• २ जेठ २०८३, शनिबार

निर्माणको अन्तिम चरणमा गियर गार्मेन्ट

blog

भैरहवा समाचारदाता

भैरहवा, जेठ २ गते । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माणाधीन गार्मेन्ट गियर प्रालिको उद्योग तीव्रताका साथ निर्माण अगाडि बढाइएको छ । अबको पाँच महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

हाल उद्योग निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी कुसे औँसीलक्षित सर्ट र पाइन्टलगायतका तयारी पोसाक बजारमा ल्याउने तयारी भइरहेको छ । नेपाली बजारका साथै अन्तर्राष्ट्रिय बजारलक्षित उद्योग स्थापना गरिएको हो ।

उद्योगमा उद्यमी मीनबहादुर गुरुङ, उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरणकुमार श्रेष्ठ, राजेश श्रेष्ठलगायतका व्यवसायीको लगानी छ । 

उद्योगले यही वैशाखबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि गत भदौमा भएको ‘जेनजी आन्दोलन’ तथा त्यसपछिको आर्थिक मन्दीका कारण निर्माण प्रभावित भएको थियो । लगानीकर्ताका अनुसार आन्दोलनपछि समूहले प्रवर्धन गरिरहेका अधिकांश परियोजना करिब छ महिनासम्म प्रभावित बनेका थिए ।

उद्योगले उच्च गुणस्तरका तयारी पोसाक उत्पादन गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

उद्योगबाट उत्पादित पोसाक भाटभटेनी सुपरमार्केटमार्फत बजारमा पु¥याइने योजना छ । त्यसबाहेक भारत, अमेरिका तथा युरोपेली मुलुकमा समेत तयारी पोसाक निर्यात गर्ने तयारी गरिएको छ । 

कुल उत्पादनमध्ये ४० प्रतिशत नेपाली बजारमा र ६० प्रतिशत विदेश निर्यात गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । उद्योगका कार्यकारी निर्देशक रामकृष्ण खतिवडाका अनुसार उद्योगले वार्षिक करिब ५७ लाख ६० हजार थान तयारी पोसाक उत्पादन गर्ने लक्ष्य छ । उद्योगमा मुख्य रूपमा डेनिम बटम, लेगिङ, जेगिङ, ट्रेगिङ, प्यान्ट, सर्ट तथा निटवेयर उत्पादन गरिने छ ।

सेजभित्र २५ वर्षका लागि भाडामा लिइएको एक लाख ३४ हजार स्क्वायर फिट क्षेत्रफलमध्ये करिब ९० हजार स्क्वायर फिटमा उद्योग संरचना निर्माण भइरहेको छ । उद्योग पूर्ण सञ्चालनमा आएपछि एकै पटक करिब एक हजार दुई सय जनाले रोजगारी पाउने छन् ।