• २३ असार २०८१, आइतबार

माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब

blog

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ पक्षले माओवादी केन्द्रसँग एकता गर्न भट्टराईमाथि दबाब बढाउनुभएको हो ।

नेसपा केन्द्रीय समिति बैठक  मङ्सिर ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् । एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले चेतावनी दिने गरेको दाबी नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गर्नुभयो । अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उहाँले बताउनुभयो । 

पार्टीभित्र दबाब थेग्न नसकेपछि बाबुरामले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नियमित भेटघाट जारी राख्नुभएको छ । अध्यक्ष ‘प्रचण्ड’ पार्टी एकता गर्न लचिलो भए पनि बाबुरामले पार्टीको नाम, चुनाव चिह्न, वैचारिक पक्ष र पार्टीमा आफ्नो हैसियत सुनिश्चित गर्न खोजेकाले समझदारी बन्न सकेको छैन ।

आइतबार पार्टी एकतालाई तत्काल टुङ्गो लगाउन दबाब दिन माओवादी केन्द्रका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेसपा सहअध्यक्ष एवं वार्ता समितिका संयोजक श्रेष्ठले दुवै पक्षबाट पार्टी एकता संयोजन समिति गठन गरेर वैचारिक र नीतिगत विषय तत्काल टुङ्गो लगाउने समझदारी गर्नुभएको छ । महरा र श्रेष्ठले दुवैले हस्ताक्षर गरी एकता संयोजन समितिमार्फत पार्टी एकता गर्न पार्टीको नाम, विधान, सङ्गठनात्मक संरचना र चुनाव चिह्न टुङ्गो लगाउन सुझाउनुभएको छ ।

नेसपा सहअध्यक्ष श्रेष्ठले गत वर्षको चुनावमै पार्टी एकता गर्ने गरी एउटै चुनावमा लडे पनि विविध कारणले ढिला भएको स्वीकार गर्नुभयो । “हामीले पार्टी एकता गर्ने भनेरै एउटै चुनाव चिह्न लिएर लड्यौँ । यसबिचमा एकता सुस्ताएको जस्तो भयो,” उहाँले भन्नुभयो, “हाम्रो पार्टीको ६ र ७ गते बैठक बस्दै छ । त्यो बैठकमा एकताको विषय उठ्छ । त्यसपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ ।” उहाँले आफूहरू माओवादीसँग छिटोभन्दा छिटो एकता होस् भन्ने पक्षमा रहेको बताउनुभयो ।

सहअध्यक्ष श्रेष्ठले नेसपालाई समाजवादी मोर्चामा छुटाएपछि बिग्रेको सम्बन्ध एकता संयोजन समिति बनाउने अवस्थामा आएको बताउनुभयो । “समाजवादी मोर्चा बनाउँदा नेसपालाई समेटेको भए । एकता गर्न सजिलो हुन्थ्यो । त्यसबेला नेसपालाई छुटाएपछि वातावरण असहज जस्तो हुन पुग्यो,” उहाँले भन्नुभयो, “अब पार्टी एकता संयोजन समिति बनाएपछि सबै हल हुन्छ भन्ने वार्ता समितिको बुझाइ छ ।” 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बाबुराम नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने गरी नियमित छलछफल भइरहेको बताउनुभयो । उहाँले पार्टी एकता संयोजन समिति बनाएर क्रान्तिकारी कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने तयारी भइरहेको बताउनुभयो । 

“प्रधानमन्त्रीले आइतबार बिहान विप्लवसँग छलफल गर्नुभयो । बाबुराम सरसँग बेलुका छलफल गर्नुभयो । पार्टी एकता गर्न संयोजन समिति बनाएर जाने समझदारी भएको छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले बाबुराम सरलाई एकतामा छिटो आउनुप¥यो । ढिला गर्नु भएन भन्नुभयो । उहाँ (बाबुराम) ले पार्टी बैठकमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।” उहाँले बाबुराम नेतृत्वको नेसपा र विप्लव नेतृत्वको नेकपासँगको एकताले छिट्टै परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । 

एकता गर्न विप्लवसँग छलफलमा 

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पछिल्लो समय विप्लव समूहसमेत माओवादीसँग नजिकिएको बताउनुभयो । आइतबार रुकुमपूर्व पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले बाबुराम मात्रै नभएर विप्लवसँग समेत एकताका विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो । “विप्लवसँग आज (आइतबार) बिहान मात्रै छलफल भयो । 

बाबुरामसँग पनि निरन्तर संवाद भइरहेको छ,” उहाँले भन्नुभयो, “विगतको जस्तो विभाजित भएर नभई एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ ।” 

उहाँले पटक पटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराशा छाएको बताउनुभयो । प्रधानमन्त्री ‘प्रचण्ड’ ले माओवादी विभाजन भएपछि जनयुद्धमार्फत प्राप्त भएका उपलब्धि हराउँदो रहेछ भन्ने आफूलाई परेकाले एकताको विकल्प नभएको उल्लेख गर्नुभयो ।

  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।