शशिधर पराजुली
विराटनगर, जेठ २ गते । पश्चिम एसियामा बढ्दै गएको सैन्य तनाव र विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण विराटनगर नाका भएर हुने प्लास्टिकजन्य कच्चा पदार्थ (प्लास्टिक दाना) को आयात प्रभावित भएको छ ।
करिब तीन महिनादेखि पेट्रोलियम पदार्थसँग सम्बन्धित औद्योगिक कच्चा पदार्थको आयातमा समस्या देखिएपछि यहाँका प्लास्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्न थालेका हुन् ।
विराटनगर भन्सार कार्यालयको पछिल्लो छ महिनाको तथ्याङ्क अनुसार प्रमुख कच्चा पदार्थको आयात परिमाण र राजस्व सङ्कलनमा मिश्रित तर केही क्षेत्रमा ठुलो गिरावट देखिएको हो ।
भन्सारको तथ्याङ्क अनुसार गत वर्ष ८० लाख ६८ हजार केजी पोलिथिनको आयात भएकोमा यस वर्ष घटेर ७१ लाख ६२ हजार केजीमा सीमित भएको छ । यसका कारण उक्त शीर्षकबाट प्राप्त हुने कुल राजस्वमा तीन करोड ६३ लाख रुपियाँले कमी आएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।
त्यसै गरी इथिलिन अल्फा अर्थात् ओलेफिन कोपोलिमरको आयात ५३ लाख २६ हजार केजीबाट घटेर ५० लाख चार हजार केजीमा झरेको छ, जसले गर्दा राजस्वमा ९६ लाख ५६ हजार रुपियाँको नोक्सानी भएको छ । यद्यपि केही निश्चित प्रकारका पोलिथिनको आयातमा भने केही वृद्धि देखिएको छ, जसले कुल राजस्वको गिरावटलाई केही हदसम्म सन्तुलित गरेको छ । पश्चिम एसियामा जारी युद्धका कारण इन्धन र पेट्रोलियम पदार्थको मूल्य अस्थिर हुँदा त्यसको प्रत्यक्ष असर प्लास्टिकको दानामा परेको हो । पेट्रोलियम पदार्थको बाइप्रोडक्टका रूपमा निकालिने प्लास्टिक दानाको अन्तर्राष्ट्रिय बजारमै मूल्य आकासिएको छ ।
यसको व्यापारमा देखिएको अर्को नकारात्मक पक्ष भारतीय बजारका व्यापारीको नियतमा समस्या हुनु पनि रहेको उद्योगीले बताएका छन् । उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष राकेश सुरानाका अनुसार भारतमा कच्चा पदार्थ उपलब्ध भए तापनि त्यहाँका व्यापारीले कृत्रिम अभाव सिर्जना गरी बिक्री गर्न नमान्ने र मूल्यमा अस्वाभाविक वृद्धि गर्ने समस्या छ । “हामीले एकातिर युद्धका कारण समुद्रीमार्गबाट आउने सामानमा ढिलाइ भोगिरहेका छौँ भने अर्कोतिर भारतीय बजारमा व्यापारीको मनोमानीले उद्योग चलाउनै गाह्रो भएको छ,” सुरानाले भन्नुभयो । आयातको परिमाण घट्दा र वस्तुको सिआइएफ भ्यालुमा आएको उतारचढावले गर्दा भन्सार महसुल र मूल्य अभिवृद्धि कर सङ्कलनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । तथ्याङ्क अनुसार, आयन एक्सचेन्जर्स जस्ता साना परिमाणका वस्तुबाहेक मुख्य औद्योगिक कच्चा पदार्थको आयातमा आएको सङ्कुचनले समग्र भन्सार असुलीको लक्ष्यमा चुनौती थपिएको हो । यही अवस्था अझै केही महिना लम्बिएमा विराटनगर कोरिडोरका दर्जनौँ प्लास्टिक उद्योग बन्द हुने अवस्थामा पुग्न सक्ने उद्योगी सुरानाले बताउनुभयो ।