गोरखापत्र समाचारदाता
ललितपुर, कात्तिक १९ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशन मितिका सन्दर्भमा दुई प्रस्ताव पेस भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे दुई धार देखिएको हो ।
मङ्गलबारको बैठकमा महामन्त्री गगनकुमार थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल नथप्न र पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गर्नुभयो ।
उहाँले मङ्सिरभित्रै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण सम्पन्न गर्ने, क्रियाशील सदस्यता छानबिन गर्ने, निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, वडा अधिवेशनसम्म गर्ने र पुस ५ गते क्षेत्रीय अधिवेशन सम्पन्न गरेर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ । कांग्रेस केन्द्रीय सदस्य रङ्गमति शाहीका अनुसार महामन्त्री थापाले बैठकलाई सम्बोधन गर्दै पार्टीको महाधिवेशन पुसमा गर्न सम्भव हुने बताउनुभयो ।
महामन्त्री थापाको प्रस्तावप्रति असहमति जनाउँदै सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि २९ गतेसम्म गर्नुपर्ने प्रस्ताव पेस गर्नुभयो । उहाँले मङ्सिर २० गतेसम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण, चैतमा वडा, पालिका, प्रदेश क्षेत्रीय अधिवेशन, सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन, जिल्ला अधिवेशन, वैशाख १५ गते सातै प्रदेशको अधिवेशन गरी वैशाख २७ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गर्नुभएको छ । नेतृ शाहीले भन्नुभयो, “बैठकमा १५ औँ महाधिवेशनबारे फरक फरक प्रस्ताव आए पनि छलफलबाट मिति टुङ्गो लाग्छ ।”
बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औँ महाधिवेशन कार्यतालिकाका सन्दर्भमा सहमतिको प्रयास भइरहेको बताउनुभयो । मङ्गलबार कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले बोल्नुभयो ।
छुट्टै भेला नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन गरेका नेताहरूको भेला मङ्गलबार सम्पन्न भएको छ । नेता देवराज चालिसेले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउन विशेष महाधिवेशन गर्नुपर्ने बताउनुभयो । नेता गुरुराज घिमिरेले पार्टीमा रूपान्तरण आवश्यक रहेको बताउँदै विशेष महाधिवेशन हुनुपर्ने माग गर्नुभयो । विशेष महाधिवेशन पक्षधरले असोज २९ गते दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएका छन् ।