काठमाडौँ, भदौ १० गते । पछिल्लो समय रङ्गकर्ममा महिलाको उपस्थिति बढ्दो छ । सङ्ख्यात्मक वृद्धि सँगसँगै महिला प्रमुख पात्र नै भएर नाटकहरू मञ्चन हुने क्रमले पनि तीव्रता पाएको छ । यसले महिला कलाकारका लागि उत्साह जगाएको छ । निशा शर्मा, दीया मास्के, सरिता गिरी, पशुपति राई, सिर्जना सुब्बा, सरस्वती चौधरी, मेनुका प्रधान, आकाङ्क्षा कार्की, रेणुनाथ योगी अहिलेको रङ्गमञ्चका चर्चित नाम हुन् ।
कलाकार निशा शर्मा पछिल्लो समय महिलालाई नै केन्द्रमा राखेर एक घण्टाभन्दा लामा नाटकहरू मञ्चन हुन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दर्जनौँ नाटकहरू महिलाकै विषय र मुख्य भूमिकामा उहाँहरूकै सहभागितामा मञ्चन हुँदै आएका छन् । यसले महिलाहरूमा रङ्गमञ्चप्रति लगाव बढ्दो छ भन्ने कुरा प्रस्ट पार्छ ।”
रङ्गकर्मी सिर्जना सुब्बा यस क्षेत्रमा महिलाको सहभागिताले रङ्गकर्मीहरूलाई काम गर्न उत्साह थपेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुका दिनमा नाट्यकर्म त्यति सहज थिएन । लामो समय क्रियाशील रहेर दर्शकमा राम्रै छाप छाड्न सफल भएकाहरू अहिले यो क्षेत्रबाट नै पलायन भएका पनि धेरै छन् ।” कुनै समयका जोसिला महिला रङ्गकर्मी मानिने समुना केसी, प्रमिला कटुवाल, मञ्जु देवकोटा, पूजा ढकाललगायतका महिला रङ्गकर्मी अहिले नाट्य दुनियाँबाट टाढिसक्नुभएको छ । पछिल्लो समयमा रङ्गमञ्च व्यावसायिकतातिर लम्किरहँदा केही आशा जगाए पनि महिला रङ्गकर्मीलाई यो पेसामा निरन्तरता दिइरहन भने निकै सङ्घर्ष गर्नुपरेको रङ्गकर्मी पशुपती राईको भनाइ छ । उहाँ भन्नुहुन्छ, “त्यसो त पुरुष कलाकारको तुलनामा महिला कलाकारलाई काम गर्न अहिले पनि कठिन छ तर समस्याहरूलाई समाधान गर्दै व्यावसायिक रूपमा अगाडि आउन महिला स्वयम् नै जागरुक हुनुपर्छ ।”
उहाँका अनुसार महिलालाई नाट्यकर्ममा आउन परिवारको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्य पेसा व्यवसायमा जस्तो नाट्यकर्ममा कमाइ राम्रो हुँदैन जसका कारण परिवारबाट खासै हौसला मिलिरहेको हुँदैन । मनोरञ्जनको दुनियाँलाई नियाल्ने हो भने रङ्गकर्ममा लामो समय बिताएका महिला कलाकारहरू चलचित्र क्षेत्रमा पनि राम्रो स्थान बनाउन सफल भएको देखिन्छ । तर, पनि पुरुष कलाकारहरू सरह अझै पुग्न सकेका छैनन् ।
बुद्धिदेवी महर्जन नेपालको रङ्गमञ्चको पहिलो महिला कलाकार हुनुहुन्थ्यो । नेपाली नाट्य क्षेत्रमा बुद्धिदेवी महर्जनको आगमनपछि अन्य महिला कलाकारहरू पनि आएको पाइन्छ । जसमा भुवन थापा चन्द जो नेपाली चलचित्रको पहिलो नायिका पनि हुनुहुन्छ । चन्दले राष्ट्रिय नाचघरमा धेरै लामो समय बिताइसक्नुभएको पनि छ । नेपाली रङ्गमञ्चमा निरन्तरता दिनेमध्ये चन्दको नाम अगाडि आउँछ । लक्ष्मी गिरी, शकुन्तला गुरुङ शर्मा, श्रीमाला शर्मा, सारदा शाक्य, वसुन्धरा भुसाल, विमला श्रेष्ठ, नारायणदेवी प्रधान, कृष्णा प्रधान, लक्ष्मी श्रेष्ठलगायतका रङ्गकर्मी जसले नेपालको रङ्गकर्ममा धेरै महिलाका प्रेरणाका स्रोत मान्ने गरिन्छ ।