• ३० वैशाख २०८२, मङ्गलबार

लुम्बिनीमा कुषाणकालीन इनारको उद्धार उत्खनन् गरिने

blog

दानव किनारमा रहेको कुषाणकालीन माटोद्वारा निर्मित इनार । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन २३ गते । बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन् हुने भएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिनस्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदी किनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचीन इनार, कुवा, माटाका भाडाहरू बगाउन थालेको भन्दै स्थानीयहरूले खबर गरेका थिए । लुम्बिनी विकास कोषको कार्य क्षेत्रमा नपरेपनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्त्विक भग्नावशेषहरू भेटिएकाले स्थलगत रूपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । उहाँले दानव नदीको कटानले इनार (रिङ) हरू बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको किनारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरी लुम्बिनी सङ्ग्रहालयमा लैजाने तयारीमा जुटेको बताउनुभयो ।

“नदीको कटानले प्राचीन समयका महत्त्वपूर्ण इनार, माटाका भाडाहरू बगाएर भारत लगेको देखिन्छ, यसको संरक्षणका लागि कोष एक्लेले केही गर्न सक्दैन”, उहाँले भन्नुभयाे, “यसका लागि स्थानीय, प्रदेश र पुरातत्त्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।” सदस्य सचिव शाक्यले लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भए अनुसारकै प्राचीन बस्ती रहेको अनुमान गर्न सकिने बताउनुभयो ।

स्थलगत निरीक्षणपछि कोषका पुरातत्त्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्सेनि पुरातात्त्विक इनार र अन्य महत्त्वपूर्ण बस्तुहरू बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन गरी सङ्ग्रहालयमा सुरक्षित गर्ने तयारी गरेको बताउनुभयो । 

“प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, तर बाढीले बगाइरहेको छ, यहाँ रहेको इनारलाई यो पटक उद्धार उत्खनन् गर्छौ”, उप्रेतीले भन्नुभयो ।  

पुरातात्त्विक हिसाबले यो क्षेत्र निकै महत्त्वपूर्ण रहेको बताउँदै भारतका पुरातात्वविद प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धिस्ट साइटको उत्तरापथमा पर्ने व्यापारिक क्षेत्रका रूपमा व्याख्या गरेको उहाँको भनाइ छ । उहाँले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आकर्षित गर्न सकिने उल्लेख गर्नुभयो ।

भारतका प्रख्यात पुरातात्वविद् एसबी देवले बन्जरही र पैसियामा उत्खनन गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री भेट्टाएका थिए ।

निपनियामा अहिले यी सामग्रीहरू दानव नदीको बाढीसँगै बग्दै आएका छन् । कोषले स्थलगत रूपमा गरेको निरीक्षणमा सदस्य सचिव सानुराजा शाक्य, पुरातत्त्व महाशाखा प्रमुख हिमाल कुमार उप्रेती, कार्यकारिणी सदस्य राजेश शाक्य, प्रेस कन्सल्ट्यान्ट विनोद परियार, कोषका कर्मचारीहरू नवराज अधिकारी, भोला प्रसाद गुप्ता र चन्द्रप्रकाश पाठक सहभागी हुनुहुन्थ्यो ।