• ७ मंसिर २०८१, शुक्रबार

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ

blog

काठमाडौँ, मङ्सिर ९ गते । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ । कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आइपिओ) को आवेदन खुला गरेको हो । 

कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल रहेको छ । आइपिओमा मङ्सिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिने छ । 

अङ्कित मूल्य १०० का दरले कम्पनीको आइपिओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्ने छन् । कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ ।

हाल नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीहरूको तुलनामा यो फरक प्रकृतिको कम्पनी हो । कृषि उत्पादनलाई सहयोग गर्ने गरी कम्पनी सञ्चालनमा आएको हो ।

कृषक तथा कृषि व्यवसायीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि आवश्यक उत्पादनका साधनहरू मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।