• २६ वैशाख २०८३, शनिबार

एमआरपी विवाद

भैरहवा नाकाबाट छुट्न थाले सामान

blog

भैरहवा समाचारदाता

भैरहवा, वैशाख २६ गते । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख अनिवार्य गर्ने व्यवस्थाका कारण अवरुद्ध बनेको भैरहवा नाकाको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि पुनः सहज हुन थालेको छ ।

भन्सारविन्दुमै एमआरपी, ब्रान्ड तथा उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गरिएपछि १० दिनदेखि आयात प्रक्रिया प्रभावित थियो । विभागले आयातकर्ताबाट लिखित स्वघोषणा गराएर तत्कालका लागि सामान छुटाउन दिने व्यवस्था गरेपछि रोकिएका सामग्री भन्सारबाट छुट्न थालेका हुन् ।

भन्सार विभागले बुधबार साँझ जारी गरेको सहजीकरण अनुसार आयातकर्ताले बजारमा बिक्री वितरणअघि एमआरपी, ब्रान्ड, उपभोग्य मितिलगायतका विवरण उल्लेख भएको लेबल टाँस्ने प्रतिबद्धता जनाएपछि सामान आयात गर्न सकिने व्यवस्था गरिएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट मौखिक रूपमा सहजीकरणको जानकारी प्राप्त भएसँगै बिहीबारदेखि आयात प्रक्रिया पुनः सञ्चालनमा आएको बताउनुभयो । “एमआरपी उल्लेख नगरिएका सामान आयात गर्ने व्यवसायीबाट भन्सारमै लिखित प्रतिबद्धतासहितको स्वघोषणा गराइएको छ,” पौडेलले भन्नुभयो, “यसपछि रोकिएका सामान धमाधम छुट्न थालेका छन् ।”

एमआरपीसम्बन्धी नयाँ व्यवस्था लागु भएपछि भैरहवा नाकामा ठुलो सङ्ख्यामा मालवाहक गाडी रोकिएका थिए । नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगरका अनुसार चार सयभन्दा बढी गाडी भन्सार प्रक्रिया नहुँदा नाकामै रोकिएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चैत ३० गतेको पत्रका आधारमा वाणिज्य विभागले १५ दिने सूचना जारी गर्दै एमआरपी, ब्रान्ड र उपभोग्य मिति उल्लेख नभएका तयारी वस्तु तथा खाद्य सामग्री आयातमा कडाइ गरेको थियो । सोही निर्देशन अनुसार वैशाख १४ गतेदेखि भन्सारविन्दुमै यस्ता सामग्री रोक्न थालिएको थियो ।

व्यवसायीले अत्यन्त छोटो समयमै नियम लागु गरिएको, धेरै सामानपहिले नै विदेशबाट अर्डर भइसकेको तथा कतिपय वस्तुमा भन्सारविन्दुमै लेबल टाँस्न व्यावहारिक कठिनाइ हुने भन्दै विरोध जनाएका थिए । उनीहरूले गोदाममा पुगेपछि मात्रै एमआरपीसहितको लेबल टाँस्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

आयातकर्ताले सामान नछुटाउँदा कतिपय सामग्री लामो समयसम्म भन्सारपरिसर तथा बाटोमै रोकिएका थिए । यसले आयात व्यापार मात्रै नभई राजस्व सङ्कलनमा समेत असर पारेको थियो । भैरहवा भन्सार कार्यालयका अनुसार एमआरपीसम्बन्धी कडाइपछि वैशाख १४ गतेयता आयात क्रमशः घट्दै गएको थियो ।

सहजीकरणपछि भने बिहीबारसम्म रोकिएका ९० भन्दा बढी ट्रकका सामान भन्सारबाट छुटेका छन् । बिहीबार मात्रै कार्यालयले ५४ करोड रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । भन्सार प्रमुख पौडेलका अनुसार वैशाख १४ यताकै यो सबैभन्दा ठुलो राजस्व असुली हो ।

नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले जापान, चीनलगायत तेस्रो मुलुकबाट आउने सामानमा नयाँ व्यवस्था कार्यान्वयन गर्न बढी जटिलता देखिएको बताउनुभयो । “विदेशबाट सामान नेपाल आइपुग्न महिनौँ लाग्ने अवस्था हुन्छ,” पन्थीले भन्नुभयो, “छोटो सूचनाका आधारमा नियम लागु हुँदा बाटोमै रहेका सामानमा तत्काल एमआरपी कार्यान्वयन गर्न कठिन भयो ।”

उहाँका अनुसार भैरहवा नाकाको तुलनामा चीन तथा तेस्रो मुलुकसँग बढी व्यापार हुने वीरगन्ज, विराटनगर, तातोपानी र केरुङ नाकामा यसको प्रभाव अझ बढी देखिएको छ । भैरहवा नाका मुख्य रूपमा भारतसँगको औद्योगिक कच्चा पदार्थ तथा दैनिक व्यापारिक सामग्री आयातका लागि प्रयोग हुने प्रमुख नाका मानिन्छ ।