• ९ मंसिर २०८१, आइतबार

प्रेमको उमेर

blog

बिहानको स्वच्छ हावामा प्रातः कालीन भ्रमणका लागि म प्रायः निस्कन्थे । सडकको किनारा वा कतै मन लागेका ठाउँमा हिँड्नु मेरो दैनिकी जस्तै थियो । केही दिनदेखि प्रातः कालीन भ्रमणको समयमा सडकको छेउ एउटा हँसिलो मान्छे लमक्क लमक्क हिँडेको देखिन थाल्यो । उनी नजानिदो गरी पुलुक्क मतिर हेर्थे । मेरा आँखा पनि उनीतिर सुटुक्कै पर्थे । यस क्रममा विस्तारै हामी आपसमा हेराहेर गरेर मुस्कुराउन थाल्यौँ । चार पाँच दिनपछि मुस्कुराउँदै हेलो भनेर उनैले बोल्न सुरु गरे । मलाई पनि उनीसँग बोलौँ बोलौँ लागेकै थियो । उनले त्यति भनेपछि बाटो खुलेको सङ्केत पाएर मैले पनि रमाउँदै हाई भने । त्यस दिन दस मिनेट जति सँगसँगै हिँडेर पनि मौन रह्यौँ । भाेिल पल्टदेखि चिरपरिचित जस्तै भएर हाम्रो बोली खुल्यो ।

अब शनिबार भए पनि बिहान हतारिँदै घरबाट निस्किएर उनीसँग भेट्दा प्रफुल्लित हुने मेरो अन्तस्करणको चाहना हुँदै गयो । यसरी नै आजको बिहानीमा पनि घरबाट स्फूर्तिका साथ निस्किएर उनी आउने बाटोतिर नजानिँदो गरी हेर्दै पाइला अगाडि सारेँ । उनलाई नदेखुन्जेल टहलिँदै प्रतीक्षा गरेँ तर उनी आएको देखिनँ । उनलाई नदेखेपछि निकै बेर आउछन् कि भन्ने आसले त्यतैतिर हेर्दै ओहोरदोहोर गरिरहेँ । तर उनी आएनन् । केही सिप नलागेपछि थकित अनुभूतिसँगै म घर फर्किएँ ।

आज बिहानैदेखि आकास खुलेको छैन । पूर्व क्षितिजमा सूर्य पनि धमिलो बादलमा लुक्दै बिरह पोख्न लागे झैँ भएर मलिनतासँगै झलक्क देखिन्छ र फेरि छोपिन्छ । आज बिहानको कलिलो घाममा स्पर्शरत हुने छाँट छैन । मन पनि किन किन धुमिल धुमिल भएको छ । दिग्दार लागेर केही काम गर्ने जाँगर नै हराएको छ । दिउँसो त सिमसिम पानी परिरह्यो । पानीको छिटासँगै मनमा अनेक तरङ्गग उब्जिरह्यो ।

उनी को हुन् मलाई थाहा छैन । उनको सिङ्गो परिचय पनि थाहा छैन तैपनि किन किन उनको सम्झना दिनभरि आइरह्यो । केही गर्ने जाँगर नै भएन । बडो कष्टकर भयो त्यसपछिको समय । त्यसको भोलिपल्ट जाँगर नचले पनि जुरुक्क उठेँ । छेउको रूखमा बसेका चराहरू गुँडबाट निस्किएर मुखामुख गरेर एकोहोरो चिरबिराउँदै छन् । सके यसरी उनीहरू केही सल्लाहका लागि संवाद गरिरहेका होलान् । मेरो दुखेको अनुभूतिलाई सुमसुम्याउँदै म आफ्नै सुरमा घरबाट निस्किएँ । परैबाट उनलाई देखेँ । सडकको दुई किनारामा हिँड्ने हामी आजदेखि सरक्क एउटै किनाराबाट हिँड्यौँ । यसपछि त मेरो शारीरिक र मानसिक थकान चट्ट निको भयो र जाँगरका पखेटा लागेर कुनै औपचारिकताबिना नै हिजो किन आउनु भएन भनेर मैले सोधेँ । उनले सहज रूपमा शनिबार प्रायः मेरो घरमा पाहुना आउँछन् । त्यही भएर हिजो नआएको भनेर फिस्स हाँसे ।

