शेरबहादुर सार्की
बाजुरा, वैशाख २८ गते । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–९ डप्कस्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा दलित जनजाति आवासीय विद्यालयलाई नयाँ विद्यार्थी भर्नामा सकस भएको छ ।
गरिब, दलित तथा जनजाति समुदायका बालबालिकाका लागि विद्यालयले खान–बस्नको राम्रो व्यवस्था गर्नुका साथै पठनपाठनको गुणस्तर सुधार गर्दै आएपछि अहिले विभिन्न ठाउँबाट नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ ।
कोटा सीमित हुनु र बाहिरी क्षेत्रबाट पनि धेरै विद्यार्थी भर्नाका लागि आउन थालेपछि विद्यालयलाई शैक्षिक सत्र २०८३ को नयाँ भर्ना व्यवस्थापनमा कठिनाइ भएको हो ।
विद्यालयका अनुसार कक्षा कोठा सीमित हुँदा यस वर्ष सबै इच्छुक विद्यार्थीलाई भर्ना गर्न समस्या भइरहेको छ । बुढीनन्दा नगरपालिका–७ का स्थानीय गम्भीर लुहार ले यस वर्ष आफ्ना बालबालिकालाई सिद्धेश्वरी विद्यालयमा भर्ना गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा धेरै विद्यालय छन्, तर त्यहाँ पढाइ राम्रो छैन । गुणस्तरीय शिक्षा नहुँदा बालबालिकाको भविष्य बिग्रिन्छ ।” बालबालिकाको भविष्य सुधारका लागि सिद्धेश्वरी विद्यालयले राम्रो शिक्षा प्रदान गर्दै आएकाले आफ्ना छोरा–छोरीलाई त्यहीँ भर्ना गर्न लागेको उहाँले बताउनुभयो ।
सिद्धेश्वरी जिल्लाकै एकमात्र आवासीय विद्यालय हो । यहाँ हिमाली, स्वामीकार्तिक, जगन्नाथ तथा बुढीनन्दा लगायत विभिन्न ठाउँबाट बालबालिका अध्ययनका लागि आउने गर्छन् ।
विद्यालयले विशेषगरी गरिब, दलित, अपाङ्ग, असहाय, विपन्न तथा जनजाति समुदायका बालबालिकालाई विद्यालयमै राखेर अध्ययन गराउने गरेको छ ।
दुर्गम क्षेत्रमा अवस्थित भए पनि विद्यालयले पछिल्लो समय शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार गर्दै आएको छ । हिउँदमा अत्यधिक चिसो हुने भए पनि विद्यालयले तातो व्यवस्थासहित पठनपाठनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङ ले बालबालिकाको भविष्य उज्ज्वल बनाउन विद्यालयको भौतिक, शैक्षिक तथा सामाजिक वातावरण सुधार गर्न निरन्तर काम भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले हामीलाई विद्यार्थी कहाँबाट ल्याएर भर्ना गर्ने भन्ने चिन्ता हुन्थ्यो । अहिले विद्यालयको वातावरणमा सुधार आएपछि आएका विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भएको छ ।”
पछिल्लो समय विद्यालयमा खान, बस्न र अध्ययनको राम्रो व्यवस्था भएपछि अधिकांश अभिभावकको रोजाइमा यो विद्यालय पर्न थालेको उहाँले बताउनुभयो । प्रधानाध्यापक तुलाबहादुर थापाले अघिल्लो वर्षको तुलनामा यस वर्ष नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । गत वर्ष करिब २०० विद्यार्थी भर्ना भएका थिए, जसमध्ये ६३ जनालाई आवासीय रूपमा राखेर पढाइएको थियो । वैशाख १५ गतेदेखि नयाँ भर्ना प्रक्रिया सुरु गरिएको र यस वर्ष अझ बढी विद्यार्थी भर्ना हुने सम्भावना रहेको प्रधानाध्यापक थापाले बताउनुभयो ।