इमान सिं राना
रामपुर (पाल्पा), असोज ३ गते । पाल्पामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बगनासकाली गाउँपालिका ७ का २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो ।
बुधबार तानसेनबाट खानीगाउँ तर्फ जाँदै गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ ज १७५९ नम्बरको जिप बगनासकाली गाउँपालिका ९ चापपानीमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको हो । तानसेन अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएका भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।
प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।