 प्रातः कालीन भ्रमणमा उनी कपन गुम्बासम्म जाने र फर्कने गर्दा रहेछन् । उकालो हिँड्दा मेरो स्वासको गति बढ्ने तर उनको साथ पाएर हिँड्न उत्साहित भएँ । मनमा सुटुक्क बसेको मानिससँग हिँड्दा थकाइको पनि अनुभूति नहुँदो रहेछ । स्वच्छ हावामा हिँड्दै औपचारिक परिचय भयो । उनले आफ्नो परिचयमा इन्जिनियर नरेन्द्र भने । म वाणिज्य बैङ्ककी शाखा अधिकृत रूपा भनेर आफ्नो परिचय दिएँ । यस बेलासम्ममा गुम्बा पुगेर हामी फर्कंदै थियौँ । कति कति कुरा सोध्न मन हुँदाहुँदै पनि सोध्न नसकिने रहेछ । उनी किन एक्लै भन्ने भित्र भित्रै जिज्ञासा पाकेर मनमा छटपटी भएको थियो । तर अफिस जान हतार हुने भएकाले त्यसबेला मनका कुरा मनभित्रै राखेँ र हामी आआफ्नै घरतिर लाग्यौँ । 

यसरी नै सधैँ झँै आज बिहानै हाम्रो भेट भयो । म त्यही कुरामा रुमल्लिएकी थिएँ । अब कसरी कुरा सुरु गरौँ भनेर मैले सोचेँ । अलि परसम्म पुगुन्जेल उनी बोलिरहे । उनका कुरामा ध्यान नगए पनि उनीसँग चुपचाप म हिँडिरहेँ । उनले मलाई सुन्न पर्खे सायद । नबोलेपछि उनले मायालु भावले किन नबोल्नु भएको भनेर मतिर हेर्दै सोधे । 

त्यसपछि हिँड्दै मैले कुरा सुरु गरेँ । बिनासङ्कोच आफ्ना सबै कुरा उनले भने । संयोग पनि कस्तो, मेरा श्रीमान् चढेकै हवाई जहाजमा उनकी श्रीमती पनि रहिछन् । जुन जहाज केही वर्ष पहिले दुर्घटना भएर सबै यात्रुले ज्यान गुमाएका थिए । उनका कुरा सुनेपछि बिहे गरेको वर्ष दिनमा नै गुमाउनु परेको श्रीमान् सम्झेर म एकाएक भावुक भएँ । समयको नमिठो चोट पुनः बल्झियो । एकछिनमा उनीतिर पुलुक्क हेरेको त उनका आँखा रसाइसकेका थिए । त्यसपछि उनी पनि मौन भए, म पनि मौन । हामी चुपचाप आआफ्नो घरतिरको बाटो लाग्यौँ । घरमा आएर मलाई आफ्नोसँगै उनको पनि चौपट्ट माया लाग्यो । खै किन, उनीप्रति यत्ति धेरै माया उर्लिएर आयो अचानक म आफैँलाई थाहा भएन ।

मायाको रङ मनको तहमा लुकाएर सधैँ झैँ आज बिहान घरबाट निस्किएँ । उनी पनि मोडमा टुप्लुक्क आइपुगेका रहेछन् । मलाई पुलुक्क हेरेर मुस्कुराउँदै सडकको एउटै किनारामा मसँग मिसिएर सुरु सुरु हिँडे । निःशब्द हिँडिरहेको बेला उनले रूपाजी तपाईबारे पनि केही भन्नु न मलाई जान्न चाहे । उनको कुरा सुनेर मैले कम्पित स्वरमा आफ्नो पीडा पोखेँ । मेरो कुरा सुनेर होला सायद केही नभनी एक पटक लामो श्वास लिए । एकाएक हिँडाइको गति कम गर्दै गुम्बा छेउ पुग्यौँ र सधैँ झैँ कपन वरिपरि नियाल्यौँ । यसरी हाम्रा जीवनका कथा सुन्ने र भन्ने व्रmम बाक्लिँदै गयो । एक अर्काको दुःखमा दुःखी हुने र खुसीमा रमाउने भयौँँ । यो व्रmम थाहा नै नपाई अब हाम्रो आवश्यकताको मिठास जस्तै अनुभूति गरिरहेका थियौँ ।

