हिन्दु सभ्यताको मुख्य चाड बडादसैँ नेपालीहरूको घरआँगनमा आइसकेको छ । यो पर्व हिन्दुबाहेक अरू धर्मावलम्बीहरूले पनि उत्तिकै महìव दिने गरेका छन् । त्यसैले दसैँ पर्व एकताको पर्व पनि हो । यो पर्व हर्ष, उत्साह, र विजयको पर्व पनि हो । १९ औँ शताब्दीदेखि विश्वले सङ्ख्याले चिन्ने क्रिश्चियन र मुस्लिमपछिको तेस्रो प्रमुख धर्म हिन्दु हो । हिन्दु धर्म मात्र होइन, यो विश्वको एक सभ्यता पनि हो । सिन्धु नदीको सभ्यता नै हिन्दु सभ्यता भएको विभिन्न अध्ययनले देखाएको छ ।
कृषिको अजिविकीकरणसँगै गङ्गा नदी सभ्यताले कृषिको सघन विकास हुन पुग्यो । कृषि तथा पशुपालनको विकाससँगै गङ्गा नदीको किनारमा उत्पन्न भएको सभ्यता नै नेपाली सभ्यता हो । भारतको गङ्गा नदीदेखि उत्तरको कैलाश मानसरोवर हुँदै तिब्बत सिगात्से सम्मको क्षेत्रमा नेपाली सभ्यता फैलिएको इतिहास छ । यो सभ्यताको उद्गम बिन्दु अथवा केन्द्रबिन्दु नै वेद हो । विश्वको पहिलो सभ्यता नै इन्दस (सिन्धु) को वर्तमान आधारभूत पहिचान नै हिन्दु धर्म मानिएको छ ।
ऐतिहासिक, पौराणिक, सांस्कृतिक, साङ्गीतिक, भाषिक तथा सामाजिक दृष्टिकोणले उत्तरमा तिब्बत, पूर्वमा ब्रह्मपुत्र दक्षिणमा गङ्गा र पश्चिममा रावी नदीसम्मको भूभाग नेपाल थियो । कालान्तरमा राजनीतिक कारणले यी भूभाग चीन तथा भारततर्फ परे पनि मानव बन्धुत्व तथा भाइचाराको सम्बन्ध अझै सम्म पनि निरन्तर कायम छ । पानी ढलोसँगै मानव सभ्यता विकसित भएकाले होला माथिदेखि तलसम्म बसोबास गर्ने बासिन्दाका बिच धेरै कुरा अझै पनि मिलिरहेका छन् । त्यसैले नेपाल र नेपालको सभ्यता र संस्कृतिको अध्ययन गर्दा हिन्दु सभ्यता मानव सभ्यतानको महान् इँटा हो भन्न सकिन्छ ।
हिन्दु सम्भताको मूल ग्रन्थ वेद हो । सिन्धु सभ्यताको आधार, विश्वले चिनेको, नेपाल भारतलगायतका मुलुकमा सदियौँदेखि प्रयोगमा रहेको हिन्दु धर्म हो । हिन्दु धर्म तथा सभ्यता उत्पत्ति भएको क्षेत्र हिमालय पर्वत शृङ्खला मुन्तिरको क्षेत्र हो । सनातनदेखि चलिआएका जैन, बौद्ध, नाथ, शैव, वैष्णव, शाक्त, शिख, बोन, किरात आदि सबैको समन्वयकारी एकीकृत छाता सङ्गठनात्मक सोच नै हिन्दु सभ्यता हो भन्दा फरक नपर्ला । यो कुरालाई अरू सबै धर्मावलम्बीका गुरुहरूले पनि मान्दै आएका छन् । यी सबै पन्थको सार भनेकै अद्वेत वेदान्त तथा श्रीमद्भागवद्गीता हो । त्यसैले हिन्दु धर्म सबैको साझा धर्म हो भन्ने गरिन्छ ।
भूतकालको सत्व सृष्टिमा ब्रह्मा तथा सरस्वती, वर्तमानकालको रजस स्थितिमा विष्णु र लक्ष्मी, तथा भविष्यतकालको तमस प्रलयमा शिव र शक्तिको समग्रता नै यो ब्रह्माण्डको एक मात्र सास्वत सत्य हो । यही सास्वत सत्यको ज्ञान, कर्म र भक्ति योगको व्यावहारिक प्रयोजन नै सनातन हिन्दुुधर्म हो ।
