गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आफूसहित अन्य आठ राजनीतिक दलबिच हुने एकता प्रस्ताव पारित गरेको छ । मङ्गलबार राजधानीमा आयोजित महाधिवेशन आयोजक समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत प्रस्ताव पारित गरेको हो ।
पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समितिको अन्तिम बैठकलाई मङ्गलबार काठमाडौँमा सम्बोधन गर्दै अब नयाँ पार्टी निर्माण गर्ने घोषणा गर्नुभयो । कमलादीमा पार्टीको बैठक चलिरहँदा सशस्त्र विद्रोह (जनयुद्ध) देखिनै प्रचण्डलाई साथ दिँदै आउनुभएका जनार्दन शर्मा, राम कार्कीलगायतले सानेपामा पत्रकार सम्मेलन गरेर नयाँ पार्टीमा नजाने बरु अर्कै समूह बनाउने घोषणा गरिरहनुभएको थियो ।
‘प्रचण्ड’ ले नयाँ समाजवादी क्रान्तिका लागि बृहत् वामपन्थी शक्तिसँग एकता गर्न थालेको बताउनुभएको छ । माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक प्रचण्डले नयाँ समाजवादी क्रान्ति तयार गर्न सबैलाई एकजुट हुन आग्रह गरेको पार्टी नेता विशाल खड्काले जानकारी दिनुभयो ।
बैठकमा प्रचण्डले समाजवादी क्रान्तिको तयारीमा साथ नदिनेको रेल छुट्ने भएकाले अब कसैलाई नपर्खने उल्लेख गरेको नेता खड्काले बताउनुभयो । “हामीले कम्युनिस्ट केन्द्र बनाउन लागेका छौँ । पहिलो एकता केन्द्र पार्टीले जनयुद्ध तयारी गरेर १० वर्ष लडी राजतन्त्र फालेर गणतन्त्र ल्याउन सफल भयौँ,” प्रचण्डको भनाइ उल्लेख गर्दै खड्काले भन्नुभयो, “अब समाजवादी केन्द्र बनाएर समाजवादी क्रान्ति गर्ने तयारी हो । यो कुनै चुनावी तालमेल वा गठबन्धन भन्नेका लागि समाजवादी क्रान्तिको रेल छुट्यो । यस्तो सोच्नेले भेट्टाउन सक्दैनन् ।”
प्रचण्डले अब बन्ने पार्टीले नयाँ युगको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । “नयाँ मोर्चामा भीम रावलसँग छलफल गर्दा सकारात्मक भएको छ,” उहाँले भन्नुभयो, “जनार्दनजी पनि यतै आउनुस् अझै पनि तपाईं विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानु पर्छ ।”
संयोजक प्रचण्डले बुधबार एकता हुने नौ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी हुने जानकारी दिएको नेता खड्काले बताउनुभयो । माओवादीसहित नौ पार्टीको एकता बुधबार राष्ट्रिय सभा गृहमा घोषणा हुने भएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई पुनर्गठन गर्दै सङ्गठनमा अधिकतम नवपुस्ता (जेनजी) लाई समेटेर जाने वचन दिनुभयो । उहाँले अब हुने एकतामा केही मान्छे थुपार्न मात्र नभएर रणनीतिक लक्ष्यसहित विचार, सिद्धान्त, राजनीति, विधि, पद्धति, सामूहिकता र जनमुखीलाई केन्द्रविन्दुमा राखेर अघि बढिने जिकिर गर्नुभयो ।
शर्माको नयाँ समूह
माओवादी केन्द्रबाट अलग हुँदै पूर्वमन्त्री जनार्दन शर्मा र राम कार्कीले प्रगतिशील अभियान नेपाल नामक अभियान घोषणा गर्नुभएको छ । मङ्गलबार शर्माले ललितपुरमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनको भावनाविपरीत पार्टी एकता गरेका स्वीकार नगरेको बताउनुभयो । उहाँले माओवादी पार्टीलाई रूपान्तरण गरेर पारदर्शी, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधि पद्धति लागु गर्ने पार्टी बनाउन प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्नुभयो ।