• १२ साउन २०८१, शनिबार

गाउँ सहरमा तीजको तडकभडक बढ्यो

blog

काठमाडौं, भदौ २९ गते । नेपाली हिन्दु नारीको विशेष पर्व हरितालिका तीजको रौनक गाउँ सहरमा छाइसकेको छ ।

तीजमा विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै भगवान् शिवजीको पूजाआजा गर्ने र अविवाहित नारीले सुयोग्य बर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने परम्परागत चलन छ । 

भक्तपुर गट्ठाघरकी शारदा घिमिरेलाई तीज नजिकै आइसकेपछि रमाइलो गर्नपर्‍यो भन्ने मनमा लागेको छ । बजारमा पोते बनाउन निस्कनु भएकी उहाँ भन्नुभयो, “पोते बनाउन बजार आएको छु । तीज आयो रमाइलो गर्न पर्‍यो ।”

उहाँले पछिल्लो समय तीजको दर खाने विभिन्न परिपार्टी आएको भन्नुहुँदै आफू भने पुरानै रीतिरिवाज अनुसार तीज मनाउने बताउनुभयो । ठुला–ठुला पार्टी प्यालेसमा महिनौँ अघिदेखि तडग भडग गर्ने कुराले विकृति ल्याउनसक्ने उहाँको भनाइ छ । 

उहाँका अनुसार दिदीबहिनी, सासू, बुहारीले वर्षभरि भोगेका सुखदुःख, मनका भावना एकआपसमा साटासाट गरेर तीजमा रमाइलो गरी मनाउनुपर्छ ।  

यस्तै, नयाँ बानेश्वरकी सुशीला खड्का पनि तीजको तयारीमा हुनुहुन्छ । उहाँले २०, २५ दिन अघिदेखि दर खाने कार्यक्रम चलिरहेको बताउनुभयो ।

खड्काले भन्नुभयो, “तीजको तयारी लगभग सकियो । २०, २५ दिन अघिदेखि दर खाने कार्यक्रम चलिरहेको छ । रमाइलो लागेको छ ।” 

पशुपतिनाथ मन्दिर घरबाट नजिकै रहेकाले तीजको दिन मन्दिर जाने, पानी पनि नखाईकन निराहार व्रत बसेर तीन मनाउने उहाँको योजना छ । 

उहाँले भन्नुभयो, “पहिलेदेखि सुन्दै आएको यही हो र विश्वास छ कि, राम्रो पतिका लागि, श्रीमानको दीर्घायुको लागि व्रत बस्नुपर्छ ।”

स्थायी घर जनकपुर भई काठमाडौँ बस्दै आउनुभएकी निलम कुमारी चौधरीले तीजमा दिनभरि रमाइलो गरेर मनाउने योजना रहेको बताउनुभयो ।

चौधरीले भन्नुभयो, “नारीको महान् चाड हरितालिका तीजको सम्पूर्ण दिदीबहिनीलाई शुभकामना । दिनभरि निर्जला व्रत बस्ने हो । बेलुका पूजापाठ गर्ने, रमाइलो नाचगान गर्ने, घरमा बत्ती बाल्ने । रातो लुगा, गहना, शृङ्गार लगाउने ।”  

यसैगरी, तारकेश्वर नगरपालिकाकी उषा कुमारी शाहीले आफ्नो गक्ष अनुसार तीज पर्व मनाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “आफ्नो घरमा जस्तो छ, त्यसैमा तीज मनाऔँ । आफ्नो वर्षभरिको दुःख बिर्साऔँ ।”, धूम्रपान, मध्यपान गरेर स्वास्थ्य र घरपरिवारलाई असर पार्ने गरी तीज मनाउन नहुने उहाँको भनाइ छ । 

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।