• १ जेठ २०८२, बिहिबार

डुबेर एक वृद्धको मृत्यु

blog

बागमती तथा माझ नदीमा आएको बाढीले रौतहटको दुर्गाभगवती गाउँपालिका-५ वडहर्वा क्षेत्र डुबानमा । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर,साउन २३ गते । दुई दिनदेखि परिरहेको अविरल वर्षाले रौतहटको गढीमाई नगरपालिकामा एक वृद्धको डुबेर मृत्यु भएको छ । गढीमाई नगरपालिका वडा नम्बर २ का ६५ वर्षीय सहिद राय भाट बिहान खेतमा काम गरेर फर्किरहेको अवस्थामा बाढीले डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भाटलाई डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले बताउनुभयो । 

अविरल वर्षाका कारण जिल्लाको बागमती,लालबकैया तथा माझ खोलामा पानीको सतह वृद्धिसँगै तटीय क्षेत्रका बासिन्दाहरू त्रसित भएका छन् । बागमती तथा माझ खोलामा आएको बाढीले दुर्गा भगवती गाउँपालिकाको वडहर्वास्थित प्रहरी चौकी डुबानमा पर्नुको साथै भलोहिया ,पिपरा वडहर्वा, पचरुखी लगायतका क्षेत्रमा बाढीले हजारौँ विग्घा धान खेती डुबानमा परेपछि कृषकहरू चिन्तित भएका दुर्गा भगवती गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत नितेश कुमार झाले बताउनुभयो ।

यस्तै, भैँसी चराउन गोठाला गएका राजपुर नपा ३ फतुवा महेशपुरका ३ जना युवकहरू लालबकैया नदीको बगरमा फसेकोलाई सुरक्षाकर्मीहरू अहिले उद्धार गर्न खटिएका छन् । परोहा नगरपालिका-४ पोखरियास्थित लालबकैया नदीमा ४ जना गोठाला फसेकोलाई उद्धार गर्न बोट सहितको सुरक्षाकर्मीलाई परिचालन गरिसकेको प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो । 

लालबकैया नदीमा आएको बाढीले गौर चन्द्रनिगाहपुरको सपगढा डाइभर्सनमा पानी बहाव तीव्र गतिमा भइरहेकोले आवतजावत अवरोध हुनुको साथै गौर बजारभित्र बाढीको पानी प्रवेश गरिरहेको प्रति स्थानीयवासी त्रसित भएका छन् । 

अविरल वर्षाले जिल्लाको बाग्मती ,लालबकैया ,माझ,चाँदी खोलामा पानीको स्तर वृद्धि भएको हो । पानी स्तरसँगै आउने बाढीबाट उत्पन्न हुने सम्भावित खतराबाट जोगाउन एवम् समस्यामा परेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी तैयारी अवस्थामा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो ।