै लाग्ने पाल्ने भेडा भिन्दाभिन्दै हुने उहाँले बताउनुभयो । जुधाउनका लागि पालिने भेडालाई विशेष खानपानको व्यवस्था हुन्छ । जुधाउने भेडालाई किसानले वर्षभरि विशेष किसिमको तागतिलो खानेकुरा खुवाएर पाल्ने गरेको उहाँले बताउनुभयो ।

भेडा जुधाई केवल मनोरञ्जन र परम्परा जोगाउन मात्रै भएको संरक्षण समितिका अध्यक्ष कुर्मीले बताउनुभयो । “भेडा जुधाई केवल मनोरञ्जन र परम्परा जोगाउनका लागि मात्र हो, जित्नेले कुनै पुरस्कार पाउँदैन,” उहाँले भन्नुभयो, “जसको भेडाले जित्छ उसको मालिकको केवल वाहवाही हुन्छ, वर्षभरि गाउँमा उसको चर्चा चल्छ, खाली यसैका लागि मात्र वर्षभरि दुःख गरेर भेडा पालनपोषण गरी जुधाउने गरिन्छ ।”

कोहलपुर नगरपालिका वडा नं. १४ अकलघरुवाबाट भेडा जुधाउन पुग्नुभएका ६८ वर्षीय लच्छु अहिरले आफूले वर्षौँदेखि मेलामा भेडा जुधाउन ल्याउने गरेको बताउनुभयो । “भेडा जुधाएर केही मिल्दैन तर हाम्रो सयौँ वर्ष अघिदेखि चलिआएको चलनलाई जोगाउन र सोखको लागि मात्र ल्याएर जुधाउने गरिन्छ ।” उहाँले भन्नुभयो, “आफ्नो भेडाले जितेमा वर्षभरि गाउँमा नाम चल्छ ।”

मेलामा भेडा जुधाईबाहेक धार्मिक रामलिला नाटक मञ्चन, मनोरञ्जनात्मक कार्यक्रम नृत्य, भजन कृतन लगायतका कार्यक्रम हुने वडा नं. ५ का वडाध्यक्ष टिकानाथ यादवले जानकारी दिनुभयो । मेला हेर्न बाँके र बर्दियाका विभिन्न स्थानबाट मात्रै नभई सीमावर्ती भारतका समेत दर्शनार्थीहरु आउने उहाँले बताउनुभयो । तीन दिनमा हजारौँ दर्शनार्थी मेलामा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

उक्त स्थानमा नागा बाबाको मन्दिर र ठुलो ताल छ । मेला हेर्न आउने दर्शनार्थीले मन्दिरको दर्शन गर्नुका साथै उक्त तालमा स्नानसमेत गर्ने प्रचलन रहेको वडा अध्यक्ष यादवले जानकारी दिनुभयो। मन्दिरमा आएर पूजाआजा गरी वर मागेमा मनले सोचेको कुरा पुरा हुने जनविश्वास रहिआएको उहाँको भनाइ छ ।