• १४ पुस २०८१, आइतबार

विधा दर्शनको नमुना ‘कथा दर्शन’

blog

समालोचक दयाराम श्रेष्ठ (२०००) नेपाली कथा विधासमालोचनाका विशिष्ट साधक हुन् । ऐतिहासिक समालोचना, विधा समालोचना, तुलनात्मक समालोचना, सैद्धान्तिक समालोचना जस्ता विविध धारमा वितरित उनको समालोचना साधना कथा दर्शन नामक कृतिका रूपमा भर्खर प्रकाशनमा आएको छ । कुल सात परिच्छेदमा संरचित यस सैद्धान्तिक समालोचनाले नेपाली कथाको विधिसमालोचनालाई कलाजयी प्रभाव पार्ने क्षमता राखेको छ । आधुनिक कथाको विधा आकृति, कथानक, पात्र, दृष्टिविन्दु, सारवस्तु, रूपविन्यास र अनुकथान–कथाको मृत्यु शीर्षक परिच्छेदमा श्रेष्ठले विधा सौन्दर्यलाई वस्तुगत रूपले आयाम दिएका छन् । 

श्रेष्ठले यस सैद्धान्तिक समालोचना तयारीका व्रmममा दर्शनलाई प्रमेयका रूपमा प्रस्तुत गरेर तिनको परीक्षण नेपाली कथा विधाका सन्दर्भ पाठले पुष्टि गरेका छन् । कथा र लघुकथाका पाठलाई प्रमाणका रूपमा उदेश्यमूलक रूपले प्रयोग गरे पनि मूलमा श्रेष्ठको ध्येय कथाका प्रमाणपाठबाट त्यसको प्रस्टीकरण गर्ने हेतु रहेको देखिन्छ । कथाको विधा सौन्दर्यलाई प्रकाशपुञ्जमा क्यामराले खिचे जसरी अवलोकन गर्न सक्ने, घटनाको अवयव–अवयवी सम्बन्ध पर्गेल्न सक्ने, घटनाका संयन्त्रलाई पारस्परिक अन्तर्सुम्बद्धताका कोणबाट प्रस्तुत गर्न सक्ने खुबी यिनको प्रस्तुत विधा समालोचनामा छ । घटनाको आफ्नै जैविक अङ्ग प्रणाली हुने र त्यसको व्यवस्थापनमा कथाकार सचेत हुनुपर्ने प्रमेयलाई कथा विधाका विविधि पाठको प्रमाणसमेत प्रस्तुत गरी यिनले प्रमेयको दार्शनिक स्थान सिद्ध गरेका छन् । त्यसै गरी पात्र कथानकको गतिसँग एकाकार हुने घटक हो । 

कथानकलाई जैविक अङ्ग प्रणालीमा पूर्ण सिद्ध गर्न हेतु पात्रलाई अस्तित्वका तहमा अवलोकनीय बनाइन्छ । पात्रलाई युक्ति विन्यासका तहमा प्रस्तुत गर्न कथाकारले के कस्ता उपकरण, आयोजन, विधि, पाठीय विम्बन प्रस्तुत गरेको हुन्छ भन्ने कोणबाट पनि श्रेष्ठले प्रमेय निर्धारण गरेका छन् । यस्ता प्रमेयलाई आधुनिक नेपाली कथा तथा लघुकथाका तहबाट प्रस्तुत गरेका छन् । कथात्मक सङ्कथनको गति भनेको पात्रको गतिविधि हो । यस्तो गविविधिले पात्रका औचित्य, भूमिका र पहिचानका आयामलाई अभिव्यक्त गरेको हुन्छ । पात्र उसको स्वाभाविकताको केन्द्रमा अर्थिने गरी आरम्भिक हुनुपर्ने, त्यस्तो आरम्भिकताले विश्वसनीय स्थिर मूल्यको स्वरूप लिनुपर्ने, पाठकले घटनाको विकासलाई पात्रका चाल, चल्तीफिर्ती, गत्यावधिक कोणबाट हेर्नुपर्ने र यसरी हेर्दा पात्रका विविधता प्रमाणका तहबाट पुष्टि गरिएको सैद्धान्तिक सन्दर्भ कथा दर्शनको मौलिकता हो । पात्रलाई पहिचान गर्ने व्रmममा यसको स्थूलता र स्थित्यात्मक स्वभावलाई कायम गर्न नसक्ताका दुर्बलतालाई पनि समालोचक श्रेष्ठले प्रकाश पारेका छन् । 

कथाको पाठीय स्वरूप (छापा) लाई दृश्यमा हेर्नु नै दृष्टिविन्दु हो । दृष्टिविन्दु कथामा पाठकको आँखा अडिने र आँखाको गतिलाई डो-याएर गतिशील गराउने आधार हो । कुनै पात्रमा पाठकको दृश्यगत आधार निर्माण गर्दा के कस्ता स्रोतको उपयोग गर्ने, पात्रमा त्यस्तो दृश्यगत आधार सिर्जनाका प्रकृति कस्तो हुने वा त्यसका प्रकारगत अवस्थिति कस्तो हुने भन्ने कोणबाट पनि श्रेष्ठको कथा दर्शनले प्रकाश पारेको छ । 

पात्रको दृश्यगत सिर्जना र त्यसले गति विकासमा खेलेको भूमिकालाई यति सूक्ष्म रूपले अध्ययन गरेको यो नै नेपाली कथा विधा समालोचनमा ऐतिहासिक सैद्धान्तिक सामग्री हो । त्यसैगरी श्रेष्ठले कथाको भाषिक सङ्केत व्यवस्था तथा त्यसले रूप (पाठ) मा केन्द्रीकृत गरेको विचारलाई पर्गेल्ने आधार पनि प्रस्तुत गरेका छन् । अन्त्यमा अनुकथान (कथाका बारेमा सिर्जित विवाद र आगामी दिशाको पुनरवलोकन) मा कथाले आदान गरेका वर्तमानका पृथक् स्वरूप कथा विधाकै बन्धु तथा सगोत्री संरचना भएकाले सामयिकताको प्रतिफलन मात्र भएको र यसले कथाको सौन्दर्य मूल्यलाई कतैबाट पनि हानि नपु-याउने निष्कर्षमा पुगेका छन् ।             

कृति:  कथा दर्शन

लेखक:  दयाराम श्रेष्ठ 

विधा: समालोचना 

प्रकाशक:  नेपाल प्रज्ञा प्रतिष्ठान 

प्रकाशन वर्ष: २०७९

पृष्ठ:  २२०

मूल्य रु. : २९५ ।–

Author

दीपक ढकाल