• २८ वैशाख २०८३, सोमबार

भारतीय निर्वाचनमा वामपन्थी

blog

अहिले भारतको कुनै पनि राज्यमा कम्युनिस्ट शासन छैन । सन् २०२६ को विधान सभा चुनावमा कम्युनिस्ट सरकार रहेको केरलामा भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी पराजित भएसँगै यो अवस्था आएको हो । यसलाई स्वतन्त्रतापछि भारतको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रूपमा लिइएको छ । भारतमा कम्युनिस्टरू सत्तामा आउने सम्भावनामा पूर्णविराम लागेको अवस्थाका रूपमा पनि यस घटनालाई चित्रण गर्न थालिएको छ । 

चुनावअघिसम्म सत्तारूढ भारतीय कम्युनिस्ट पार्टी (भाकपा) माक्र्सवादी केरलामा प्रमुख प्रतिपक्षी बनेको थियो । कुनै बेला भारतमा वामपन्थीहरूको उर्वर भूमि मानिएको पश्चिम बङ्गालको विधान सभा चुनावमा एक सिट मात्र जितेको छ कम्युनिस्ट पार्टीले । भारत स्वतन्त्र भएपछि कम्युनिस्टहरू कतिपय राज्यमा कङ्ग्रेस आईको प्रमुख प्रतिद्वन्द्वी नै बनेका थिए । सन् १९५१ को चुनावपछि कम्युनिस्टहरूको सम्मानजनक सिट हासिल हुँदै आएको थियो । सन् १९७७ मा पश्चिम बङ्गालको विधान सभामा जित हासिल गर्दै कम्युनिस्ट पार्टीको शासन चल्यो । ३४ वर्षसम्म कम्युनिस्टहरूलाई पश्चिम बङ्गालमा कसैले हल्लाउन सकेन । सन् २०११ को चुनावमा तृणमूल कङ्ग्रेसबाट भारतीय कम्युनिस्ट पार्टी पराजित भएपछि पश्चिम बङ्गालमा कम्युनिस्ट युगको अन्त्य भयो । उनीहरू यति छिटो झर्दै गए कि लोक सभाको त के कुरा विधान सभा चुनावमा समेत बिउ जोगाउन सङ्घर्ष गर्न थाले । सन् २०२६ मा एक जना कम्युनिस्ट उम्मेदवारले सङ्घर्षपूर्ण जित हासिल गरेका छन् । 

पश्चिम बङ्गाल जस्तै त्रिपुरा राज्य कम्युनिस्टहरूको पकडक्षेत्र मानिन्थ्यो । यहाँ सन् १९७८ देखि पाँच वर्षबाहेक सन् २०१८ सम्म कम्युनिस्टहरूले कुल ३५ वर्ष शासन गरे । केरलामा कम्युनिस्टहरूले ४३ वर्ष शासन गरे । सन् १९५७ यता पटक पटक विधान सभामा बहुमत ल्याई शासनमा रहे । शासनमा नरहे पनि प्रमुख प्रतिपक्षी बनिरहे । सन् २०२६ मा कम्युनिस्ट शासन अन्त्य भएको राज्य केरला पनि हुन पुगेको छ । कम्युनिस्टप्रति भारतभर विकर्षणको प्रभावको असरले अब उनीहरू फेरि सत्तामा आउने सम्भावनाको ढोका बन्द भएको देखिन्छ । 

पश्चिम बङ्गालको असर

भारतमा कम्युनिस्टको उर्वर भूमि थियो– पश्चिम बङ्गाल । रुसको अक्टोबर क्रान्तिको असर भारतमा समेत परेको थियो । भारतमा सन् १९२० को दशकमा कम्युनिस्ट विचारले जरा गाड्न थाल्यो । विशेष गरी पश्चिम बङ्गालमा कम्युनिस्टहरू सङ्गठन बनाउँदै गए । भारतभर मात्र नभई नेपाललगायत छिमेकी देशहरूमा पनि पश्चिम बङ्गालबाट कम्युनिस्ट विचार फैलिएको थियो । हाल नेपालका कम्युनिस्टको मूल जरो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना पनि बङ्गालमा भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा कोलकातामा नेकपा स्थापना  भएको थियो । यसबाट पनि नेपालमा कम्युनिस्ट विचार बङ्गालको कम्युनिस्ट राजनीति हुँदै भित्रिएको देखिन्छ । स्वतन्त्रताअघि नै कम्युनिस्टहरू जरा फैलाउँदै थिए भारतमा । स्वतन्त्रतापछि कतिपय कम्युनिस्ट घटकहरू चुनावमा पनि सहभागी हुन थाले । 