आज शनिबार । अफिस जानु पर्दैन । शनिबार प्रायः घरको सर सफाइ र इष्टमित्रको भेटघाटले बिहानदेखि नै अलमलमा हुन्छु । उनी पनि शनिबार साथीसँग हुन्छन् । घरको कौसीमा अनेक रङका अनेक जातका फूल फुलेका गमला लहरै छन् । गएको शनिवार ती फूलहरू छुन मन लागेन तर आज मैले गमलाका फूललाई एकएक गर्दै सुमसुम्याएँ । किन हो आज मैले यी फूलहरूमा प्रेमको स्पर्श पाएँ, प्रेमको सप्तरङ्गी इन्द्रधनुष पाएँ । घरछेउको आरुको बोटमा पनि फूलहरू लटरम्म फुलेका छन् । आज त्यही आरुको बोटले आकर्षित गरेर मन रोमाञ्चित बनायो । जीवन मिठो धुनले सजिएको भान भएको छ । सौन्दर्यको तरङ्ग जीवनमा छचल्किएको छ । यो कस्तो नशा हो कि प्रेमको उत्कर्ष ? तर मनभित्रै पलाउने यो नशा किन यत्ति मिठो छ ? किन यति मादक छ ? कहाँ खोजुँ म यसको जवाफ ? म त्यसै त्यसै अन्यमनस्कमा छु यसबेला । 

अचानक मलाई बोलाउँदै आज नरेन्द्र टुप्लुक्क घरमा आए । उनी मेरो घरमा आएको आज नै पहिलो पटक थियो । उनलाई स्वागत गर्न म हत्तपत्त तलै गएँ । उनको मुस्कान आँखामा टाँसेर बैठक कोठातिर आउन इसारा गरेँ । उनले मेरो इसारा बुझेर बैठक कोठामा सरासर आएर सोफामा बसे । एकैछिनमा सहयोगी बैनी राधिकाले दुई कप चिया र स्न्याक्स ल्याएर टेबलमा राखिन् र बाहिर आफ्नो काम गर्न गइन् । टेबलमा भएको कपको चियाबाट निस्किएको बाफसँगै मुटुबाट पनि एकोहोरो बाफ निस्किएको अनुभूति भई रह्यो । चिया पिएपछि एकछिन घरायसी र अन्य हल्काफुल्का कुरा भयो ।

उनलाई मैले आज यतै खाना बनाउँछु । हामी सँगै खाना खाऊँ है भनेरे अनुरोध गरेँ । उनले हुन्छ नि भनेर सहजै मेरो अनुरोधलाई स्वीकारे । उनी पनि खाना खाने भएपछि घरकी राधिकाको सहयोगले मैले अरू दिनभन्दा अलि विशेष खाना तयार गर्नतिर लागेँ । हामीले सँगै बसेर खाना स्वाद मानेर खायौँ । उनले कति स्वादिष्ट खाना भनेर खानाको प्रशंसा गरे ।

उनलाई केही कुराको बोझ भएको मलाई अनुभूत भयो र फ्याट्ट सोधेँ । एकछिन एकोहोरो मलाई हेरिरहे र भने– ‘रूपाजी, छोराले जर्मनी केटीसँग बिहे गर्ने भयो । बिहेका लागि म अर्को हप्ता जर्मनी जान्छु । अनि कहिले फर्कन्छु थाहा छैन । बुबा, अब हजुरले काम गर्नु पर्दैन । अब यतै बस्नुपर्छ भनेर छोरोले निकै जिद्दी पनि गरिरहेछ । मलाई त बस्न मन छैन, हेरौँ के हुन्छ ।’

