बिपी राजमार्ग र मध्य पहाडी राजमार्गले छोएकाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका विकासको राम्रो सम्भावना भएको स्थानीय तह हो । सात वटा वडा रहेको यो गाउँपालिकाको अध्यक्षमा २०७९ साल वैशाखमा भएको स्थानीय निर्वाचनबाट नेकपा (एमाले) का तर्फबाट शङ्करराज बराल निर्वाचित हुनुभएको छ । गोलन्जोर गाउँपालिकाको विकास गतिविधिबारे अध्यक्ष बरालसँग गोरखापत्रका बाबुराम देवकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईं स्थानीय तहको अध्यक्षमा निर्वाचित भएको डेढ वर्ष भइसकेको छ । यो अवधिमा के कस्ता काम भए ?
नियमित रूपमा जनतालाई दिने सेवा र सहुलियतका काम अगाडि बढिरहेका छन् । त्यसमा सुशासनको पक्षमा ध्यान दिई केही कदम अगाडि बढाएका छौँ । खासगरी गोलन्जोरवासीलाई गाउँपालिकासम्म आउन नपर्ने र वडास्तरबाट दिनुपर्ने सेवा वडास्तरमै दिइएको छ । योजना सम्झौता, पशु सेवा, कृषि सेवा वडास्तरबाटै सञ्चालन गरेका छौँ । त्यसै गरी निर्माणको क्षेत्रमा हामीले चालु आर्थिक वर्षका लागि गत आव नै आवश्यक तयारी ग-यौँ र चालु आव हामी स्वास्थ्य, खानेपानी र शैक्षिक क्षेत्रमा आवश्यकपर्ने भवन निर्माण आगामी मङ्सिरदेखि धमाधम सुरु गर्दै छौँ । दिगो विकासका रूपमा हामीलाई सडक पूर्वाधारको गुरुयोजना बनाएका छौँ । त्यसका लागि धेरै बजेटको आवश्यकपर्ने भएकाले सङ्घ र प्रदेशमा पहल गरिरहेका छौँ ।
गाउँपालिकाभित्रका मुख्य मुख्य समस्या के के छन् ?
गाउँपालिकाभित्र अत्यन्त दुर्गम, लेकबेँसी खालको भूगोल भएको हुनाले हरेक खालको समस्या छन् । जनतालाई अत्यन्त नजिकबाट छुने, सुविधा पु-याउन सक्ने भनेको यातायात क्षेत्रमा सडक नै हो । विद्यालयमा आवश्यक दरबन्दी नहुनु, आवश्यक भवन नहुनु, कृषि क्षेत्रमा आवश्यकपर्ने प्रविधि दिन नसक्नु नै यहाँका समस्या हुन् । यी अभावको अवस्थामा हामीले हुन सक्ने, गर्न सक्ने प्रयत्न गरिरहेका छौँ ।
गाउँपालिकाको ती समस्या समाधानका लागि के कस्ता योजना बनाउनुभएको छ ?
पूर्वाधार क्षेत्रमा योजना बनेका छन् । मङ्सिरदेखि निर्माणको चरण सुरु हुन्छ । कृषि क्षेत्रमा केही पहल सुरु भएका छन् । किसानको उत्पादनलाई सहज रूपमा बजारमा पु-याउन कृषि एम्बुलेन्सको व्यवस्था गरेका छौँ । यो साल ३०-३५ वटा हाते ट्याक्टर खरिद गरी किसानलाई उपलब्ध गराउने योजना छ । गोलन्जोरको पहिचान बोकेको जुनार सुन्तलामा नयाँ नयाँ रोग आइरहेको छ । त्यसका लागि गाउँपालिकाले औषधीको व्यवस्था गरेको छ । किसानलाई प्रोत्साहित गर्न उत्पादन गरेबापत केही अनुदानको व्यवस्था यसै सालदेखि सुरु गरेका छौँ ।
गाउँपालिकाले दिने सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन र सुशासनको प्रत्याभूति दिन के गरी काम गरिरहनुभएको छ ?
