• १९ कात्तिक २०८२, बुधबार

फल टिपेलगत्तै फुले स्याउका बोट

blog

कात्तिकैमै फुलेका सतबाँझ फलफूल केन्द्रका स्याउका बोट । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, कात्तिक १९ गते । गएको भदौमा तीन सय किलो फल टिपेका सतबाँझ सुक्खा फलफूल केन्द्रका स्याउका बोट फल रित्तिएको दुई महिना नपुग्दै कात्तिकमै फुलेका छन् । सामान्यतया माघ/फागुनमा फुल्ने स्याउका बोट चार महिनाअघि नै फुलेपछि फलफूल केन्द्रका कर्मचारी चकित परेका छन् । 

दशरथ चन्द नगरपालिका–१, गुरुखोलामाथि सरकारी स्वामित्वमा रहेने गरी २९ हेक्टर क्षेत्रफलमा रहेको फलफूल केन्द्रमा अन्ना र भेरिड जातका स्याउका चार सय बोट कात्तिकमै फुलेको कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दसैँतिहारअघि हामीले तीन सय किलो स्याउ टिपेर बेचेका थियौँ । बिदा सकेर कार्यालयमा फर्किंदा स्याउका बोट ढकमक्क फुलेको देख्दा अचम्म लागेको छ । स्याउ मात्रै होइन, केन्द्रको नर्सरीमा रहेका आरू र ओखरसमेत फुल्न थालेका छन् ।” उहाँले जलवायु परिवर्तनका कारण यसो भएको हुन सक्ने अनुमान गर्नुभयो । स्याउ फल्न वार्षिक एक हजार चार सय घण्टा माइनस जिरो डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिने उहाँले बताउनुभयो । यद्यपि केन्द्रमा पछिल्लो समय कम तापक्रममा फल्ने (लो चिलिङ) जातका स्याउ रोपिएका छन् । रोपिएका ती स्याउका बोट यसअघि माघ फागुनमा फुल्ने गरेका थिए ।

उहाँले थप्नुभयो, “केन्द्रमा रोपिएका अन्ना र भेरिड जातको स्याउ कम चिसोमा पनि फल्ने प्रजाति हुन् तर पहिलो पटक समयअगावै फुलेको पायौँ । स्याउको मात्रै फुलेका कुरा भएन आरू र ओखर पनि फुल्न थालेपछि विज्ञको राय सल्लाह मागेका छौँ ।” 

विसं २०१९ मा स्थापना भएको सतबाँझ बागवानीमा भारतको कश्मीरबाट रेड डेलिसियस जातका छ हजार स्याउका बोट ल्याएर रोपिएका थिए । २० वर्षअघिसम्म लटरम्म फल्ने रेड डेलिसियस जातको स्याउ फल्न छाडेपछि अहिले यहाँ कम तापक्रममा पनि फल्ने विभिन्न फुजी, गाला, अन्नाभेरिड जातका स्याउका बोट रोपिएका छन् । यहाँ स्याउसँगै हिउँदे फलफूलका बिरुवा ओखरलगायतका बिरुवाको नर्सरी उत्पादन हुँदै आएको छ ।