• १४ पुस २०८१, आइतबार

वर्तमान समयको नवप्राप्ति

blog

कवि तथा गीतकारको छवि बनाएका लालगोपाल सुवेदी स्थापित नाम हो  । उनको १९ औँ कृतिका रूपमा राहुल–यशोधरा संवाद गीतिनाटक प्रकाशमा आएको छ । 

पछिल्लो समय गीतिनाटकको सिर्जना लगभग शून्य जस्तै रहेको देखिन्छ  । नाट्यकृतिकै प्रकाशन पनि पातलिँदै गएको अवस्था छ  । साहित्यमा सङ्गीतसहितको गीत नै यस्तो विधा हो, जसको प्रभाव सयौँ वर्षसम्म पनि रहिरहन्छ  । यसैले साहित्यमा गीतिनाटकको उपादेयता सबैभन्दा माथि छ  । गीतिनाटक हेर्न श्रोताहरूले विशेष परिश्रम गर्नु पर्दैन  । गीतले मनमा पार्ने प्रभाव सबैभन्दा चिरस्थायी हुन्छ  । साहित्यले नेपाली समाज परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्ने हो भने गीतिनाटक नै पहिलो विकल्प हुन सक्छ  । गीतिनाटक गाउँगाउँ पु¥याउने हो भने सतहमा देखिएका जातीय र अन्धविश्वासले उब्जाएका समस्या चाँडै निर्मूल गर्न सघाउ पुग्छ  ।

गीतिनाटक लेखन त्यति सजिलो विषय होइन । नाटकलाई सरलतामा ओराल्न झन् कठिन छ किनकि भावनामा बहकिने र कल्पनामा लहरिने विधा हो गीत  । गीतले आख्यान डो¥याएन भने गीत गीतमै सीमित रहन्छ  । सफल गीतिनाटकमा गीत, आख्यान र अभिनेयताको सन्तुलन हुनु अनिवार्य छ  । गीतिनाटककारमा नाटकको सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको गहिरो ज्ञान हुन अनिवार्य छ  । यसैले होला कमै मात्र नाटककारले गीतिनाटक लेख्ने हिम्मत गरेका छन्  । सफल गीतकार सफल नाटककार नहुन सक्छ  । सफल नाटककार सफल गीतकार नहुन सक्छ  । राहुल–यशोधरा संवाद गीतिनाटक सङ्ग्रह हो  । यसमा तीन वटा गीतिनाटकहरू सङ्कलन गरिएका छन्  । यी तीन वटै गीतिनाटकहरूका उद्देश्यहरू फरक फरक छन्  । पहिलो पूर्णाङ्की गीतिनाटक हो राहुल–यशोधरा संवाद  । यस नाटकको पहिलो उद्देश्य हो बालअधिकारको बोध गराउनु  । दोस्रो उद्देश्य हो आमा र गुरुआमाका रूपमा आमाको भूमिका कस्तो रहन्छ भन्ने जानकारी दिनु  । तेस्रो उद्देश्य हो पतिको सफलतामा पत्नीको योगदानको स्मरण गराउनु  । चौथो उद्देश्य हो इतिहासमा लुकेको हाम्रो गौरवगाथालाई जनमानसमा ल्याउनु  । 

राहुललाई बुद्धत्व निकट अर्हत पद प्राप्तिसम्मको सफलता दिलाउन आमा र गुरुआमा भएर केकस्तो भूमिका निर्वाह गरिन् भन्ने कुरा प्राकृतिक सिद्धान्तका आधारमा प्रस्तुत गरिएको छ  । लेखकीय स्वीकृतिअनुसार इतिहास, हिन्दी साहित्य,बौद्ध मिथकमा आधारित जातक कथा र संस्कृत साहित्यको औचित्यवादको सिद्धान्तमा आधारित भई गरिएको लेखकको परिकल्पनामा आधारित पत्यारिला घटनाहरूको योगफलबाट यसको आख्यान बुनिएको छ  । राहुलले आमा यशोधरालाई तपाईं किन भुइँमा सुत्नु हुन्छ, अत्यन्त साधारण वस्त्र पहिरिनुहुन्छ र एक छाक मात्रै खाना खानु हुन्छ भन्ने प्रश्नमा यशोधरा तिम्रा पिता सिद्धार्थ पनि बुद्धत्व प्राप्तिका लागि यस्तै जीवनशैली अपनाइरहेछन् भन्ने उत्तर दिन्छिन्  । कोरा कल्पनामा आधारित नभई  गहिरो अध्ययन र औचित्यवादबाट मात्रै यस्तो तर्क प्रस्तुत गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो यो  । बालकहरू स्वतः स्वतन्त्रताप्रेमी हुन्छन् र एउटा निश्चित उमेरसम्म दरबारिया रवाफ र साधारण जीवनशैलीका बिच भेद राख्दैनन् भन्ने कुरा पनि राहुलको अभिनयबाट झल्काइएको छ  । पशुस्वतन्त्रता र चरा स्वतन्त्रताको कुरा राहुलको संवादबाट अभिव्यक्त भएको छ  ।

बालअधिकारका विषयमा प्रभावकारी ढङ्गले आवाज उठाइएको कृति हो यो  । स्वन्त्रता र बालस्वतन्त्रताबारे आएका बालतर्क मुढेबलमा आधारित नभई निकै सहज र विश्वसनीय लाग्छन्  । बालअधिकार विषय नेपाली साहित्यमा आजसम्म पनि मौन नै रहेको प्रतीत हुन्छ  । बालअधिकार र बालस्वतन्त्रता यस कृतिले उठान गरेको नयाँ र अत्यन्त महìवपूर्ण विषय हो  । दरबारसहितको प्रसङ्ग यसमा गाँसिएको छ  । बालअधिकार कुण्ठित भएकैले सिद्धार्थले पितामाता र घरबार त्यागिदिएका हुन्  । यस अर्थमा नाटक सङ्ग्रहणीय र पठनीय छ  । 


कृति:  राहुल–यशोधरा संवाद 

विधा:  गीति नाटक

लेखक:  लालगोपाल सुवेदी

प्रकाशक: आवरण प्रकाशन

प्रकाशन :  २०७९

पृष्ठ :  १३६

मूल्य :  रु. ३००।–

Author

ज्ञाननिष्ठ ज्ञवाली