• १३ साउन २०८१, आइतबार

गुफा घुम्ने बढे

blog

तम्घास समाचारदाता

तम्घास, असोज ४ गते ।  गुल्मीको धुर्कोट र इस्मालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै विचित्र गुफा हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। इस्मा गाउँपालिका–६ र धुर्कोट गाउँपालिका–५, बस्तु जोड्ने गरी पुल निर्माण भएपछि बस्तुमा रहेको पर्यटकीय स्थल विचित्र गुफा हेर्न आउनेको सङ्ख्या बढेको हो। 

गुफासम्म आवतजावत गर्नका लागि सहजता भएको यहाँका स्थानीयले बताएका छन्। कुल एक करोड ८९ लाखको लागतमा निर्माण भएको पुल ३७० मिटर लम्बाइ रहेको छ। पुलमा एक पटकमा ७९९ जना आउजाउ गर्न मिल्ने गरी निर्माण भएको छ।

यस भेगकै लामो र अग्लो स्थानमा बनेको पुलले विचित्र गुफा पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विचित्र गुफा संरक्षण समिति अध्यक्ष युवराज भण्डारीले बताउनुभयो। पुल निर्माण गरिएको स्थान नजिकै विचित्र गुफा रहेको छ। 

पर्यटनको हिसाबले निकै महत्त्वपूर्ण गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ। लामो तथा अग्लो स्थानमा निर्माण गरिएको पुलले विचित्र गुफा पुग्ने बाटो छोट्याइदिएको छ। पछिल्लो समय विचित्र गुफाको विकासका लागि प्रचारप्रसार र पूर्वाधार विकासको काम पनि भइरहेको छ। 

प्रदेश सरकारको लगानीमा सूचना केन्द्र भवनको निर्माण, गुफाभित्रका विभिन्न आकृति, कलात्मक वस्तुहरू, धार्मिक आस्था जगाउने मनमोहक दृश्यले विचित्र गुफा साँच्चिकै  विचित्र छ।

बर्सातको समयमा छल्दी खोला तर्न समस्या हुने भएकाले पनि उक्त पुल निर्माण भएपश्चात् सहजता भएको धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशव भण्डारीले बताउनुभयो। धुर्कोट गाउँपालिकाले विचित्र गुफालाई उचित प्रचारप्रसार र संरक्षण गर्नमा प्राथमिकता दिएको जनाएको छ।