• १९ वैशाख २०८१, बुधबार

एकलव्यको देशमा (कविता)

blog

एकलव्यको देशमा

हरेक दिन

शिष्यको बुढी औँला काटिन्छ

गुरु क्रुर बन्दै गरुदक्षिणा माग्छन्

ब्रह्मा, विष्णु, महेश भनिएका गुरु

पूर्वाग्रही र स्वार्थी बन्छन्

गुरुको हेर्ने नजर

दिने शिक्षा

बोल्ने भाषा

माग्ने दक्षिणा

शिष्य पिच्छै फरक फरक हुन्छन्

एकलव्यको देशमा

अन्धा शासक रहेका छन्

जहाँ न्याय पनि अन्धो हुन्छ

सद्धे आँखा भएका द्रोणाचार्यहरू

अन्धाले जस्तै हरियो मात्र देख्छन्

सौर पराव्रmमको शिरोच्छेदन गरिन्छन्

शिर काटिएका मृत वर्वरिक मात्र

सत्य देख्छन्

छद्म रूपमा वीरताको

कुण्डल कवच खोसिन्छ

निरीह अभिमन्युमाथि एकहोरो खनिएको

अभद्र, व्रmुरतालाई बहादुरी मानिन्छ

अधिकारलाई लाक्षागृहमा राखी

आगो लगाइन्छ

छल कपटले सत्ताको पासा पल्टाइन्छ

कैयौँ कन्याहरू

पटक पटक बलात्कृत हुन्छन्

पहिचान नपाएका सुतपुत्र जन्मिन्छन्

हरेकको हेराइमा छल छ

हरेकको बुझाइमा कपट छ

हरेकको भावनामा स्वार्थ छ

हरेकको मनमा

दम्भ र अहङ्कार छ

एकलव्यको देश

जहाँदेखि स्वर्ग नजिक छ

हस्तिनापुर टाढा छ

जहाँदेखि गुरुकुल नजिक छ

गुरु टाढा छन्

जहाँ ध्वंस सजिलो छ

निर्माण कठिन छ

जहाँ भावनात्मक भक्ति काम गर्छ

स्थूल यथार्थ भत्काउँछ र

पौरखीको हात काटिन्छ

जहाँ नारायण भेट्न सजिलो छ

नर भेट्न गाह्रो छ

सत्ता, शक्ति, स्वार्थका लागि

मानवतालाई बन्धक राख्छन्

क्षमता भएका भीष्महरू

प्रतिज्ञाबद्ध अवाक रहन्छन्

पुजनीय एकलव्य चेतना

तिरष्कृत हुन्छ

दुर्योधन, दुशासनको रजगज रहन्छ

निरन्तर विनास हुन्छ, विनाश

कुरुक्षेत्रको रचना हुन्छ

यदुवंशीय विनाश हुन्छ

एक युगको अन्त्य हुन्छ ।