• २८ पुस २०८१, आइतबार

‘लर्न एन्ड अर्न’ कार्यक्रम निर्णय हुन बाँकी

blog

काठमाडौँ, असोज २७ गते । विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरिसकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न भने बाँकी नै छ ।

इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह हमासले गत शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए भने अहिलेसम्म एक जना बेपत्ता छन् । यस वर्ष एकै पटक २६५ जना विद्यार्थीलाई सो कार्यक्रममा पठाइएको थियो । 

कृषि तथा वन विश्वविद्यालयका रजिस्ट्रार प्राडा शारदा थपलियाले आगामी दिनमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा पठाउन नहुने बताउनुभयो । “इजरायल गएका विद्यार्थी भर्खर फर्किएका छन् । अब उनीहरूलाई नपठाउने भनेर औपचारिक रूपमा कुनै निर्णय गरेका छैनौँ,” उहाँले भन्नुभयो, “अब विद्यार्थीलाई इजरायल पठाउन हुँदैन ।” 

गत वर्ष पहिलो पटक नमुनाका रूपमा तीन जना नेपाली विद्यार्थीलाई इजरायल पठाइएको थियो । त्रिभुवन विश्वविद्यालयबाट एक जना र कृषि तथा वन विश्वविद्यालयबाट दुई जना विद्यार्थी सहभागी थिए । कृषिमा स्नातक अध्ययनरत विद्यार्थीलाई सिक्न र कमाउन फलदायी हुने भएपछि यस वर्ष एकै पटक २६५ जनालाई त्यहाँ पठाइएको थियो ।

कृषिमा स्नातक अध्ययनरत विद्यार्थीलाई यो कार्यक्रम अन्तर्गत ११ महिनाका लागि पठाइएको थियो । अब ती विद्यार्थीको प्रयोगात्मक परीक्षा के गर्ने भन्ने विषयमा विश्वविद्यालयले छिट्टै निर्णय गर्ने भएको छ । कृषि तथा वन विश्वविद्यालयबाट यो वर्ष ११३ जना इजरायल गएका थिए । 

यस्तै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा अमरराज जोशीले पहिलो पटक ४९ जना विद्यार्थी इजरायल गएकोमा ३५ जना मात्रै फर्किएको बताउनुभयो । उहाँले विपत्को अवस्था भएकाले अहिले आगामी दिन इजरायलको यो कार्यक्रममा पठाउने वा नपठाउने भन्ने सम्बन्धमा सोच्न नसकिएको बताउनुभयो । 

उहाँले नेपालमा विद्यार्थीलाई सिक्नलायक नमुना कृषिफर्म नभएकाले इजरायल पठाउनु परेको बताउनुभयो । “हाम्रो देशमा कृषि फर्ममा लगानी हुँदैन । हामीकहाँ विद्यार्थीलाई सिकाउने कृषि फर्म नै छैनन् । कहाँबाट फर्ममा लगेर सिकाउन सक्नु ? त्यो अवस्था नै भएन,” उहाँले भन्नुभयो, “इजरायलमा कृषिका राम्रा नमुना फर्म छन् । विद्यार्थीले हेर्ने, सिक्ने र केही कमाइ गर्छन् भन्ने लाग्यो र पठायौँ । यस्तो दुर्भाग्य बेहोर्नु प¥यो ।” इजरायल गएका विद्यार्थीसँग ११ महिना सिक्दै कमाउँदै प्रोजेक्ट तयार गरेपछि स्नातक डिग्री दिने सम्झौता गरिएको थियो । 

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा शिवलाल भुसालले इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा आगामी दिन के गर्ने भन्ने सम्बन्धमा विश्वविद्यालय र विद्यार्थीको निर्णयमा भरपर्ने बताउनुभयो । “हामीले पोहोर साल एक जना र यो पटक ९९ जना पठाएका थियौँ । सबै विद्यार्थी आइपुगेका छन्,” उहाँले भन्नुभयो, “अब दसैँ मान्छन् । इजरायलको परिस्थिति कस्तो हुन्छ ? इजरायलको स्थिति सामान्य भए विश्वविद्यालय र विद्यार्थी कन्भिन्स भएमा जान्छन्, नभए जाँदैनन् ।” उहाँले इजरायलको पछिल्लो घटना क्रमले अगामी दिन विद्यार्थी पठाउन गाह्रो हुने देखिएको बताउनुभयो । इजरायलमा बस्न असुरक्षित भएपछि विद्यार्थीको आग्रहमा सरकारले शुक्रबार २५४ जना विद्यार्थी स्वदेश फर्काएको हो । इजरायलबाट उद्धार भएकी सिराहाकी शोभा पासवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू बाँचेर फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “साथीहरू गुमाउँदा निकै पीडा भएको छ । हामी बाँच्यौँ, त्यो एक ठाउँमा छ, त्यसमा खुसी छौँ । हामीलाई सरकारले बेलैमा उद्धार ग¥यो । यस कामका लागि सरकारलाई धेरै धेरै धन्यवाद ।”

उहाँले इजरायलमा हमला भएपछि तीन दिनसम्म आफूहरू बङ्करमा बसेपछि १८ जनालाई उद्धार गरिएको बताउनुभयो । उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “डरमर्दो अवस्थामा हामी तीन दिन बङ्करमा बस्यौँ । खाना २४ घण्टामा एक पटक पाएका थियौँ । अहिले उद्धारपछि सकुशल नेपाल टेक्न पाउँदा निकै खुसी लाग्यो ।” इजरायलबाट फर्किएका अधिकांश विद्यार्थीले खुसी व्यक्त गर्दै इजरायलको कहालीलाग्दो अवस्थालाई कसैले सम्झिन चाहेनन् । 

इजरायलका लागि नेपाली दूतावासका अनुसार नेपाल फर्किन चाहनेको सङ्ख्या बढिरहेको छ । यसरी फर्किन निवेदन दिनेमा श्रमका लागि गएकाहरू छन् । उनीहरूलाई समेत क्रमशः स्वदेश फर्काउने तयारी गरिएको छ ।

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।