• १ जेठ २०८२, बुधबार

सरकार पूर्वाग्राही हुनुहुँदैन : मन्त्री डा.महत

blog

बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत ।

काठमाडौं, साउन २८ गते । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकार पूर्वाग्राही भएर प्रस्तुत नभएको बताउनुभएको छ । बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

पछिल्लो समय कांग्रेस नेता छानबिनको प्रक्रियामा आइरहेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. महतले भन्नुभयो, “सरकार पूर्वाग्रही हुँदैन, पूर्वाग्राही हुनु पनि हुँदैन । अनुसन्धान भइरहेको छ । सम्पूर्ण रूपमा सघाएका छौँ, को–को संलग्न भएको छ ? त्यसको यथार्थ छानबिन हुनुपर्छ । जो दोषी छ, कानुनी प्रक्रियामा आउनुपर्छ । अरू विषयमा कहाँ कसरी भए भन्ने बारेमा प्रतिसोधले कुनै पनि काम गर्नुहुँदैन ।”

उहाँले दोषी कानुनको कठघरामा आउनुपर्ने तर प्रतिशोधले कुनै पनि काम गर्न नहुने बताउनुभएको हो । यी लगायतका विषयमा छलफलका लागि संसद् अवरोध खुलाउने पहल शीर्ष नेताबीच भएको उहाँको भनाइ छ ।

मन्त्री महतले भन्नुभयो, “संसद्लाई बन्दी बनाएको अवस्था छ । अहिले एमाले पार्टी भनेको सत्तामा नहुने बित्तिकै यो किसिमको सोच राख्नुभएन । लोकतन्त्रमा सधैँ सबै सत्तामा रहिँदैन । कहिले भइन्छ, कहिले भइँदैन । बहुमत कसको हुन्छ, जनताले कसलाई जिताएर पठाउँछ । त्यसलाई स्वीकार गर्न सकियो ।”

कांग्रेस सांसद सुनिल शर्मा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटको जिज्ञासामा उहाँले अनुशासन र मर्यादामा रहनुपर्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुशासन, मर्यादाको कुरा हुन्छ । के बोल्न हुन्छ, के बोल्न हुँदैन । हामीले के गर्न हुन्छ, के गर्न हुँदैन । हामीले एउटा संस्कार, नर्म्समा बसेर कुरा गछौं । पार्टीका साथीले पनि नर्म्समा बसेर कुरा गर्नुपर्छ । छानबिन प्रक्रिया अगाडि बढेको छ ।”