उनले त्यसो भनिरहँदा मैले आफूलाई रित्तो रित्तो अनुभव गरिरहेँ । मुुटुमा गाँठो परेर निकै असजिलो भएको अनुभूति भयो । मुहारमा विरही मुस्कानको भाव लुकाएँ तर आँखाबाट बरर आँसु झरेको मैले पत्तो नै पाइनँ । मन खिन्न भयो । मलाई नै थाहा थिएन, उनलाई म गुमाउन नसक्ने नै भइसकेकी रहेछु । आँसुले लतपतिएका मेरा गाला उनले पुछिदिँदा पो म अनायासै झस्किएँ र झन् मन थाम्नै सकिनँ सुकसुकाउन थालेँ । हाम्रो बोली रोकियो गला नै अवरुद्ध नै भयो । खुसीको रङ भरेर सुटुक्क आउने अवसर अब पीडा दिएर जान लागेको थियो । कोठामा मेरो सुँक्क, सुँक्कको आवाजबाहेक खुला झ्याललाई उछिनेर बाहिरबाट आएको आवाज मात्र छरियो ।

अँध्यारिँदै उनी पनि बाहिरिए । उनी गएको झ्यालको पर्दाबाट चिहाएर एकोहोरो हेरिरहेँ । उनले गेटमा पुगेर एक पटक टाउको फनक्क घुमाएर पर्दाले छोपेको कोठाको झ्यालतिर पुलुक्क हेरेँ र फटाफट निस्केर सडकमा हराए । अब उनी यता आउनुभन्दा उतै बस्ने सम्भावना बढी थियो । यही सोचेर त्यसबेला म बेस्कन रोएँ, हिक्का छाडेर रोएँ । यस्तो लाग्यो, आज म फेरि एक पटक यो संसारमा नितान्त एक्ली भएँ । यही पीडाले छाती चहराइरह्यो । प्रातः कालीनको हिँडाइको व्रmम पनि भोलिदेखि भङ्ग भयो ।

जम्माजम्मी पाँच महिनाको साथले जुनीको साथ जस्तो भएर खिपिएछ मन मुटुमा । अब उनी पर्सि जर्मनी जाँदै छन् । त्यसपछि त म एकदम खाली हुनेछु, एक्ली हुने छु, मानिसहरूको भीडमा फेरि एक्ली हुने छु । उफ्, कसरी बुझाउनु मैले मेरो मन । म आफैँभित्र हराउँदै थिएँ । मेरो आँखाको डिलबाट पत्तै नपाई बेढङ्गले बग्न थाल्यो आँसु । सके यस्तो रित्तोपनको आभास यसअघि कहिले नभएर पनि होला । उनीबिनाको जीवन निरस भए पनि मैले सुरु सुरुमा त काम छाडिनँ । तर मनमा नपुरिने खाडल बनेर जीवन नै रित्तो भएपछि मैले जागिरबाट राजीनामा दिएँ ।

आज, भोलि गर्दै उनी जर्मनी गएको तीन महिना भयो । तर वर्षौं बिछडिएको पीडाले छटपटाउँछ मन, एक्लै एक्लै उदास छ मन, निर्जन छ जीवन । जे काम गर्दा पनि मनमा चैन छैन, आराम छैन । अब दिनभरि घरको एकान्तमा हराउँदै उनकै सम्झनामा दिन बिताउनु थियो । प्रत्येक मोडमा जिन्दगीले दिएको पीडालाई अँगालेर रुनु थियो । मेरो जीवनको चर्को विसङ्गति, जीवनमा म हाँस्न चाहन्छु तर नियतिले खै किन मलाई रुवाइ रहन्छ ? मलाई उनको अनपुस्थितिमा भोक थिएन, निद्रा थिएन । खान मन नलाग्ने र निद्रा नलाग्ने भएपछि म थलिएँ । बिनाअन्न पानी मेरो शरीरलाई औषधीले मात्र थेगेको थियो । 

