• १ जेठ २०८२, बिहिबार

शान्तिपूर्वक ‘दुर्गा मूर्ती विसर्जन’ मेरो पहिलो सफलता

blog

मूर्ती विसर्जन कार्यका लागि सडकमै पुगेर व्यवस्थापनमा खटिनुभएका बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १० गते ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जिल्लामा आएको ११औं दिनमा शान्तिपूर्ण रुपमा ‘दुर्गा मूर्ती विसर्जन’ आफ्नो पहिलो सफलता भएको बताउनुभएको छ ।

प्रजिअ पोखरलले सामाजिक सञ्जाल फेसबुकमार्फत् भन्नुभएको छ, ‘‘बाँकेको धर्मराएको सद्भाव कायम गर्ने मेरो कठिन चुनौतिको एउटा परीक्षा ‘दुर्गा मूर्ती विसर्जन’ शान्तिपूर्वक वृहद् सद्भाव कायम गर्दै सम्पन्न हुन सकेकोमा सफल भएको अनुभूति गरेको छु ।’’

प्रजिअ पोखरेलले जिम्मेवारी सम्हालेको ११औं दिनको यो चुनौतिपूर्ण परीक्षाका लागि आफूले विभिन्न रणनीतिक योजनाहरु तयार गरी सफल कार्यान्वयन गरेको बताउनुभएको छ ।

सुरक्षा योजना निर्माण र कार्यान्वयन, अवैध घुसपैठ नियन्त्रणका लागि बोर्डर शील, उत्तेजक, अवान्छित हर्कत निरुत्साहित गर्न मदिरा निषेध, दुर्गा मूर्ती विसर्जनको समयसिमा निर्धारण, ७ वटा ड्रोनको प्रयोग गरी अनुगमन, थप जनशक्ति डिप्ल्योमेन्ट, संवेदनशील स्थानमा सवै सुरक्षा प्रमुखहरु स्वयम् कमाण्डर तथा धार्मिक गुरु÷अगुवासहितको सद्भाव समूह परिचालनलगायतका रणनीतिक योजनाहरु बनाएर सफल कार्यान्वयन हुन सकेको प्रजिअ पोखरेलले फेसबुकमार्फत् बताउनुभएको छ ।

प्रजिअ पोखरेलले दुर्गा मूर्ती विसर्जन शान्त, सौम्य, अनुशासित र मर्यादित ढङ्गबाट सम्पन्न गर्ने कार्यमा प्रत्यक्ष÷परोक्षरुपमा सहयोग पु¥याउने सम्पूर्ण बाँकेबासीहरुलाई आभारसहित कृतज्ञता समेत प्रकट गर्नुभएको छ ।

उच्च तहको सद्भावको जगलाई थप मजबुत तुल्याउन अहम् भूमिका निर्वाह गर्नुहुने सवै जाति, धर्म, संस्कृति र सम्प्रदाय तथा उच्च मनावेलका साथ जिम्मेवारीमा खटिएका सम्पूर्ण सुरक्षाकर्मीलाई समेत प्रजिअ पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

बाँके प्रशासनले सुरक्षा अवस्था मजबुत पार्नका लागि बुधवार एकदिनका लागि नेपाल–भारत सीमाक्षेत्रस्थित जमुनाहा नाका बन्द समेत गरेको थियो भने बिहान ८ बजेदेखि राति १२ बजेसम्मका लागि जिल्लाभरी नै मदिराजन्य पदार्थको विक्रीवितरण, ओसारपसार तथा उपभोग गर्नमा पूर्ण बन्देज लगाएको थियो ।

त्यसैगरी प्रशासनले नदीमा मूर्ती विसर्जनका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्येनजर गर्दै राप्ती नदीको अगैया घाट र सिधनिया घाटमा तालिम प्राप्त गोताखोरसहितको उद्दार टोली पनि तैनाथ राखेको थियो ।

केहिदिन अघि नेपालगन्जमा सामाजिक सद्भाव धुमिलिने किसिमले दुई पक्षबीच भएको झडपका कारण नेपालगन्जवासीहरुमा मूर्ती विसर्जनका क्रममा केही हुने हो कि भनेर त्रास रहेको थियो ।

बाँके प्रशासनले मूर्ती विसर्जन कार्य सफलताका साथ सम्पन्न गराएको भन्दै सर्वसाधारणहरुले प्रजिअ पोखरेलप्रति धन्यवाद प्रदानसमेत गरेका छन् ।