रमेश विश्वकर्मा
गुल्मी, असोज ३ गते । गुल्मी जिल्ला कारागारबाट दुई जना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा जिल्ला कारागारबाट दुई जना कैदीबन्दीले कैद सजाय मिनाहा पाएका गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका यस जिल्ला कारागारका दुई जना कैदीबन्दीलाई संविधान दिवसको अवसरमा सरकारले कैद मिनाहा गरेको उहाँले बताउनुभयो । कैद मिनाहा हुने एक जना सवारी ज्यान र अर्का एक जना अंगभंग कुटपिट सम्बन्धि मुद्दा रहेको थियो ।
यस कारागारबाट तीन जनाको नाम कैद मिनाहाका लागि सिफारिस गरि पठाइएको थियो । जसमा दुई जना कैदीबन्दीले ५० प्रतिशत कैद भुक्तानी गरिसकेका र एक जना कैदीबन्दीले ४० प्रतिशत मात्र कैद भुक्तानी गरेको जेलर पन्थीले बताउनुभयो ।