काठमाडौं, साउन २२ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले यौनजन्य हिंसा भए सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा जान आग्रह गर्नुभयो ।
सोमबार महानगरअन्तर्गतको सामाजिक विकास विभागले आयोजना गरेको बैठकमा महानगरभित्रका पाँच ओसीएमसी र अस्पतालका अधिकारीसँग घटनाको तथ्याङ्क उद्धृत गर्नुहुँदै समस्याका कारण र समाधानको उपायका विषयमा छलफल भयो ।
छलफलमा बालिका तथा किशोरी बढी पीडित हुनुका साथै प्रौढ र ६० वर्षका महिलाहरू पनि यसखाले हिंसाबाट पीडित रहेको विषय उठेको छ । पुरुष पनि हिंसामा पर्ने गरेको तर महिलाको तुलनामा उनीहरूको सङ्ख्या कम रहेको देखिएको छ ।
उपप्रमुख डङ्गोलले भन्नुभयो, “यौनजन्य हिंसा भयो भने प्रहरीकोमा भन्दा सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा जानुपर्छ । यहाँ पुगेपछि उपचार, कानुनी र प्रशासनिक सहयोग एकै ठाउँमा पाइन्छ । यसका लागि शुल्क तिर्नु पर्दैन ।”
उहाँले ओसीएमसीमा व्यक्तिको गोपनीयतालाई पनि मुख्य ध्यान दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिको गोपनीयतालाई ध्यान दिइन्छ । उसको उपचार, कानुनी तथा प्रशासनिक विधि र प्रक्रियाका बारेमा सूचना दिइन्छ । मनोसामाजिक परामर्श गराइन्छ ।”
उहाँले महानगरभित्र वडा महिला सञ्जाल र ओसीएमसीलाई अन्तरसम्बन्धित बनाएर एकीकृत कार्यक्रम थालनी गर्नुपर्ने बताउनुभयो ।