भारत स्वतन्त्र भएपछिको पहिलो चुनावमै पश्चिम बङ्गालमा कम्युनिस्टहरू बलियो अवस्थामा थिए । सन् १९५१ र ५२ बिच भएको लोक सभा चुनावमा पश्चिम बङ्गालमा कम्युनिस्ट पार्टीले पाँच सिट जित्दै दोस्रो स्थान बनाएको थियो । उनीहरूले सिट सङ्ख्या बढाउँदै लगे । सन् १९७१ मा लोक सभामा २० सिट जित्दै पश्चिम बङ्गालमा कङ्ग्रेस आईलाई उछिन्न सफल भए । सन् २००४ सम्म पश्चिम बङ्गालमा कम्युनिस्टहरू बलियो रहे । भाकपा माक्र्सवादीले २६ र भारतीय कम्युनिस्ट पार्टीले लोक सभामा तीन सिट जितेका थिए तर सन् २०११ को विधान सभा चुनावपछि कम्युनिस्ट पार्टी ओरालो लाग्न थाल्यो । तृणमूल कङ्ग्रेस पश्चिम बङ्गालको सत्तामा उक्लियो । कम्युनिस्ट पार्टी सत्ताबाट हटेन मात्र, चुनावमा तेस्रो स्थानमा झ¥यो । 

सन् २०१४ मा कम्युनिस्ट पार्टीले पश्चिम बङ्गालमा लोक सभामा दुई सिट ल्याउँदा भाजपाले पनि दुई सिट ल्यायो तर सन् २०१९ को चुनावमा कम्युनिस्टहरू शून्य भए । भाजपाले १८ सिट जित्यो । सन् २०२४ मा पनि कम्युनिस्ट पार्टी शून्य भयो । भाजपाले १२ सिट जित्यो । सिट सङ्ख्या बढाउँदै लगेर १९६९ मा कम्युनिस्ट पार्टी सत्तामा पुगेर ३४ वर्षको शासन सन् २०११ मा अन्त्य मात्र भएन, अहिले बिउ जोगाउनै झन्डै मुस्किल भयो । सन् १९७७ देखि २०११ सम्म भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीको एकल बहुमत रह्यो पश्चिम बङ्गालमा । सन् १९८७ मा त दुई तिहाइ सिट जितेको थियो । सन् २०२१ मा शून्यमा झर्न पुग्यो । त्यसको ठिकविपरीत सन् २०१६ को विधान सभा चुनावमा तीन सिट जितेको भाजपा सन् २०२१ मा ७७ सिटका साथ दोस्रो दल बन्न सक्यो । सन् २०२६ मा पश्चिम बङ्गलाको विधान सभा चुनावमा भाजपाले २०७ सिट जित्दा कम्युनिस्ट पार्टीले एक सिट मात्र जित्यो । मोहम्मद मोस्तफाजुर रहमानले दोमकल क्षेत्रबाट जिते । उनले कम्युनिस्ट पार्टीको बिउ जोगाए । 

कम्युनिस्ट अस्तित्व

भारतमा कम्युनिस्टहरू अस्तित्वका लागि सङ्घर्षरत छन् । कुनैबेला कतिपय राज्यमा उनीहरू सत्तामा थिए । विद्यार्थी राजनीतिमा उनीहरू ठुला विश्वविद्यालयमा समेत हाबी देखिन्थे । त्यसमा बिस्तारै पहिरो गइरह्यो । कम्युनिस्टहरूको पतन यसरी भयो कि उनीहरू भारतको स्वतन्त्रताको ७० वर्षपछि अस्तित्व रक्षाका लागि मरिमेट्नुपर्ने अवस्थामा पुगे । लोक सभाको ५५४ सिटमा उनीहरूको आठ सिट मात्र छ । त्यो सिट तीन वटा कम्युनिस्ट घटक जोड्दाको हो । उनीहरूले तामिलनाडुबाट चार, विहारबाट दुई र केरला र राजस्थानबाट एक एक सिट जितेका थिए । कङ्ग्रेस आई नेतृत्वको प्रतिपक्षीहरूसँग गठबन्धन बनाएर चुनाव लड्दा यो सङ्ख्याको सिट जितेका हुन् । 

भारतमा पश्चिम बङ्गाल, केरला, तामिलनाडु, आसामलगायत राज्यहरूमा भएको विधान सभा चुनावको नतिजाले कम्युनिस्ट पार्टीहरू निकै कमजोर अवस्थामा पुगेको देखाउँछ । भारतमा कम्युनिस्टहरू कमजोर हुँदै जानुमा बोल्ने एउटा गर्ने अर्को भएर पनि हो । उनीहरूले शासन गरेका राज्यमा गरिबी र बेरोजगारी झन् बढ्यो । स्वर्ग जस्तै समाजको परिकल्पना गर्ने तर नर्कको हालतमा पु¥याउने शैली देखियो । बेथिति र विसङ्गति पनि कम्युनिस्ट शासनमा चुलियो । कम्युनिस्ट पार्टीबाट केरलाका मुख्यमन्त्री बनेका पिनारायी विजयन र उनको परिवार ठुलो भ्रष्टाचारमा मुछिए । आर्थिक अनियमितताका अलावा सहकारी बैङ्कहरूको अनियमितता प्रकरणले कम्युनिस्ट सरकार बदनाम भयो । पश्चिम बङ्गालमा ज्योति बसु र बुद्धदेव भट्टाचार्य जस्ता हस्ती कम्युनिस्ट नेताले सत्ता चलाएका थिए । बसुलाई भारतको प्रथम कम्युनिस्ट प्रधानमन्त्री बन्ने अवसर आएको थियो सन् १९९६ मा । त्यतिबेला युनाइटेड फ्रन्ट गठबन्धनले बसुलाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेको थियो तर उनको दल भाकपा माक्र्सवादीले सरकारको नेतृत्व नगर्ने निर्णय लियो । यो घटनालाई ज्योति बसुले ऐतिहासिक भूल भने । उनले भने जस्तै भयो । कम्युनिस्टहरू पश्चिम बङ्गालबाट पतनको मार्गमा पुगे । 

विश्वमै कम्युनिस्ट युगको अन्त्य हुँदै गएको छ । यसको असर भारतको कम्युनिस्ट राजनीतिमा प्रत्यक्ष देखिँदै छ । सोभियत सङ्घको विघटनपछि रुस र पूर्वी सोभियत देशहरूमा कम्युनिस्टको पतन भयो । त्यसको असर भारतमा पनि परेको देखिन्छ । विश्व व्यवस्थामा आएको फेरबदल, पुँजीवादको उत्कर्ष, नयाँ पुस्तामा कम्युनिस्ट सिद्धान्तप्रतिको विकर्षणले पनि कम्युनिस्टहरूको अस्तित्वको लडाइँमा सीमित हुँदै गएका छन् । कम्युनिस्ट कार्यकर्ताको कठिन जीवनयापन र नेताहरूको विलासी जीवनशैली छताछुल्ल हुन थालेपछि पार्टीप्रति नै अविश्वास बढ्न पुग्यो, जसका कारण चुनावी मैदानमा कम्युनिस्टहरू बिउ जोगाउने सङ्घर्षमा सीमित हुन थाले । 

नेपालमा असर 

नेपालमा कम्युनिस्ट पार्टी स्थापनामा पश्चिम बङ्गालको कम्युनिस्ट राजनीतिको प्रत्यक्ष असर छ । दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूबिच गहिरो सम्बन्ध छ । नेपालमा कम्युनिस्टहरू तब तब बलिया देखिएका छन्, जब जब भारतमा कम्युनिस्टहरूको सत्तामा बलियो प्रभाव रहने गरेको थियो । भारतमा कम्युनिस्टहरूको सत्तामा बलियो पहुँच हुँदा गणतन्त्र र धर्मनिरपेक्षको उद्देश्य बोकेको तत्कालीन सशस्त्र विद्रोही माओवादीले फस्टाउने मौका पाएका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले)सहित सात दलको विद्रोही माओवादीसँग १२ बुँदे समझदारी हुँदा भारतका वामपन्थी नेताहरूको भूमिका देखिएको थियो । भाकपा माक्र्सवादीका नेता सीताराम यचुरीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा मुख्य भूमिका खेलेका थिए । यचुरी भाकपा माक्र्सवादीका महासचिवसमेत बने । अहिले भारतको सत्तामा कम्युनिस्टहरूको पहुँच र प्रभाव रहेन । यसको असर नेपालसम्म परिरहेको छ । 

नेपालमा पश्चिम बङ्गालकै शैलीमा कम्युनिस्टहरू उभिएका छन् । जेनजी विद्रोहले कम्युनिस्ट नेता केपी शर्मा ओलीको सत्ता ढाल्यो । २०८२ फागुनमा भएको प्रतिनिधि सभा चुनावले कम्युनिस्टहरू २०४८ सालको चुनावयताकै कमजोर हालतमा पुगे । कुनै बेला दुई तिहाइ सिट जितेका कम्युनिस्ट अहिले तेस्रो र चौथो स्थानमा झरेका छन् । नयाँ पुस्तामाझ कम्युनिस्ट पार्टीहरू अलोकप्रिय छन् । यही गतिमा नेपालको राजनीति बढिरहे नेपालमा पनि भारतमा जस्तै कम्युनिस्टहरू अस्तित्वको लडाइँमा सीमित हुनुपर्ने छ । 

   

लेखक बाट थप