अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख २८ गते । मगरहरुको जनसंख्या उल्लेख्य रहेको हिमाली जिल्ला म्याग्दीको एक स्थानीयतहले मगर खाम भाषा पठनपाठन गराउनका लागि प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले बेनीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब समेत प्रकाशन गरेको समाजले आइतबारदेखि सात दिने प्रशिक्षण सुरु गरेको हो ।
रघुगंगा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी स्वरुप भाषा तालिम थालिएको हो । गाउँपालिका भित्र मगर समुदायको बाहुल्य रहेका १५ विद्यालयमा शैक्षिक सत्र २०८३ देखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खाम भाषाको पाठ्यपुस्तक पठनपाठन तयारी गरिएको हो ।
एक सातासम्म सञ्चालन हुने तालिममा रघुगंगा गाउँपालिकामा रहेका १५ विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले खाम भाषासम्बन्धी प्रशिक्षण दिनुहुने पुन मगर समाज रघुगंगाका अध्यक्ष टिका पुर्जा पुन मगरले जानकारी दिनुभयो । खाम भाषा लोप भएर जाने अवस्थामा पुगेकोले संरक्षण, पुनरुत्थान र पुस्तान्तरणको लागि विद्यालयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
भाषा प्रशिक्षणको उद्घाटनमा रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मगर खाम भाषाको किताब समेत बिमोचन गर्नुभएको थियो । रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीले मातृभाषामा अध्ययन गर्न पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै मगर बाहुल्य बसोबास रहेका बस्तीमा स्थानीय पाठ्यक्रममा मगर खाम भाषासम्बन्धी पढाई हुने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजाले मालिका गाउँपालिकामा गत वर्ष खाम भाषा तालिम प्रदान गरिएको र यस वर्षदेखि मगर खाम भाषालाई स्थानीय पाठ्यक्रममार्फत पठनपाठन गराउने तयारी गरिएको बताउनुभयो । वर्षौदेखि हराएर जाने अवस्थामा पुगेको खाम भाषालाई संरक्षण गर्नका लागि विद्यालयमा पठनपाठन गराउनुका साथै प्रविधियुक्त प्रचार सामग्री बनाएर समेत अगाडी बढ्ने योजना बनाइएको उहाँले बताउनुभयो ।
नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर पुन मगरले संघीय र प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐनहरु पारित गरिसकेकाले स्थानीय तहहरुले स्थानीय भाषामा पाठ्यक्रम तयार गरी लागु गर्नुपर्ने बताउनुभयो ।