समय बित्दै जानेव्रmममा हाम्रो फोन सम्पर्क पनि एकदमै पातलियो । उनी आक्कल झुक्कल मलाई फोन गर्थे । यता एक दिन राधिकालाई मलाई एकछिन नउठाउनु है भनेर निन्द्राको औषधी खाएर म सुतेँकी थिएँ । त्यसैबेला उताबाट उनले फोन गरेछन् । मलाई एकछिन नउठाउनु भनेकाले राधिकाले फोन रिसिभ गरेर मेरो बारेमा सबै कुरा भनिछन् । उनले म छिटै आउँदै छु तर यसबारे रूपालाई नभन्नु भनेका रहेछन् । राधिकाले नभनेपछि मलाई पनि यो कुरा थाहा हुने कुरै भएन । भोलिपल्ट उनको कल आएको कलर आइडीमा देखेर राधिकालाई सोधेँ । राधिकाले पनि उनीसँग भएका सबै कुरा नभनी आउने कुराको चर्चा नै गरिनन् ।

त्यसको एक हप्तापछि बिहानै एक जना तन्नेरी ठिटोसँगै उनी सुरु सुरु मेरामा आए । उनी आएको देखेर बल गरेर उठेँ । मेरो अवस्था देखेर म सुत्ने कोठामा आएर खाटसँगैको सोफामा बसे । त्यो तन्नेरी केटो आफ्नो छोरो सुनयन भन्दै मसँग परिचय गराए । सुनयनले उठेर मलाई ढोग्यो ।

‘रूपा, हामी त अब नेपालको सम्पत्ति सबै बेचेर सधैँका लागि जर्मनीमै सेटल हुने विचारले आयौँ । सम्पत्ति बेचबिखनमा छोरा पनि चाहिने भएकाले छोरोलाई साथै लिएर आएको ।’ उनका शब्दहरूले मेरो मुटुमा किला रोपिरहेको थियो भने मस्तिष्कमा बमबारी गरिरहेको थियो । मेरो मनले भनिरहेको थियो, जब जर्मनीमै सेटल हुनु थियो भने यो अनुहार देखाएर मेरो पीडामा किन नुन छर्किएको होला ? मलाई त्यसै त्यसै भाउन्न भएर आयो म नबोली उनलाई सुनिरहँे ।

‘आन्टी, हामी त हजुरलाई पनि जर्मनी लिएर जाने भनेर आएका हौँ ।’ सुनयनले मायालु स्वरमा भन्यो ।

‘बाबु, जर्मनीमा मेरो को नै छ र, जर्मनी जानु ?’

‘हजुरले नाइँ नभन्नु होला । अब जर्मनीमा हजुरको छोरो छ नि ?’ उसले मुसुमुसु मुस्कुराउँदै भन्यो ।

‘मेरो छोरो रे ? को मेरो छोरो ?’ म छक्क परेँ ।

बाबाले मलाई हजुरको बारेमा जम्मै कुरा भनिसेको छ । ‘अब हजुर मेरो मामु बनेर जर्मनी जाने नि । म हजुरको छोरो हुँ नाइँ नभनिस्यो मामु, हजुरमा मैले आफ्नै मामु देखेँ । उता हजुरका लागि बुहारी पनि प्रतीक्षामा छन् । बाबा र हजुर मामु हुनुभयो भने हामी खुसी हुन्छौँ । हाम्रो खुसीका लागि अब हजुर मेरो मामु, म आफ्नी मामुलाई जर्मनी लान आएको । हैन त बाबा ?’

 छोरोको अघिल्तिर अलि लजाए जस्तो अलि असजिलो माने जस्तो गरेर बसिरहेको नरेन्द्रलाई छोरोले सोध्यो । नरेन्द्रको असजिलोलाई अनुभूत गरेरै सुनयनले मेरो हात तानेर आफ्ना बाबाको हातमा राखिदियो र ऊ मुसुक्क मुस्कुराउँदै कोठाबाट बाहिर निस्कियो । मैले र उनले सुनयन गएतिर हे-यौँ । बादल छाँटिएर झलमल्ल लागेको घाम कोठासम्मै आइरहेको थियो ।