• २३ चैत २०८२, सोमबार

शैक्षिकसत्र अगावै तनहुँमा पर्याप्त पाठ्यपुस्तक

blog

विद्यार्थी पुस्तक पसल दमौलीमा बिक्रीका लागि राखिएका पुस्तकहरू । तस्बिर– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २३ गते । नयाँ शैक्षिक सत्र २०८३–८४ सुरु हुनुअगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लामा बाल शिक्षादेखि कक्षा १० सम्मका आवश्यक पुस्तकहरू भित्रिएका हुन्।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा तनहुँका अनुसार जनक शिक्षा सामग्री केन्द्रले मागअनुसार पुस्तक उपलब्ध गराएपछि यस वर्ष अभाव नहुने भएको हो । महासङ्का केन्द्रीय कोषाध्यक्ष एवं न्यू विद्यार्थी पुस्तक पसल, दमौलीका सञ्चालक ताराराम श्रेष्ठले सामुदायिक र निजी दुवै विद्यालयका लागि अंग्रेजी तथा नेपाली माध्यमका पुस्तकहरू आइरहेको जानकारी दिनुभयो । 

श्रेष्ठले भन्नुभयो, “चैत २६ गतेसम्म जिल्लाका सबै क्षेत्रमा पुस्तक पुगिसक्ने छन्, यस पटक मागअनुसार आपूर्ति भएकाले अभाव छैन ।” समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दा शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। 

एकाइका सूचना अधिकारी भरत बरालले शैक्षिकसत्रको सुरुमै पुस्तक उपलब्ध हुनुले विद्यार्थीको पढाइमा सहजता आउने बताउनुभयो । एकाइको तथ्याङ्क अनुसार जिल्लाका सबै विद्यार्थीले वैशाखको सुरुवातमै आवश्यक पुस्तक खरिद गर्न सक्ने सुनिश्चितता देखिएको छ । पछिल्लो समय जनक शिक्षा सामग्री केन्द्रले छपाइ र वितरणमा तदारुकता देखाएपछि ग्रामीण क्षेत्रका विद्यालयमा समेत समयमै पुस्तक पुग्न थालेको एकाइले जनाएको छ।