काठमाडौं, भदौ २८ गते। शालीन राजनीतिका एक पर्याय सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
ऐतिहासिक संविधान सभाका अध्यक्ष नेम्वाङले नेपालको संविधान निर्माणका क्रममा दुई कार्यकाल संविधानसभाको अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो। वि.सं. २०६४ र २०७० मा उहाँले सो जिम्मेवारी निर्वाह गर्नुभएको हो। उहाँ अध्यक्ष रहँदा २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो।
वि.सं. २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक घोषणा भएसँगै दुई सय ४० वर्षे राजसंस्थाको विधिवत अन्त्य भयो। पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि २०६९ जेठ १४ मा संविधानसभा विघटन भयो।
दोस्रो संविधान सभाबाट वि.सं. २०७२ असोज ३ गते गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको हस्ताक्षरमा नेपालको संविधान जारी भयो। त्योबेला संविधान सभाका अध्यक्ष नेम्वाङले अग्रणी एवम् समन्वयकारी भूमिका निर्वाह गर्नुभयो।
वि.सं. २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा बुवा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट नेता नेम्वाङको जन्म भएको थियो। आदर्श स्कुल, इलाम पढ्दादेखि नै वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएसी तहको अध्ययन सम्पन्न गर्नुभयो।
विद्यार्थी कालदेखि राजनीतिमा जोडिनुभएको उहाँ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुभयो। त्रिभुवन विश्वविद्यालयबाट उहाँले कानुनमा स्नातक शिक्षा हासिल गर्नुभयो।
नेपाल ल क्याम्पस, काठमाडौंमा विद्यार्थी जीवनकालमा राजकाज मुद्दामा जेल पर्नुभयो। त्यो बेला जेलमै रहँदा २०३३ साल असार ३ गते अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्रको पार्टी सदस्यता लिनुभयो। २०४६ को संयुक्त जनआन्दोलन,२०६२–६३ को शान्तिपूर्ण जनआन्दोलनताका पटक–पटक हिरासतमा पर्नुभयो।
२०४९ मा पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभयो। २०५४ र २०५९ मा सम्पन्न छैटौं र सातौं महाधिवेशनमा केन्द्रीय सदस्य, २०७२ मा एमाले स्थायी कमिटी सदस्य र २०७८ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट एमाले उपाध्यक्षमा निर्वाचित हुनुभयो।
२०३६ सालमा नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गर्नुभयो। २०४१ मा नेपाल बार एशोसियसनको केन्द्रीय सदस्य र २०४३ मा महासचिवको रुपमा कानुनी क्षेत्रमा वकालत गर्नुभयो।
नेकपा (एमाले) का तर्फबाट २०४८ र २०५२ मा दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मवारी सम्हाल्नुभयो। पुनःस्थापित प्रतिनिधिसभा २०६३ र अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद, संविधान सभाको निर्वाचनपछिको व्यवस्थापिका संसद २०६५ तथा २०७० गरेर चार पटक सभामुखको जिम्मेवारी सम्हाल्नुभयो।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारको पालामा उहाँ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री हुनुभयो। उहाँ लोकप्रिय नेताको रुपमा २०५६ देखि २०६४, २०७०, २०७४ र पछिल्लो २०७९ मंसिरको संसदीय निर्वाचनमा निरन्तर निर्वाचन क्षेत्र २ इलामबाट निरन्तर विजयी हुनुभयो।
२०५६ मा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा संसदको सार्वजनिक लेखा समितिको सभापतिको रुपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। पछिल्लो समय नेकपा (एमाले) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङ २०७९ फागुन २५ गते भएको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवार बन्नुभएको थियो। तर, उहाँलाई गणीतीय सफलता प्राप्त हुन सकेन।
मृदुभाषी र सरल नेताको रुपमा सार्वजनिक छवि बनाउनुभएका नेता नेम्वाङ नेपाली राजनीतिमा अप्ठ्यारो समयमा पनि राजनीतिक दल र विभिन्न पक्षसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो। राजनीति र कानुनको पक्षमा शालीनतापूर्वक क्रियाशील नेम्वाङको भदौ २६ गते मंगलबार बिहान हृदयघात भएपछि १ः५० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भयो।
दिवंगत हुनुभएका नेता नेम्वाङका श्रीमती, दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङ र दुई छोरी डा. सुसाङ्नुमा र सम्याङ (सारा) नेम्वाङ हुनुहुन्छ। जेठा छोरा परिवारसहित बेलायतमा बस्दै आउनु भए पनि एक छोरा र दुई छोरी स्वदेशमा बस्दै आउनुभएको छ।
जनप्रतिनिधिबाट जनताका लागि संविधान निर्माणमा उहाँले पुर्याउनुभएको ऐतिहासिक योगदानको नेपाल र नेपाली जनताका लागि सदैव स्मरणीय रहनेछ।
ऐतिहासिक संविधान सभाका अध्यक्ष सुवास नेम्वाङप्रति हार्दिक श्रद्धासुमन। गोरखापत्र अनलाइनका मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः