• १३ साउन २०८१, आइतबार

गोदाममा थुप्रियो मल, किसानले पाएनन्

blog

कृषि सामग्री केन्द्र दमौलीमा भण्डारण गरी राखिएको मल ।

अमरराज नहर्की

तनहुँ, साउन २२ गते । गोदाममा रासायनिक युरिया (गेडे) मल भए पनि तनहुँ, लमजुङ र गोरखाका कृषकले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।

व्यास नगरपालिका–५ चिन्तुटार निवासी कृषक शङ्क गुरुङले धानमा मल राख्नेबेला भएको मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको बताउनुभयो । गुरुङले भन्नुभयो, ‘‘मल पाइन्छ कि भनेर धेरै पटक धाइयो, पाउन सकिएन र समयमा मल राख्न नपाएपछि उत्पादन घट्छ’’ । व्यास नगरपालिका–५ पाटनकी मनिसरा आलेले मल विक्री गर्ने सबै पसलमा धाउँदा पनि मल नपाएको गुनासो गर्नुभयो । आलेले भन्नुभयो, ‘‘विगतका वर्ष जस्तै यस वर्ष पनि रासायनिक मल अभावले गर्दा उत्पादन घट्ने चिन्ताले सताएको छ ।”   

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरण गर्ने कोटा निर्धारण नगरकोले मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका प्रबन्धक दिनेश शर्माले जानकारी दिनुभयो । मल शुक्रबार एक सय ६३ टन आएको भएपनि वितरण हुन नसकेको उहाँले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, ‘‘१६३ टन मल आइसकेको र करिब दुई सय टन मल आउने सम्भावना छ तर कोटा निर्धारण नभएकोले बाँड्न पाइएको छैन ।” माग छ सय टनको भएपनि दुई सय टन मात्रै आउने सम्भावना भएकोले मलको अभाव हुने देखिएको शर्माले जानकारी दिनुभयो । 

माग अनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको शर्मा बताउनुहुन्छ । शाखा प्रबन्धक शर्माले भन्नुभयो, ‘‘एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नु परेकोले मलको अभाव भएको छ ।’’ 

आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव भएको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले कर्पोरेसनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपर्ने देखिएको छ । तनहुँ, लमजुङ र गोरखाका लागि माग अनुसारको एक तिहाइ मात्रै मल भित्रिएको लिमिटेडले जनाएको छ । 

पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास १५० टन आवश्यक पर्नेमा एक तिहाइ मात्रै आउने गरेको शर्मा बताउनुहुन्छ । तनहुँमा ९०, लमजुङमा ४४, गोरखामा ६३ गरी १९७ वटा बिक्रेतामार्फत समान रूपमा रासायनिक मल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

दमौलीमा विक्रेतामार्फत युरिया १७ रुपियाँ दशमलव ४४ पैसा, डिपिए ४६ रुपियाँ दशमलव ४४ पैसा र पोटास ३४ रुपियाँ दशमलव ४४ पैसा रुपियाँमा विक्री भइरहेको प्रबन्धक शर्माले जानकारी दिनुभयो । सम्बन्धित निकायबाट अनुगमन नभएकाले विक्रेताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको पाइएकाले पालिकाले अनुगमन गर्नुपर्ने सुझाव शर्मा दिनुहुन्छ ।  

सरकारले परिमाणको आधारमा रकम विनियोजन गर्ने हो भने मलको अभाव नहुने शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, ‘‘जति आवश्यक पर्छ परिमाणको आधारमा अनुदान दिइनुपर्छ, रकम विनियोजन गर्दा मूल्य वृद्धि भयो भने परिणाम घटेर मलको हाहाकार हुन्छ ।’’  

खेतबारीमा पाङ्गरिक मलभन्दा पनि प्रायः सबैले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले माग समेत बढ्दै लिमिटेडले जनाएको छ । मलको कोटा छिटो छुट्टाउन बारम्बार ताकेता गरिरहेको शाखा प्रबन्धक शर्मा बताउनुहुन्छ । धान बालीमा कम्पोस्ट मलको प्रयोग हुन छाडिसकेको र सबैतिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावमा उत्पादनमा असर पर्ने देखिएको प्रबन्धक शर्माले बताउनुभयो । 

व्यास नगरपालिका–२ गणेशमान चोक स्थित मेलमिलाप कृषि सहकारी संस्थाकी व्यवस्थापक पूजा भट्टराई न्यौपानेले एक सय बोरा मलको माग भएकोमा १० बोरा मात्रै आएको बताउनुभयो ।