• ३० वैशाख २०८२, मङ्गलबार

घ्याङ्लेख गाउँपालिकाद्वारा अतिरिक्त समयमा सेवा प्रवाह

blog

फाइल तस्विर ।

बाबुराम देवकोटा

सिन्धुलीमाढी, साउन १७ गते । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकाले अतिरिक्त थप चार घण्टा समय थपेर नागरिकलाई सेवा प्रवाह सञ्चालन गरेको छ । कार्यालय समयमा बिहान दुई घण्टा र बेलुका दुई घण्टा गरी चार घण्टा समय थपेर साउन महिनाको पहिलो सातादेखि नगरिकलाई सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीका अनुसार अब दैनिक रुपमा कार्यालय बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुलेर नागरिकलाई सेवा प्रवाह भइरहेको छ । उहाँका अनुसार उक्त कार्यका लागि पालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममै कार्यालयले अतिरिक्त सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

पालिकाका अनुसार अतिरिक्त समयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, लेखा शाखाका प्रमुखलगायतका कर्मचारीहरू बिहान ८ बजे नै कार्यालय पुग्ने गरेका छन्। कार्यालयमा बिहान र बेलुका अतिरिक्त समयमा काम गर्ने कार्यालय सहयोगीहरूलाई भने दिउँसो काममा नआउँदा पनि हुने बताइएको छ ।

गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले अतिरिक्त समयमा सेवा प्रवाहले नागरिकलाई सेवा लिन सजिलो भएको बताउनुभयो । “यो पालिका दुर्गम क्षेत्रमा रहेको पालिका हो,” उहाँ भन्नुहुन्छ, “पाँच वटा वडा भए पनि सेवाग्राहीलाई सेवा लिन पालिकाको केन्द्रसम्म आउन जान निकै सकस व्यहोर्नुपर्ने अवस्था छ । उनीहरुको हितलाई ध्यानमा राखेर अतिरिक्त समयमा पनि सेवा प्रवाह गर्न सुरु गरेका हौं ।”