काठमाडौँ, असोज १४ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चिन भ्रमणपछि दुई देशका बिचमा थप विश्वासको वातावरण सिर्जना भएको बताउनुभएको छ ।
उहाँले आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको चिन भ्रमणले दुई देशका बिचमा विश्वासको वातावरण थप गरेको बताउनुभएको हो । लेखकले प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भएको टिप्पणी गर्नुभयो । उहाँले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै सोही आधारमा छलफल हुन सकेको बताउनुभयो । बैठकले समान्तरमा विश्वासको वातावरण निर्माण गरेको भन्दै बैठक कूटनीतिक रूपमा सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीजी आफैँ पनि बोलिसक्नु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको उहाँको प्रस्तुतिका कुराले पनि उहाँले आफ्नै शब्दमा भनिहाल्नु भयो, नेपाल देखिने र बुझिने गरेर म प्रस्तुत भएको छु र नेपाललाई चिनिने गरेर प्रस्तुत भएको छु भन्नुभएको छ । र त्यो भएको छ । त्यसरी नै छिमेकी राष्ट्र चीनको भ्रमण पनि उत्साहजनक छ । दुई देशका बिचमा थप विश्वासको वातावरण सिर्जना भएको छ । हमेसा मगन्तेको जस्तो कुरा गर्नु हुँदैन । विदेश भ्रमणमा गएर कुन ठाउँबाट के ल्याएर आयो भन्नुभन्दा पनि यो त राष्ट्र हो नि । अर्को देश जाँदा पहिलो कुरा के हो भने हामीले हाम्रो राष्ट्रिय स्वाभिमानलाई जोगाएर, राष्ट्रिय स्वाभिमानको आधारमा छलफल गर्न सक्यौँ कि सकेनौँ ? अर्को, विश्वासको वातावरण बनाउन सक्यौँ कि सकेनौँ ? त्यो दुईवटै कुरा भएको छ । जहाँसम्म सडक बनाउने, ट्रान्समिसन लाइन बनाउने, पुल बनाउने, खानेपानी बनाउने कुराहरू होलान् ती विकास निर्माणसँग जोडिएका कुराहरू हुँदै गर्छन् । सबैभन्दा पहिला कूटनीतिको सफलता भनेको समान स्तरमा विश्वासको वातावरण निर्माण गर्ने कुरा हो । त्यो भएको छ ।’
प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, प्रधानमन्त्रीले विदेश भ्रमणबाट के ल्यायो भनेर मगन्तेको जस्तो कुरा गर्नु नहुने बताउनुभयो ।