विजया दशमी
विजया दशमी शरद्ऋतुको महान् पर्व हो । यो हिन्दु सभ्यताको एक दर्शन पनि हो । एकता, प्रेम र सहहृदयताको पर्व हो । लोभ, मोह, मद, मत्सर्य, आलस्य, भय, क्रोधमाथिको विजयको प्रतीकको रूपमा यो पर्वलाई लिइन्छ । सबै मनुष्य जातिको कल्याण गर्ने, खुसी प्रदान गर्ने शारदीय उत्सवको रूपमा पनि यो पर्वलाई लिने गरिन्छ । लोभ, मोह, मद, मात्सर्य, क्रोध, अहङ्कार, घृणा, भय, चिन्ता, आलस्यता आदि १० पाश (मार) हरू नै मानवका प्रमुख शत्रु हुुन् । बोको भनेको कामुकताको, भेडो भनेको अज्ञानताको, राँगो भनेको अहङ्कारको र हाँस, कुखुरा लोभमोहको प्रतीक मानिन्छन् । बोका, राँगा, भेडा, हाँस, कुखुरा आदिको होइन, आफूभित्र रहेका यस्ता दस प्रकारका निर्गुणको बलि दिनु पर्छ । मानवभित्र रहेका निगुण माथिको विजयको प्रतीक नै विजया दशमी भएकाले अबको समाजले पशु बलि नदिएर आफूभित्रको क्रोध, लोभ, अहङ्कारको बलि दिनु पर्छ, अर्थात् त्यस्ता कुराहरूलाई त्याग गर्नु पर्छ ।
प्रकृतिमा सुन्दरता भर्ने उज्यालो शरद् ऋतुमा जीवनको दुःख बिर्सेर आफ्नो मनभित्रको नकारात्मक गुणमाथि विजय गर्नु नै विजया दशमी तथा दसैँको महत्व हो । ‘दसहरा’ भन्नाले यिनै दस पाशहरूलाई हराउनु हो । यस्ता पाशहरू माथिको विजय प्राप्त गर्नु नै विजया दशमी हो ।
त्यसैले दसैँ हामी सबैको पवित्र पर्व हो । ऋगवेदमा नै यो शारदीय पर्वको परिचर्चा गरिएको छ । देवी भगवतीले सत्य युगमा, रामले त्रेतायुगमा, कृष्णले द्वापर युगमा, बुद्धले २६०० वर्षअघि, पद्मसम्भवले आठौँ शताब्दीमा र पृथ्वीनारायण शाहले १७ औँ शताब्दीमा एक एक गर्दै दसैँ वटा मार दहन गर्न सक्षम भएका थिए । आफ्नो मनलाई विजय गर्न सक्षम भएका थिए । यसरी नै दस वटै पाशबाट मुक्त हुने मन्त्र, विधि विधान तथा पुजा आराधनाको एकता अथवा समग्र स्वरूप नै दैविक शक्तिको, उत्साहको पर्व नै दसैँ हो । सबै मिलेर पिङ खेल्ने, चङ्गा उडाउने, मिठो
मसिनो बाँडेर खाने, आशीर्वाद लिने र दिने, नयाँ योजना निर्माण गर्ने, राम्रो र नयाँ कपडा फेर्नेलगायतका सामूहिकताको र नाता सम्बन्ध जोड्ने उमङ्गको चाड बडादशैँ हो । त्यसैले बडादसैँको उत्सर्ग नै विजया दशमी हो ।
निष्कर्षमा भन्नु पर्दा दसैँ हिमालय क्षेत्र (हिमवत् खण्ड) सम्पूर्ण बासिन्दाको एकाकार हुने आधार हो । राजनीतिक सीमाभित्र र बाहिर रहेका सबै नेपालीको साझा पर्व नै बडादसैँ भएकाले सम्पूर्ण मानवजातिको उन्नति, प्रगतिको प्रतीकको पर्व पनि हो भन्न पनि सकिन्छ ।