बाँके समाचारदाता
बाँके, वैशाख २६ गते । बाँकेमा सशस्त्र द्वन्द्वकालअघि सात वटा छोटी भन्सार कार्यालय रहेकोमा नयाँ नियमावली अनुसार एउटा मात्रै कायम हुने भएको छ । नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार बाँकेमा छोटी भन्सारका रूपमा नरैनापुर मात्रै उल्लेख गरिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले विगतमा सात वटा छोटी भन्सार कार्यालय रहेकोमा अब एउटा मात्रै कायम भएको बताउनुभयो ।
उहाँले भन्सार विभागबाट आवश्यक निर्णय प्राप्त भएपछि नरैनापुरमा भन्सार कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “शुक्रबार भन्सार विभागको केन्द्रीय टोली आउँदै छ, यसबारे थप जानकारी र आवश्यक निर्देशन प्राप्त हुने छ ।” भन्सार कार्यालयका अनुसार नेपालगन्जमा यसअघि सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भङ्घोटना, साईगाउँ र उढरापुर गरी सात वटा छोटी भन्सार कार्यालय थिए ।
सशस्त्र द्वन्द्वको समयमा असुरक्षा भएपछि छोटी भन्सार कार्यालय हटाइएको हो । तीमध्ये केही भन्सार कार्यालयका भवन जीर्ण भएर भत्किसकेका छन् ।