• १ जेठ २०८२, बिहिबार

अविरल वर्षाका कारण महोत्तरी जलमग्न

blog

नगेन्द्रकुमार कर्ण

महोत्तरी, साउन २३ गते । सोमबारदेखि लगातार परिरहेको वर्षाले महोत्तरी जिल्लाको बलवा, बन्चौरी लगायतका क्षेत्रहरू डुबानमा परेको छ । सोमबारदेखि परिरहेको पानीले गर्दा रातु नदीमा पानीको बहाव उच्चसँगै बाँधहरू कटान गर्न थालेपछि डुबानको समस्या बढेको हो । 

जिल्लाको बर्दिबास, भगवानपुर, भ्रमरपुरा बलवा नगरपालिकाको लेउरी, भल्गी, धमौरा, तिलगढ, भगवतीपुर, सङ्ग्रामपुर, कविलाशा, दोस्तिया, हतिसर्वाजस्ता ठाउँहरू डुबानमा परेको जनाइएको छ । जिल्लामा रहेको रातो, माढा, जंगहा, कुटमेश्वरी, विग्ही, गेरुका नदीहरूमा पानीको बहाव उच्च भएको छ ।

पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले अहिलेसम्म डुबान र कटानको समस्या बढेपनि क्षतिको थप विवरण आउन नसकेको बताउनुभयो । उहाँले आफूहरू निरन्तर बाढी जोखिम क्षेत्रको निगरानीमा राखेको बताउनुहुँदै बिहानदेखि नदीमा जलस्तर बढेकोले सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । 

दुई दिनदेखि परिरहेको पानीको कारणले नदिका जलस्तर बढेर बर्दिबासको पाटुमा धान खेत बगाएको छ भने आधा दर्जन गाउँहरूमा पानीले डुबानको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले रातो नदीमा जलस्तर बढेर लोहारपट्टीको डठौरा तथा बलवा नगरपालिका वडा नं. १ मा नदिको बाँध टुटेर खेतहरू जलमग्न भएको र नदिको पानी गाउँघरमा पसेर डुबानमा परेको जानकारी दिनुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले आफूहरू निरन्तर अनुगमनमा रहेको र डुबान बाहेक खासै क्षति नभएको बताउनुभयो । 

उहाँले पानी पर्ने क्रम नरोकिएकोले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजग हुन आग्रह समेत गर्नुभयो । स्थानीय युवा मुकेश पासमानले महोत्तरी जिल्लावासीहरू कहिले खडेरी त कहिले डुबानको समस्याले सधैँ पिरोलिएको बताउनुभयो । उहाँले हिजोसम्म खडेरीको मारमा रहेका जिल्लावासीहरूले सुक्खाक्षेत्र घोषणाको माग गर्दै आएको बताउनुहुँदै दुई दिन परेको पानीले जिल्लाको केही ठाउँ डुबानमा परेर जनजीवन असहज बनेको बताउनुभयो ।