राजकुमार भट्टराई
खोटाङ, चैत १९ गते । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको खोटाङ जिल्लाबाट निर्वाचित सांसद आरेन राईले आफ्नो जिल्लालाई अब समृद्धिको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहनुभएका राईले १६ हजार ६१२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
इमानदार भएर परिणाममुखी कामलाई प्राथमिकतामा राख्ने बताउँदै सांसद राईले जिल्ला अब समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको हो । राजनीति सामाजिक सेवा भए पनि सबैले यसलाई पेसा बनाएका कारण विकास हुन नसकेको उहाँको बुझाइ छ ।
आफू नेता बन्न आएको भन्दा पनि जनताको सेवक बन्न आएका कारण नागरिकको समस्या समाधानमा मात्र ध्यान जाने उहाँको भनाइ छ । सांसद राईले भन्नुभयो, “म एक रुपियाँ भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न । म कोही दलालको पछि लाग्दिन, इमानदारीताकासाथ काम गर्छु । मलाई सांसद मन्त्री हुने कुनै चाहना पनि थिएन तर परिस्थितिले चुनावमा उठायो । तसर्थ म नेता हैन अब जनताको सेवक बन्ने छु ।”
खोटाङको मुख्य समस्या भनेको आयात र निर्यातको सन्तुलन मिलाउनु छ । अहिले पनि हाम्रो बजारमा सबै जिल्लाका बारीको तरकारी बिव्रmी हुन्छ । तरकारी तथा फलफूल, पशुपालन, कफी खेतीलगायत उत्पादनको क्षेत्रमा धेरै सम्भावना छ । यस्ता सबै सम्भावनामा परिणाममुखी काम गर्ने सांसद राईले बताउनुभयो । शिक्षा, स्वास्थ्यको सुधार, खानेपानीको व्यवस्थापन र विशेष गरी उत्पादनमा जोड दिएर जिल्लाको बसाइँसराइ रोक्न आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।
श्रम, उत्पादन र स्वदेशी वस्तुको प्रयोग गर्नु पर्छ भन्ने चेतना सबै मानिसको दिमागमा नआएसम्म देश नबन्ने उहाँको बुझाइ छ । अब विदेशमा भएका युवाले पनि आफ्नै देशमा आएर पसिना बगाउने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ छ । सांसद राईले भन्नुभयो, “देश तथा विदेशमा भएका हामी सबैले अब देशमै पसिना बगाउने सङ्कल्प गर्नु पर्छ, अनि मात्र देश बन्छ । हामी नेपाली अधिकार मात्र खोज्छौँ, आफ्नो कर्तव्य पूरा गर्दैनौँ । म देशका लागि बोल्ने मान्छे हो, तर जिल्ला पनि आमूल परिवर्तन गर्नु छ । त्यसैले अब म लाग्छु, हाम्रो श्रम संस्कृति पार्टी लाग्छ ।” बुवा एकराज राई र आमा चन्द्रकला राईको कान्छो सन्तान आरेन राई खोटाङको केपिलासगढी गाउँपालिका–१, फेदीमा जन्मनुभएको हो । मध्यम वर्गीय परिवारमा जन्मनुभएका राईले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । हाल स्नातक तह अध्ययनकै व्रmममा हुनुहुन्छ ।
श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिव रहनुभएका राई खोटाङका अन्य १४ जना उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको हो । राईले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार देवविव्रmम राईलाई तीन हजार ८९८ मतान्तरले हराउनुभएको हो । दोस्रो हुनुभएका नेकपा (एमाले) का राईले १२ हजार ७१४, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिस्ट पार्टीका हरी रोकाले नौ हजार ४४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीले पाँच हजार ७०४ मत प्राप्त गर्नुभएको थियो ।