गोलन्जोर गाउँपालिकामा सेवा सञ्चालन गर्न धेरै कठिन छ किनभने कर्मचारी र प्रशासकीय अधिकृत नअडिने, नबस्ने समस्या छ । स्थानीय तहमा राजनीति त गर्ने होइन तर पनि राजनीति हुन्छ । सुशासन दिने, जनताले चाहे अनुसारको सेवाप्रवाह गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक पर्छ । मैले अहिलेसम्म सहयोग पाएको छैन । आवश्यक सेवाप्रवाह गर्ने विषयमा चुनौती रहेको छ ।
गोलन्जोर गाउँपालिका भन्नेबित्तिकै जुनार क्षेत्रको पर्यायवाची नाम हो ? त्यस क्षेत्रमा पर्यटक भिœयाउन के कस्ता काम भएका छन् ?
हरेक क्षेत्रमा विकास गर्न पहिलो सर्त नै सडक रहेछ । हाम्रो जिल्लामा जुनार सुन्तला उत्पादन गर्ने मुख्य ठाउँ भनेको वडा नं. ४, तीन कन्या हो । तीन कन्यामा पुग्नका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माण हुन सकेको छैन । गाउँपालिकाको पहलमा मात्रै उक्त सडक निर्माण गर्न सम्भव नहुँदो रहेछ किनभने सडक भन्नेबित्तिकै खर्चिलो हुने भएकाले सम्पूर्ण काम एकातिर छाडेर सडक मात्रै निर्माण गर्न गाउँपालिकाको बजेटले पुग्दैन । त्यसैले यो काम स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर गर्नुपर्ने हो तर पनि हाम्रो पहल भई सम्बन्धित पक्षले सुनुवाइ गरेको अवस्था छैन ।
सामाजिक सुरक्षाभत्ता लिन लाभग्राहीले धेरै सास्ती खेप्नु परेको गुनासो सुनिन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
वित्तीय संस्था, बैङ्कले आलटाल गर्ने, नटेर्ने, कर्मचारीको समस्या जस्ता कारणले समस्या छन् । मैले त्यो विषयमा प्रतिबद्धता गराई दसैँ पछाडि टोल टोलमै गएर भत्ता वितरण गर्ने भनेका छन् । दसैँअघि त सम्भव नहोला किनभने आजसम्म प्रशासकीय अधिकृत लैजान सकेको छैन । मङ्सिरदेखि टोल टोलमै गएर सामाजिक भत्ता वितरण गर्ने बित्तीय संस्थाले पनि सहमति गरेको छ ।
दलित र बालबालिकाका लागि के कस्ता काम भएका छन् ?
हामीले पेसागत रूपमा पूर्वकालदेखि व्यवसाय गर्दै आएका दलित समुदायलाई आवश्यक पर्ने यन्त्र उपकरण, सामग्री विगतमा पनि दियौँ, यो साल पनि धेरै दलित समुदायलाई ती सामग्रीको व्यवस्था गरेका छौँ । निकट भविष्यमा नै बालमैत्री स्थानीय शासन, पोषणयुक्त गाउँपालिका घोषणा गर्दै छौँ । बालबालिका क्षेत्रमा प्रशस्तै काम भएका छन्, एक÷दुई वर्षभित्रमा देखाउने गरी काम गर्दै छौँ । त्यसका लागि सूचकहरू पार गर्ने गरी काम भइरहेका छन् । यसका लागि लगानी गर्नुपर्ने हुन्छ, त्यो हामी लगानी गर्ने अवस्थामा छौँ । विकास भनेको मानव विकास हो । मानव विकासका लागि बालबालिकामा लगानी गर्नु पर्छ भन्ने विषयमा हामी सचेत छौँ र हामी त्यही अनुरूप काम गर्छौँ ।
माथिल्लो निकायसँग के कसरी समन्वय गरिरहनुभएको छ ?
हामीबाट समन्वय र पहल एकतर्फी हुन्छ । समन्वय माथिल्लो निकायबाट गर्ने प्रयत्न हुँदैन । हामी हाम्रो तर्फबाट गइरहेका हुन्छौँ । हाम्रा योजना पेस गरिरहेका हुन्छौँ । डिपिआर बनाएर सम्बन्धित निकायमा पेस गरेका छौँ तर समन्वय भनेको त दुवै पक्षको अग्रसरतामा भर पर्ने कुरा हो । हाम्रोतर्फबाट एकोहोरो हुन्छ, उतातर्फबाट हुँदैन ।