विजयकुमार साह
ढल्केबर, चैत २३ गते । धनुषाको मिथिला नगरपालिकाले निरक्षरको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यले निरक्षरको तथ्याङ्क सङ्कलन सुरु गरिएको बताइएको छ ।
मिथिला नगरपालिका शिक्षा शाखाका प्रमुख सीता काफ्लेले वडा हुँदै नगरपालिकालाई साक्षर घोषणा कार्यक्रमअन्तर्गत तथ्याङ्क सङ्कलन अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले मूल्याङ्कन निर्देशिका, २०७० बमोजिम साक्षरताका १२ सूचकमध्ये ६ सूचकमा केन्द्रित भएर काम अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस कार्यका लागि आवश्यक प्रशिक्षण प्रदान गरेर २५ जना विद्यार्थी परिचालन गरिएको छ । आगामी २०८३ वैशाख १५ गतेसम्म तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गर्ने गरी समयसीमा निर्धारण गरिएको शिक्षा शाखाका प्रमुख काफ्लेले बताउनुभयो । उहाँले नगरपालिकाका सबै वडा कार्यालय र विद्यालयलाई अभियानमा समन्वयात्मक भूमिका निर्वाह गरिदिन र विद्यार्थीमार्फत घरघरमा पुगेर तथ्याङ्क सङ्कलनमा सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।
शिक्षा तथा मानव विकास केन्द्रले तोकेको विभिन्न १२ वटा बुँदामध्ये महत्त्वपूर्ण छ वटा बुँदामा उल्लेख गरिएका विषयवस्तु पढ्न लेख्न सिकाउन सके नागरिकलाई साक्षर बनाउने उहाँले बताउनुभयो ।