अर्घाखाँची समाचारदाता
अर्घाखाँची, वैशाख २६ गते । भूमिकास्थान नगरपालिकाले मौरीपालन गरी मह उत्पादन गर्ने जिम्मा कृषक सहकारी संस्थालाई दिएको छ । वडा नम्बर १ र २ को ढाकावाङमा रहेको प्रगति कृषक सहकारी संस्थालाई ४७ थान मौरीसहितका घार र सामग्री उपलब्ध गराएको हो । नगरले वडा नं. ९ को ढिकुरा, १० को धनचौरलगायत सम्भावित क्षेत्रलाई मौरी पकेट क्षेत्र घोषणा गरी कृषकलाई मौरीपालन वृद्धि गर्न विभिन्न घार वितरणदेखि प्राविधिक सहयोग गर्दै आएको छ ।
ढाकावाङ पनि मौरीपालनको सम्भावित क्षेत्र भएकाले मौरी पकेट कार्यक्रम अन्तर्गत सहकारीलाई मौरी वितरण गरेको हो । नगरप्रमुख झविलाल थापाले पहिला रित्ता घार वितरण गर्दा घारमा मौरी नहुँदा खाली रहने र खेर गएकाले सहकारी समूहलाई मौरीसहित मौरीजन्य सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले ४७ घार मौरी पाल्पाबाट ल्याइएको बताउनुभयो । मौरीपालनबाट घरखर्च चल्ने आम्दानी गर्न सकिने भएकाले राम्रोसँग मौरी पाल्नका लागि कृषक हौसिएका पनि छन् ।
प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद चौधरीले सहकारीमा आबद्ध सबै कृषकको घरमा मौरीपालनलाई व्यवसायकै रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । नगरपालिकाले घरमै पुगेर कृषि प्राविधिकले सहयोग पु¥याउने उहाँको भनाइ छ ।
पाँच लाख ८८ हजार ७३७ रुपियाँ कुल लागत बजेटमध्ये दुई लाख ९९ हजार ३६० रुपियाँ नगरपालिकाको अनुदान रहेको छ भने अरू रकम सहकारीको लगानी रहेको सहकारीका अध्यक्ष भुवानन्द भुसालले बताउनुभयो । यहाँ वनक्षेत्र धेरै रहेको र जङ्गलमा चिउरी, म्याललगायत फूल फुल्ने रुख पर्याप्त भएकाले मौरीपालन फस्टाउने उहाँले जानाकारी दिनुभयो ।